काम उही, ज्याला फरक किन ?

पोखरा ।
अनौपचारिक क्षेत्रका श्रमिकले महिला तथा पुरुष बीच ज्यालामा विभेद भएको गुनासो गरेका छन् । उनीहरुले समान कामको समान ज्याला कायम गर्नुपर्ने माग गरेका छन् । बालुवा खानीमा कार्यरत श्रमिक मञ्जु कार्कीले महिला पुरुषबीच एउटै प्रकृतिको काममा ज्यालामा विभेद गरिएको बताइन् ।
प्रज्ञा सोलुसन काठमाडौ, प्रज्ञा सोलुसन दिल्ली र असल छिमेकी सहयोग संघ (गोनसा) नेपालले आयोजना गरेको बहुपक्षीय परामर्श कार्यशालामा उनले कार्यस्थम महिला मैत्री बन्न नसकेको उल्लेख गरिन् । ‘महिला र पुरुषबीच एउटै प्रकृतिको काम गरिएता पनि ज्यालामा अझै पनि विभेद छ,’ उनले भनिन्, ‘कार्यस्थल अझै महिला मैत्री बन्न सकेको छैन । सुत्केरी हुँदासमेत बिदा पाउन कठिनाइ छ ।’ उनले कामदारले समयमा तलब तथा पारिश्रमिक पाउन नसकेको औंल्याइन् ।
ग्लोलबल लेभर प्रोग्राम (जीएलपी) पावर परियोजा अन्तर्गत महिला र सिमान्तकृत समुदाय बीच भएको कार्यक्रममा कृषि श्रमिक दिलुमाया भण्डारीले धेरै श्रमिकले कृषि क्षेत्रमा काम गरेको भएता पनि अझै श्रमिकको मान्यता पाउन नसकेको दाबी गरिन् ।
कार्यक्रममा ढुंगा चालक दिनेश गुरुङले ढुंगा चालकले नियमित तलब नभई कमिसनका काम गर्नु परेको सुनाए । कार्यक्रममा श्रमिकहरु स्वेता पहारी र हुमनाथ आचार्यले श्रम ऐन तथा योगदानमा आधारित सामजिक सुरक्षा ऐन कार्यान्वयन नभएको गुनासो गरे ।
प्रज्ञा सोलुसन दिल्लीका सिनियर म्यानेजर सिजी चाक्कोले दक्षिण एशियामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको समस्या एउटै प्रकृतिको भएको बताए । उनले ती श्रमिकलाई एकीकृत तथा सशक्त बनाएर आफ्ना मुद्दामा राज्यका निकाय समक्ष पुगेर बहस पैरवी गर्न सक्षम बनाउन भरत नेपाल र बंगलादेशमा कायर्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
प्रज्ञा सोलुसन काठमाडौंका म्यानेजर रामप्रसाद दाहालले नेपालको कास्की र सिन्धुपाल्चोकमा श्रमिकको क्षमता अभिवृद्धि लागि कार्यक्रम गरेको उल्लेख गरे । उनले श्रमिकको सूचना पहुँच बढाउन स्मार्ट फोनबाट कनेक्ट एप्स डाउनलोड गरी र स्मार्ट फोन नहुनेका लागि किओस मेसिनबाट सूचना प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको बताए ।
कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी कार्यवहाक अध्यक्ष पदम पहारी, गैसस महासंघ नेपाल कास्की अध्यक्ष बुद्धिबहादुर थापा, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेल, महिला मानव अधिकार रक्षक सञ्चाल गण्डकी अध्यक्ष ईन्द्रकुमारी शर्मा, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, दलित महिला संघ (फेडो) कास्कीका अध्यक्ष सुमित्रा गायक, गोनेसा नेपालका कार्यकारी निर्देशक शिवराज शर्मा सुवेदी, कार्यसमिति सदस्य केशु भुजेल र प्रज्ञा सोलुसन काठमाडौंका छिरिङ डोल्माले अनौपचारिक क्षेत्रका श्रमिकको समस्याबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया