‘वातावरण जोगाउन वृक्षारोपण’

पोखरा ।
विश्वव्यापी रुपमा बढेको जवायु परिवर्तनका कारण वातावरण र प्राणी जगतमा देखिएका चुनौति सामना गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ । विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्ने वक्ताहरुले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहकार्यको विकल्प नभएको बताएका हुन् ।
‘प्लास्टिक जन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताहरुले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए । पोखरा महानगरकी कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्षारोपणमा समूहले वन र वातावरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको जनाइन् ।
वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औल्याउँदै उनले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको जनाइन् । पोखराबाट नजिकै रहेको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी पुूलहरुको डाँडाका रुमा परिणत गरी थप पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिइन् ।
गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालिगुराँस लगायत विभिन्न जातका ७ सयभन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको वन समूहकी अध्यक्ष ईन्द्रकुमारी आचार्यले सुनाइन् । ५३ घरधुरी उपभोक्ता १ सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयको १२ लाख ३२ लाख लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउन थालिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, पोखरा ११ का वडाध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङ लगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाबारे चर्चा गरेका थिए ।
डिभिजन वन कार्यालय कास्कीवाट निशुल्क रुपमा उपलब्ध गराईएका विरुवा रोप्ने कार्यक्रममा वन उपभोक्ता सहित विभिन्न संघ, संस्थाका प्रतिनिधि एवं विद्यार्थी सहभागी बने । डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा २८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षारोपण गरिएको हो ।
उक्त वन क्षेत्रमा विगतमा गएको ठूलो पहिरो संरक्षणका लागि बायोइन्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँस रोपण अभियान चलाइएको डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बरालले बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसवाट वातावरणीय स्वच्छता तथा कार्बन सञ्चितिमा महत्वपूर्ण योगदान पुगेको जनाए । यसअघि रोपिएका विरुवा.मध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया