भैंसी खरिदको मुनाफा

मदन भण्डारी २०८० जेठ २४ गते १६:४१

‘भैँसी लड्यो है माया भीरबाट हेर….!’ पहिले डेजी बराइली लोकभाकामा गाउँथिन्, अहिले जनभाकामा निर्मला गाईरहेकी छन्, ‘सपनामा घरिघरि आउँछौ तिमी रातमा/ब्यूँझिएर खोजी हेर्दा छोरी हुन्छिन् साथमा !’ माइला लामाको यो गीत निर्मला घिसिङको स्वरमा गाइए पनि भालाले घोचिघोची मारिएका पुलिसकर्मीका परिवारको मर्मलाई यसले बढी छुँदो हो तर अब रोएर बस्ने अवस्था रहेन । टीकापुरका पीडितलाई रेशम चौधरीको हातबाट भैँसी उपहार प्रदान गरिए पनि ती भैँसी पालेर बस्ने हालतमा छैनन् ।


‘लाहुरे भैँसी’ रमेश विकलको प्रशिद्ध कथा हो । रमेश विकल माक्र्सवादी दर्शनमा साहित्य लेख्थे । उनी शंखघण्टी बजाएरै पूजा गर्थे तर उनलाई प्रगतिशील साहित्यकारको उच्च सम्मान प्राप्त छ । शब्दको खेलमा झेल गर्नेभन्दा जीवन चरित्रले देवकोटा, हृदयचन्द्रसिंह, गोपालप्रसाद, श्यामप्रसाद, गोकुलप्रसाद, पारिजात र कृष्ण सेनहरु श्रद्धेय छन् ।


राजनीतिका पुष्पलाल, केआईसिंह, भीमदत्त, मनमोहन वा मदन भण्डारीहरु सिद्धान्तका लफ्फाजीले होइन, काम, व्यवहारले महान छन् । रविको सिद्धान्तको रङ कस्तो हो, थाहा छैन । जनताको ठूलो पक्ति उनको कामलाई स्यावासी गरिरहेका छन् । प्रचण्डलाई चितौनबाट लखेट्नु र क्यान्टोन्मेन्टको फाइल खोल्छु भन्नुमात्रै पनि उनको साहसिकता हो । फिल्मकी हिरोइन भएरमात्रै होइन, देशभक्तिले मनिषा कोइराला उज्वलताका साथ चम्किईरहेकी छन् ।

Advertisement

रमेश विकलको किसानलाई झैँ कमरेड प्रचण्डलाई मुर्रा भैंसी खरिदमा मुनाफाको सम्भावना देखिँदैन


लाहुरे भैँसीमा एक जना गरीब किसान फटाहाहरुद्वारा नराम्ररी ठगिन्छन् । यो पुरानो कथा अहिलेको राजनीतिक सन्दर्भमा स्मरणीय छ । देशका प्रधानमन्त्रीले भारत भ्रमण गरेर १५ वटा मुर्रा भैँसी ल्याउने सहमति गरेर आए । लिपुलेक–लिम्पियाधुराबारे प्रधानमन्त्रीले जे स्पष्टीकरण दिए, त्यसमा प्रमुख प्रतिपक्षी लगायतका दल आगो ओकल्दै छन् ।

Advertisement


यसलाई तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको भारत भ्रमणको बेलाको टनकपुर सहमतिकै रुपमा हेरिँदै छ । प्रधानमन्त्रीको हात हल्लाई टोपे रायमाझीको निर्लज्जता जस्तै देखियो । टनकपुर सन्धिका बेला सदनमा लगभग एक्लै मदन भण्डारी वाणीका वाण वर्षाउँथे । अहिले त ज्ञानेन्द्र शाही, पदम गिरी, रवि लामेछाने लगायतका युवा सांसदहरु तीखा तीखा शब्दवाण प्रयोग गरिरहेका छन् ।


‘प्रधानमन्त्री र राष्ट्रपतिको नीति लेण्डुपकै जस्तो किन होइन ?,’ सुनिल प्रजापतिको प्रश्न गम्भीर छ । वयोवृद्ध चित्रबहादुर केसीले समेत ‘अँगीकृतलाई वंशजको नागकिता दिनै मिल्दैन !’ भने । भ्रमणको २ घण्टाअगाडि नागरिकता विधेयक पास गराइएकाले प्रधानमन्त्री र राष्ट्रपति दुवैतिर प्रहार सोझिएको छ ।


पहिल्यैको भैँसी ल्याउने सरकारी सोचलाई प्रधानमन्त्री प्रचण्डकै भ्रमणको बेला किन तय गरियो ? भ्रमणको २ घण्टा अगाडि मात्रै किन राष्ट्रपतिले नागरिकता विधेयकमा सहीछाप गरे ? यताका प्रधानमन्त्रीको स्वागतमा उता किन सानै हैसियतकी महिला अधिकारीलाई उपस्थित गराइयो ? पूजाको अन्तर्य के हो ? सांसद, मन्त्री वा बुद्धिजीवीका जवाफभन्दा बस, चियापसल वा चौतारीका बहस घतलाग्दा छन् । जनतालाई लुगा खोल्नु वा चर्को बोल्नु छैन । मनमा आयो मुखमा आयो ।


जनता भन्छन्, ‘बसेपछि थ्याच्चै, बोलेपछि प्याच्चै !’ राजालाई बच्चाले नांगै छन् भनिदिए । जंगबहादुरलाई भरियाले आँखा फुटेको भनिदिए । यसैले जनतालाई नेताहरु जनार्दन भन्न बाध्य छन् । महानन्द भन्थे, ‘रुसका मदमत्त नरेश पनि÷ थिचिए मिचिए जनशक्ति मुनि !’ ऋषिरुपी जनताको श्रापले सिँह मूसो बन्छ ।

०८४ को चुनाव भएमा गठबन्धनका दलहरु वास्तविक आकारमा आउने निश्चित छ । भैँसी काट्ने र रक्सी बाँड्ने कामको रहस्य अब जनताले बुझेका छन् । धेरै साथी गुमाए पनि मुसाले बिरालोको साधूताको पत्तो पाइसकेका छन् ।


धनी भैँसी व्यापारी वा कृषि विभागका हाकिम वा सचिवले गर्न सक्ने काम प्रधानमन्त्रीलाई गराइयो ।

नागरिकता विधेयक पास गरेरमात्रै भारत आउने स्वीकृति दिइयो । छोरी, बुहारीप्रतिको मोह र महिलामैत्री स्वभाव बुझेकैले महिलाद्वारा स्वागत गरियो । आदेशपालक प्रमाणित गर्नैका लागि गेरु वस्त्र पहि¥याएर पूजामा खटाइयो ।


पण्डितहरु गीता भट्याउँछन् : ‘धूमेनाग्निरिवावृता…!’ जनता भन्छन्, ‘आगो बालेको ठाउँमा धूवाँ हुन्छ, मान्छे बसेको ठाउँमा कुरा हुन्छ !’ गाँठी कुरा जनताले छ्याङ्ङै बुझेका छन् । प्रधानमन्त्रीले सदनमा सिफरिस होइन, राष्ट्रपतिलाई अनुरोध गरेको बताएर जनतालाई बेस्मारी हँसाए । राम र हरामको प्रसंग स्मरणीय रह्यो ।


केशवराज पिँडालीको कथा राष्ट्रपतिज्यूले अवश्यै पढेको हुनुपर्छ । राम पाण्डेले जागिरमा हवल्दार पद पाप्त गरेका थिए । रिटायर्ड भएपछि आफ्नो नाम ह. राम पाण्डे बताउँथे, लेख्थे । यमराजले दूतलाई हराम पाण्डे लिन पठाएछन् । दूतले ह को थोप्लो (.) मेटिएर हराम भएकाले ह. राम पाण्डेलाई यमलोक पु¥याएछन् । यमराजले खाता जाँच्दा ह. राम पाण्डेको आयु नसिद्धिएको ठहर भएछ ।


‘लैजाऊ यसको आत्मालाई उसैको शरीरमा घुसार !’ धर्मराजले आदेश गरेछन् । अपशोच, धर्तीमा लास जलाईसकिएकाले दूतलाई अप्ठेरो परेछ । दूतले भर्खरै मारेर फालिएको भुस्याहा कुकुरको लासमा ह. राम पाण्डेको आत्मा घुसारेर फर्के छन् । यसरी ह. राम पाण्डेले भुस्याहाको जिन्दगी बाँच्नु परेको उल्लेख छ ।


देउवाले गिरीजासित पार्टी फुटाउँदा रामचन्द्र पौडेल देउवा पक्षधर मानिन्थे । पछि, गिरीजाकै शिविरमा रहे ।

त्यसअघि नै उनलाई गोल्छे सार्कीले थप्पड्याएका थिए । अहिलेको नागरिकता विधेयक रामचन्द्र पौडेलको जीवनको सबैभन्दा ठूलो कलंक हो । राजाले किन रोकेका थिए, पूर्व राष्ट्रपतिद्वारा उठाइएको प्रश्नको प्रत्युत्तर किन खोजिएन ? समाजवादी सोँचका सम्माननीय राष्ट्रपतिज्यूको आत्मामा अवश्य उथलपुथल मच्चिनेछ ।

प्रमख प्रतिपक्षी नेताका व्यंग्यले संसदमा प्रधानमन्त्री भाउजूझैँ हाँस्नु भयो, सडकमा घेरिँदा के हाल होला ?
मुनाफा बारेको माक्र्सवादी व्याख्या अकाट्य मानिन्छ । अतिरिक्त नाफाको सिद्धान्तलाई बिपी कोइराला समेतले सम्मान गरेका छन् । मुर्रा भैँसी कार्य व्यापारको भारतेली उद्देश्य कस्तो हो । पुल बनाउँदै भत्काउने नाफाको खेलमा पल्केका हाम्रा नेताले कस्ता कार्यकर्तालाई भैँसी पाल्न दिने हुन् ।

मुर्रालाई चुनावमा प्रयोग गरेर फेरि गुजराँती पो ल्याइने हो कि ? रमेश विकलको किसानलाई झैँ कमरेड प्रचण्डलाई मुर्रा भैंसी खरिदमा मुनाफाको सम्भावना देखिँदैन । देश डढाइँदा को सुरक्षित रहिएला र ? भैँसी लडेको गीत रेणुजीले पनि रुँदै गाउनुपर्ने हो कि !

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया