नेपाल लाइफ इन्स्योरेन्सको न्युरोडमा आफ्नै भवन

समाधान संवाददाता २०८० जेठ २३ गते १५:३६

पोखरा ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको न्युरोडमा आफ्नै भवनबाट सेवा सुरु गरेको छ । गण्डकी प्रदेश कार्यालयका लागि खरिद गरेको भवन कम्पनीका सञ्चालक समिति सदस्य कमलेशकुमार अग्रवालले सोमबार उद्घाटन गरे ।


कम्पनीले काठमाडौं उपत्यकाबाहिर पहिलो भवन निर्माण गरेको सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले जानकारी दिए । उनले सबै मुख्य सहरमा आफ्नै भवन बनाउन टेन्डर गरेको जानकारी दिए ।


कम्पनीका सञ्चालक अग्रवालले कम्पनीले नेपालको जनसंख्याको करिब १० प्रतिशत अर्थात ३२ लाखले बिमा गरेको जानकारी दिए । बिमा क्षेत्रको सबभन्दा ठूलो कम्पनी नेपाल लाइफ २०७२ सालको संविधान जारी भएपश्चात कम्पनी संघीय संरचनामा गएको बताए । ‘गण्डकी सबैभन्दा बढी सम्भावना भएको प्रदेश हो,’ उनले भने, ‘कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत यसको योगदान छ । हामी सबै मिलेर यसलाई बढाउनु पर्छ ।’

Advertisement


उनले नेपालको सबभन्दा बढी साक्षरता ७० प्रतिशत भएको प्रदेशलाई आर्थिक हिसाबले समृद्ध बनाउनुपर्ने बताए । सञ्चालक समिति सदस्य अग्रवालले बिमाको पहँुच विस्तार गण्डकी प्रदेश कार्यालयको सम्भावित योजनामा निर्भर गर्ने उल्लेख गरे ।


कम्पनी सञ्चालक समिति लामिछानेले आफ्नै भवनबाट सेवा प्रदान गर्दा कम्पनीको विश्वसनीयता बढ्ने दाबी गरे । हरेक घर, परिवारका एक जनाको जीवन बिमा गर्ने नीति बन्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहले गरिब, विपन्न तथा सिमान्तकृतलाई बिमाको दायरामा ल्याउने नीति ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement


कम्पनीका सञ्चालक विमल ढकालले बिमा व्यवसाय आफ्नो सीमा आफैं तोकेर गर्ने व्यवसाय भएको उल्लेख गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीनरमण पराजुलीले राजनीतिक तथा प्रशासनिक विभाजनसँगै २३ वर्ष पहिले स्थापना भएको कम्पनीको सेवालाई विकेन्द्रीत गरेको जानकारी दिए ।

बिमा व्यवसायमा संस्थागत चुनौति रहेको उल्लेख गर्दै उनले आफ्नै सुविधा सम्पन्न भवन बनेपछि आम ग्राहकले विगतमा भन्दा राम्रो सेवा पाउनुपर्ने बताए । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद दाहालले प्राधिकरणले बिमाको क्षेत्रमा सहजकर्ताको भूमिका निर्वाह गर्ने जानकारी दिए । उनले बिमा व्यवसायको प्रवद्र्धनको लागि सबै सरोकारवालासँग हातेमालो गर्ने उल्लेख गरे ।


कार्यक्रममा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत अमित कयाल, कम्पनीका गण्डकी प्रदेश कार्यालयका प्रमुख अनन्त अधिकारीले बिमा व्यवसायका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया