विद्यार्थीलाई प्लास्टिकको असरबारे प्रशिक्षण

समाधान संवाददाता २०८० जेठ २३ गते १६:२७

पोखरा ।
विश्व वातावरण दिवसको अवसरमा पोखराको मदरल्यान्ड माविका आइतबार प्लास्टिक प्रदूषणबारे सचेतना आयोजना गरेको छ । कक्षा ८ का विद्यार्थीलाई मानवीय क्रियाकलापका कारण पोखराको फेवाताल कसरी प्लास्टिक प्रदूषणको चपेटामा परेको छ भन्ने प्रकाश पारिएको थियो ।


फेवाताल कसरी पुरिँदै र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर पत्रकार कृष्णमणि बरालले विगत १९/२० वर्षअघि देखि खिचेका तस्बिर समेटेर पावरप्वाइन्ट प्रिजेन्टेसन गरेका थिए । उनले विद्यार्थीलाई फोहोर व्यवस्थापन गर्न सुझाएका थिए । पोखराको फेवाताल पछिल्लो समयमा सबैभन्दा धेरै प्रदूषणको चपेटामा परेको छ । तालमा मिसिने फिर्के खोलामा जथाभावी फोहोर फ्याकिँदा ताल प्रदूषणको चपेटामा परेको हो ।


पोखराका ताल, नदीको सतहमा प्लास्टिक जन्य फोहोर फैलदा पानीमा पाइने जीव, वनस्पति संकटमा पर्दै गएको बरालले बताए । फेवातालको मुहान क्षेत्रमा पनि बस्ती विस्तार हुने तर फोहोर व्यवस्थापनमा ध्यान नदिँदा मुहान क्षेत्रबाट पनि ताल प्रदूषण बढेको बरालले तस्बिरमार्फत विद्यार्थीलाई देखाउँदै घरबाहिर ताल, नदी, खोला चौरमा घुम्न जाँदा खानेकुरा लिएर गएको प्लास्टिक जन्य फोहोर आफैँसँग फिर्ता ल्याउन पनि उनले सुझाएका थिए ।

Advertisement


अहिले गर्मी मौसममा फेवाताल किनारमा घुम्न जानेको भीड लाग्ने गरेको छ । यसरी घुम्न जानेले खानेकुरा लिएर गएको प्लास्टिक लगायतका फाहोर ताल किनारमै फ्याँक्दा कसरी तालवरपर फोहोर बढेको बरालले उल्लेख गरे ।


यो वर्ष प्लास्टिक प्रदूषण विरुद्ध लागौं भन्ने नाराका साथ वातावरण दिवस मनाइएको हो । प्लास्टिक प्रदूषणले विश्व आक्रान्त भएको छ । यसैले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । सचेतना कार्यक्रममा पत्रकार सागरराज तिमिल्सिना, विद्यालयका प्राचार्य नरायण बराल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया