मुक्तिनाथ मन्दिरलाई भुटानी मुद्रादेखि अमेरिकी डलरको भेटी

सुन्दरकुमार थकाली २०८० जेठ २३ गते ९:४३

जोमसोम ।
हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चढाइएको भेटी आईतबार गणना गरिएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतको रोहबरमा मुक्तिनाथ विकास समितिका निमित्त सचिव, वडाध्यक्ष प्रमेश गुरुङ, मुक्तिनाथ मन्दिरका आनी झुमा, पुजारी र त्यहाँ कार्यरत सुरक्षाकर्मी लगायतको टोलीले मुक्तिनाथ मन्दिरको दानपेटिका बाकसमा जम्मा भएको भेटी गणना गरेको हो ।


मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा भक्तजनले स्वेच्छिक चन्दा दान गर्न ५ वटा दान पेटिका राखेको छ । समितिले १०० रुपैयाँभन्दा बढी रकम दान गरी रसिद काट्न पाउने व्यवस्था गरेको छ । यसका लागि समितिले चन्दा संकलन गर्न एकजना कर्मचारीसमेत खटाएको छ । चालु वर्षमा भने भक्तजनले स्वेच्छिक चन्दा दान गर्न चाहेमा प्रभु बैंकको क्युआरकोड प्रयोग गरी अनलाइन भुक्तानी गर्न पाउने व्यवस्था गरिएको समितिले जनाएको छ ।

Advertisement

अर्थ मौज्दात ७ करोड बढी जम्मा भएपनि मुक्तिनाथ मन्दिरको विकासका लागि उक्त रकम खर्च हुन सकेको छैन


मुक्तिनाथ विकास समितिले आइतबार दोस्रोपटक मुक्तिनाथको दानपेटिकामा ५ महिनासम्ममा जम्मा भएको भेटीदान गणना गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए । दोस्रो चरणमा गणना गरिएको दानपेटिकाको भेटी २७ लाख ८५ हजार संकलन भएको जानकारी दिए ।

Advertisement


नेपाली रुपैयाँ ११ लाख १२ हजार र भारु १० लाख ४५ हजार संकलन भएको उनले बताए । यसका अतिरिक्त विभिन्न देशका भक्तजनले मुक्तिनाथको दानपेटिकामा चढाएको भारतीय मुद्राबाहेक अमेरिकी डलर ६८, क्यानडियन डलर २०, सिंगापुर २, कतारी २ मलेसियन रिंगेट ७१, भुटानी १०, कोरियाली १००, हङकङ ३० र युएईको मुद्रा २०० इकाई जम्मा भएको हो ।


समितिले चालु वर्षको साउनदेखि मंसिरसम्म ५ महिना अवधिमा जम्मा भएको पहिलो चरणमा गणना गरेको थियो । पहिलो चरणमा १४ लाख ७ हजार रुपैयाँ भेटी दानपेटिकामा जम्मा भएको थियो । त्यसबेला नेपाली र भारतीय रकमबाहेक अस्ट्रेलियन डलर २५०, मलेसियन १०० र अमेरिकी डलर १ जम्मा भएको थियो । योसँगै चालु वर्षको ११ महिनाको अवधिमा ४१ लाख ९२ हजार दानपेटिकामा भेटी जम्मा भएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।


गत वर्षको तुलनामा चालु वर्ष मुक्तिनाथमा चढाइएको चन्दा बाकसको भेटी ४२ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष मुक्तिनाथको दानपेटिकामा १७ लाख ६९ हजार भेटी जम्मा भएको समितिले उल्लेख गरेको छ । गत वर्ष मुक्तिनाथमा दान पेटिका बाहेक समितिको कर्मचारीले १ करोड ३ लाख २९ हजार रकम रसिद काटेर संकलन गरेका थिए । गत वर्ष मुक्तिनाथ मन्दिरमा ६ करोड ७२ लाख रकम संकलन भएको थियो ।

सटही नभएको ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको रकम जोडेर करिब ७ करोड समितिको खातामा मौज्दात थियो । चालु वर्षमा रसिद र दानपेटिकाको एकमुष्ठ रकम, बैंकको ब्याज र कर्मचारी व्यवस्थापन खर्च कटाएर आयव्यय हिसाब निकाल्न बाँकी रहेको समितिले जनाएको छ ।


२०६४ साल सालमा तत्कालीन प्रजिअको अध्यक्षतामा मुक्तिनाथ विकास समिति गठन भएको थियो । मुक्तिनाथ मन्दिरको बृहत्तर विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग गराउने उद्देश्यले मुक्तिनाथ विकास समिति गठन गरिएको थियो । मुक्तिनाथ रेखदेखका लागि स्थानीय बासिन्दाले बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन गरेका छन् ।


मुक्तिनाथ मन्दिरमा एकजना पुजारीसहित ४ जना कर्मचारीलाई त्यहाँको रेखदेख तथा व्यवस्थापनमा खटाइएको छ । जसमा एकजना रसिद काट्ने कर्मचारी र अन्य २ जना सफाइकर्मी खटाइएको छ । उनीहरुका लागि बर्सेनि करिब ८ लाख १५ हजार रुपैयाँ खर्च हुन्छ ।


अर्थ मौज्दात ७ करोड बढी जम्मा भएपनि मुक्तिनाथ मन्दिरको विकासका लागि उक्त रकम खर्च हुन सकेको छैन । मुक्तिनाथ मन्दिरको सम्पूर्ण स्वामित्व सिडिओको अध्यक्षतामा मुक्तिनाथ विकास समितिले अपनत्व लिने भएकाले जिल्लाका स्थानीय सन्तुष्ट छैनन् ।

चालु वर्षको भदौमा समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद शर्मा र समितिसँग मुक्तिनाथ विकास समितिको विधान संशोधन गर्ने सहमति गरिएको थियो । समितिको विधान संशोधन गर्ने क्रममा रहेकाले समितिले मुक्तिनाथको विकासमा खर्च गर्न नसकेको सिडिओ अनुप केसीले जानकारी दिए । असारमा बैठक बसेर तत्कालका लागि केही खर्च गर्ने योजना रहेको उनले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया