अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
पोखरा ।
सफा हिमाल अभियान २०८०लाई सफल बनाउन योगदान पुर्याएवापत कास्कीको अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर केसीलाई नेपाली सेनाले सम्मान गरेको छ ।
विश्व वातावरण दिवस–२०२३ को अवसरमा नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीलाई ‘प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति’बाट सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । सफा हिमाल अभियान– २०८० को समापन समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले अध्यक्ष केसीलाई सम्मान गरेका थिए ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा संचालन भएको अभियानका अध्यक्ष केसीले योगदान पुर्याएका थिए ।
सफा हिमाल अभियान अन्तर्गत नेपाली सेनाको अगुवाइमा अन्नपूर्ण हिमाल, ल्होत्से हिमाल र सगरमाथा हिमालमा सरसफाई तथा फोहोर संकलन गरिएको थियो । अभियानमा नेपाली सेनाले ती हिमालहरुबाट ३४ हजार टन फोहोर संकलन गरेको थियो ।
तपाईको प्रतिक्रिया