मृत्यु भएकाको नाममा साढे ३ लाख भत्ता भुक्तानी

रिखिराम जिसी २०८० जेठ २३ गते ८:५१

पोखरा ।
कास्कीका २ पालिकामा मृत्यु भइसकेका व्यक्तिका नाममा साढे ३ लाख बढी भुक्तानी भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा मृत्यु भएका व्यक्तिका नाममा कास्कीका अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाले ३ लाख ७२ हजार ४ सय ९३ रुपैयाँ सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको महालेखा परीक्षकले औंल्याएको छ ।


सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भए उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ । तर, दुई पालिकाले मृत्यु भएका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाबाट २ लाख ८ हजार २ सय ५४ र माछापुच्छ्रे गाउँपालिका १ लाख ६४ हजार २ सय ३९ रुपैयाँ मृत्यु भएका व्यक्तिको नाममा भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । व्यक्तिको मृत्यु पश्चात पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक सुरक्षा भत्ता सम्बन्धितबाट असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ ।

Advertisement


दोहोरो भत्ता
अन्नपूर्ण गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा नागरिकता नम्बर दोहोरो भएको तथा उल्लेख नभएकालाई समाजिक सुरक्षा भत्ता वाफत ७ लाख १९ हजार ७ सय ६० रुपैयाँ भुक्तानी गरेको महालेखाले औंल्याएको छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को दफा १९ मा विभागले स्थानीय तहका सामाजिक सुरक्षा सम्बन्धी सूचनालाई व्यवस्थित गर्न, स्थानीय तह विभाग र बैंक र वित्तीय संस्थाबिच प्रणालीगत सम्बन्ध स्थापित गरी सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन केन्द्रीकृत व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ ।


उक्त प्रणालीमा लाभग्राहीको विवरण प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको योजना अनुसार हुन्छ ।

Advertisement

तर, अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १ र ११ लाभग्राहीको नागरिकता नम्बर दोहोरो तथा उल्लेख नै नगरी सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको हो ।


गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा दोहोरो सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को दफा १९ मा विभागले स्थानिय तहको सामाजिक सुरक्षा सम्बन्धी सूचनालाई व्यवस्थित गर्न स्थानीय तह विभाग र बैंक तथा वित्तिय संस्थाबीच प्रणालीगत सम्बन्ध स्थापना गरी सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन केन्द्रीकृत सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । लाभग्राहीलाई भत्ता वितरण गर्दा दोहोरो नहुने गरी वितरण गर्नुपर्छ ।


तर, गाउँपालिकाले बुद्धिबहादुर गुरुङ र खरिया पाध्याको नाममा दोहोरो भत्ता गरेको पाइएको छ । उनीहरुको नाममा भएको भुक्तानी १९ हजार ८ सय ८० रुपैयाँ असुल गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ ।


कार्यविधि विपरीत साढे ३ करोड बढी निकासा
पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले आफू निर्वाचित भएको पहिलो दिन ३ निर्णय गरे । ०७४ जेठ १४ गते पदभार ग्रहण गर्दै उनले ३ निर्णयमा हस्ताक्षर गरेका थिए । जिसीले गरेका ३ निर्णयमध्ये दोस्रो थियोः सामाजिक सुरक्षा भत्ता थप गर्ने ।


जिसीले आफ्नोे चुनावी घोषणापत्र बमोजिम महानगरभित्रका ज्येष्ठ नागरिकलाई सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत थपेर दिने निर्णय गरेका थिए । यो निर्णय बमोजिम अहिले पनि महानगरले थपेरै सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । यसरी भत्ता थप गर्नु ऐनविपरीत छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ (२) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि संघीय सरकारबाट प्राप्त भत्तामा स्थानीय सरकारले आफ्नो कोषबाट रकम थप गरी प्रदान गर्न नपाउने व्यवस्था छ ।


अघिल्लो आर्थिक वर्षमा महानगरपालिकाले कार्यविधि विपरित ३ करोड ६९ लाख १२ हजार ७२ थप गरी निकासा गरेको छ ।

महानगरले थपेर बाँडेको भत्ता महालेखा परीक्षकको प्रतिवेदनले नियमसंगत नरहेको उल्लेख गरेको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया