पोखरा क्याम्पसका विद्यार्थीसँग न्यायिक समिति

समाधान संवाददाता २०८० जेठ २३ गते १०:२९

पोखरा ।
स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको गठन प्रक्रिया, अधिकार क्षेत्र, न्याय निरुपणबारे जानकारी गराउने उद्देश्यले विद्यार्थीसँग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिएको छ ।


देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसँगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । यसको महत्व, आवश्यकता र औचित्य तथा यसले निरुपण गर्ने विवादका विषयमा क्याम्पस र विद्यालयस्तरबाटै जानकारी तथा प्रचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताए ।

न्यायिक समितिको महत्व, आवश्यकता र औचित्य विद्यार्थीलाई बुझाउने अभियान जारी

Advertisement


वडा स्तरीय महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर ९ को आयोजना र महानगर न्यायिक समितिको सहकार्यमा पोखरा बहुमुखी क्याम्पस शान्ति वनमा विद्यार्थीसँग न्यायिक समिति कार्यक्रमको आयोजना गरिएको हो । पोखरा महानगर न्यायिक समितिले विद्यार्थी, ज्येष्ठ नागरिकसँग न्यायिक समित कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो ।


पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी दिन कार्यक्रम गरिएको बताइन् । विद्यार्थीका माध्यमबाट घरघरमा यसको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र क्षेत्राधिकारबारे जानकारी गराउने कार्यक्रमको उद्देश्य भएको सुनाइन् ।

Advertisement


कानुन सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका माध्यमबाट यसको प्रचार महत्वपूर्ण हुने उनको भनाई थियो । ‘यो विषय महत्वपूर्ण छ । तपाईंहरूलाई प्रशिक्षण दिन कार्यक्रम गरिएको हो । जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,’ उनले भनिन्, ‘यसले के काम गर्छ । यसको काम कर्तव्यबारे अफना अभिभावक र छिमेकीलाई जानकारी गराउँदै समस्या भए न्यायिक समितिमा जान सुझाव दिनुहुने भन्ने विश्वास छ ।’


वडा स्तरीय महिला सञ्जालको आयोजनामा पहिलो क्याम्पसका विद्यार्थीसँग अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको न्यायिक समिति सदस्य एवं पोखरा ९ की सदस्य भावना श्रेष्ठले जानकारी दिइन् । वडा स्तरीय महिला सञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षमा भएको कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोलेका थिए ।


न्यायिक सम्पादन सर्वसाधारणका लागि खर्चिलो र झन्झटिलो भएकाले सरल र सर्वसुलभ रुपमा न्याय प्रदान गर्न न्यायिक समितिको व्यवस्था गरिएको न्यायिक समिति सदस्य कालिदास पोखरेलले बताए । कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठले यसको गठन प्रक्रिया र अहिले भइरहेका अभ्यासबारे विद्यार्थीलाई सहजीकरण गरेका थिए ।


महानगर न्यायिक समितिका अभिलेख संरक्षक राममणि अधिकारी र मेलमिलाप सहजकर्ता सोम लम्सालले न्यायिक समितिको अधिकार क्षेत्रबारे प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया