‘खेल्छ गण्डकी’ निरन्तर

समाधान संवाददाता २०८० जेठ २३ गते १२:१४

पोखरा ।
गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बतए ।


‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँ गाउँमा रहेका नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने भएको हो । गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ ।


अन्तर्राष्ट्रिय स्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने निकाय/व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने सरकारको योजना छ ।

Advertisement


‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माण कार्यलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले विभिन्न क्लब र गैरसरकारी संस्थाद्वारा सञ्चालित खेलकुद प्रतियोगितालाई दिइने सहयोगलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम प्रस्तुत गरे ।


मुस्ताङमा उच्च उचाइ खेल तालिम केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने नीति लिइने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया