अन्तर्राष्ट्रिय संग्रहालयमा वृक्षारोपण

समाधान संवाददाता २०८० जेठ २३ गते १६:२९

पोखरा ।
पोखरामा विश्व वातावरण दिवसको अवसरमा भएको कार्यक्रममा वातावरण जोगाउन प्लास्टिकजन्य सामाग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । सहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या व्यापक छ । ग्रामीण क्षेत्रमा पनि दिनानुदिन बढ्दै गएको छ ।


वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षारोपणमा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर पु¥याउनेमा चिन्ता व्यक्त गरिएको छ । वातावरण जोगाएर जस्ताको तस्तै पछिल्लो पुस्तालाई हस्तानतरण गर्न चुनौती थपिएकोसमेत चर्चा गरियो । वत्ताहरुले वातावरण जोगाउन रुख रोप्नुपर्नेमा जोड दिए ।


कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महत्वपूर्ण रहेको बताए । ‘रुखले वातावरणमा सकरात्मक प्रभाव पारिरहेको छ’, उनले भने, ‘रुख हाम्रो जीवन र जगतका लागि कति महत्वपूर्ण छ यसले दिने प्राणवायुले नै प्रस्ट छ ।’

Advertisement


उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव विशाल घिमिरेले वातावरण नबिगारिकन पछिल्लो पुस्तालाई सुम्पनुपर्नेमा जोड दिए । प्लास्टिकको प्रयोग सजिलो भए पनि दीर्घकालीन असरबारे सचेत हुनुुपर्ने उनले सुझाए ।


‘प्लास्टिकका कारणले हाम्रो जीवनयापन एकछिनका लागि सजिलो भाको छ । तर, दीर्घकालीन रुपमा एकदम ठूलो समस्या निम्त्याइरहेको छ’, उनले भने । ४० माइक्रोनभन्दा पातालो प्लास्टिक प्रयोग गर्न रोक लगाए पनि नियमन नहुँदा कार्यन्वयन नभएको उनको भनाइ छ ।

Advertisement


पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरण जोगाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए । पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले रोएिका विरुवा जोगाए मात्रै उपलब्धि हुने बताए ।


अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सदस्य बबरजंग गुरुङले जलवायु परिवर्तन विश्वकै लागि चुनौती थपिएको बताए । संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको डिपिआर अनुसार नै वृक्षारोपण भएको बताइन् । तेजपत्ता प्रजातिका २० विरुवा रोपिएको छ । रोपिएका विरुवालाई जोगाएर हुर्काउने न्यौपानले वाचा गरिन् ।


संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ ।


संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
पोखरा बर्ड सोसाइटीले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा चरा अवलोकन गरेको छ । सोमबार वातावरण दिवसको छेकोमा सोसाइटीमा आबद्ध चराप्रेमीले संग्रहालय परिसरमा ४४ मिनेट चरा अवलोकन गरे ।


३२ प्रजातिको चरा भेटिएको पोखरा बर्ड सोसाइटी अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । हिमालयन बुलबुल, इन्डियन गोल्डेन ओरियोल, कपरस्मिथ बार्बेट लगायतका चरा देखिएका देखिएका हुन् ।


‘अझै बढी चरा देखिनुपर्ने हो । हामीले ७ बजेअगाडि नै अवलोकन गर्दा ३२ प्रजाती देख्यौं । यो संख्या पनि राम्रो हो’, उनले भने, ‘ग्रीष्मकालीन आगन्तुक चराले त गुँड नै बनाएर बसेका रहेछन् ।’


पोखरामा सन् २०१९ सम्म ४६७ प्रजातिको चरा देखिन्थ्यो । त्यो संख्या बढेर अहिले ४ सय ८८ पुगेको छ । पोखरा महानगरपालिका १७ रातोपहिरोमा रहेको संग्रहालय १ सय रोपनीमा फैलिएको छ । यहाँ चाप, सिसौ, पैयुँ, खयर, लाकुरी, पारिजात, टुनी लगायतका झन्डै ९ सय बोटविरुवा छन् । संग्रहालय परिसर चराचुरुङ्गीको बासस्थानसमेत बनेको हो ।


२०६१ माघदेखि नेपाल पवर्तरोहण संघले सञ्चालनमा ल्याएको संग्रहालय हिमाल र हिमाली जनजीवन नियाल्ने उत्कृष्ट थलो बनेको छ ।

तपाईको प्रतिक्रिया