‘नीति तथा कार्यक्रम प्रदेशको क्षेत्राधिकार बाहिर’

समाधान संवाददाता २०८० जेठ २४ गते १०:५८

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको क्षेत्राधिकारभन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।


नीति तथा कार्यक्रममाथिको छलफलमा निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले प्रदेशले क्षेत्राधिकार मिचेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका हुन् । ‘गर्दै जाँदा के भयो भने हाम्रो क्षेत्राधिकार पनि अतिक्रमण हुन थाल्यो । बुर्तिवाङको स्वास्थ्य केन्द्र, आपपीपलको अस्पताल प्रदेशमा ल्याउने भन्न थालौं, त्यो स्थानीय तहको अधिकार,’ उनले भने, ‘खनिजको उत्खनन् गर्ने भन्ने अधिकार संविधानले केन्द्रलाई एकल अधिकारका रुपमा राख्यो । तर, हामीले उत्खनन् भन्ने शब्द हाल्देम् । संरक्षण गर्न सहजीकरण गर्न हामी सक्छौं । उत्खनन् अधिकारमै छैन ।’


सांसद डा टकराज गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सबै राजनीतिक दलको साझा प्रतिवद्धतालाई मुल आधार, पृष्ठभूमि र मार्गदर्शन मान्दै आएको उल्लेख गरे । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम नेपाल सरकारको पन्ध्रौं पञ्चवर्षीय योजना, गण्डकीको पहिलो पञ्च वर्षीय योजना, प्रदेशको आवधिक योजना, दीगो विकासको लक्ष्य, हालसम्मकै उपलब्धिहरु, सबै राजनीतिक दलको साझा प्रतिवद्धतालाई मुल आधार, पृष्ठभूमि र मार्गदर्शनमा आएको देखिन्छ,’ उनले भने ।

Advertisement


सांसद कुशुम बुढामगरले जनताको अपेक्षा र आवश्यकतालाई मध्यनजर गरेर आगामी दिशा तय गरेको सुनाइन् । उनले भनिन्, ‘नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको समग्र मार्गदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधानको मर्म र भावना, वर्तमान अवस्थामा जनताको अपेक्षा र आवश्यकतालाई मध्यनजर गरी आगामी दिशा तय गरेको छ ।’


सांसद विन्दु पहाडी सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख समाज बनाउनका लागि मार्गदर्शक सिद्धान्तको रुपमा काम गर्ने खालको रहेको बताइन् । ‘समाजवाद उन्मुख समाज बनाउनका लागि मार्गदर्शक सिद्धान्तको रुपमा काम गर्ने खालको देखिन्छ । तर, नीति तथा कार्यक्रमको अस्तित्व बजेटसँग जोडिएको हुन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको तालमेल भएमा गन्तव्यमा पुग्न सकिन्छ,’ उनले भनिन् ।

Advertisement


नीति तथा कार्यक्रममा कुनै छुट्यो भन्ने ठाउँ नभएको सांसद बिमला गौचनको भनाइ छ । भन्छिन्, ‘कुनै छुट्यो भन्ने ठाउँ नै छैन ।

शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, दलित, महिला, एकल महिला, बालबालिका, वृद्ध, गाउँ, सहर, हिमाल, पहाड, तराई यस वर्षको नीति तथा कार्यक्रमले सबै समेटेको छ । साच्चिकै गण्डकी प्रदेशको इतिहासमा यत्तिको प्रभावकारी नीति तथा कार्यक्रम यसअघि आएकै थिएन ।’


सांसदहरु गणेशबहादुर गुरुङ, नन्डु गुरुङ, टीकाकुमारी बस्याल, वेदबहादुर गुरुङ, मुनिन्द्रजंग गुरुङ, श्यामराजा महत, दिलमाया पौवी, नन्दकला दमाई नेपाली, पार्वती तामाङ, राजकुमारी भुजेल, रेशा गुरुङ र द्रोणकुमार कुँवर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भए । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।

तपाईको प्रतिक्रिया