प्रदेश सांसदले भनेः प्रेम सम्बन्धलाई जातसँग जोडेर विभेद गरियो

समाधान संवाददाता २०८० जेठ २६ गते ११:१७

पोखरा ।

प्रेम गर्नेहरु जातभात हेर्दैनन् भनिन्छ । तर समाज भने बदलिएको छैन । अझै जातभातकै कुराले प्रेममा तगारो लगाउँछ ।

गण्डकी प्रदेश सभाका सदस्य र प्रतिनिधि सभा सदस्यले अहिले त्यस्तै जातभातको तगारो हालेर एकजोडी प्रेमीलाई छुटाइएको बताएका छन् । त्यतिमात्रै नभई युवकलाई जातीय विभेद गर्दै झुठा मुद्दा लगाइएको उनीहरुको आरोप छ । सांसदहरुले उठाएको प्रसंग बागलुङका प्रभात बसेल र म्याग्दीकी एक युवतीको हो ।

Advertisement


भएको के थियो भने बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात र म्याग्दीकी २२ वर्षीया एक युवती करिब १ महिनाअघि भारत पुगेका थिए । त्यसको केही दिनपछि घरपरिवारसँग कुराकानीपछि युवतीको परिवारको ‘आग्रह’म’ उनीहरुले नेपाल फर्किए । त्यतिबेलासम्म बसेलविरुद्ध प्रहरीमा उजुरी परिसकेको थियो ।

नेपाल आएसँगै पोखराको वडा प्रहरी कार्यालय बैदामले उनलाई ‘नियन्त्रण’मा लियो । दुवैको परिवारको जिम्मा लगायो ।

Advertisement

‘हाम्रोमा छोरी हराएको भनेर उजुरी परेपछि हामी खोजी गर्‍यौं, उनीहरु भेटिएपछि हामीले परिवार जिम्मा लगायौं,’ बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशीले भने ।

‘२ वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको र २ महिनादेखिसँगै बस्दै आएको अवस्थामा ललाइफकाई गरी घरमै आऊ हामी बिहे गरिदिन्छौं भनेर युवतीको घरपरिवारले बोलाएपछि अहिले उनीविरुद्ध ३ वटा मुद्दा परेको छ


त्यसपछि उनीहरु दुवै आआफ्नो घर गए । तर, त्यसको केही दिनपछि तिनै युवतीले प्रभातविरुद्ध उजुरी हालिन् । ४३, ४० (प्रहरीले युवतीलाई दिएको नाम) ले आफै उपस्थित भएर प्रभातविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा शरीर बन्धक, जबरजस्ती करणी र अपहरणको उजुरी दर्ता गराएकी हुन् । त्यसपछि प्रहरीले प्रभातलाई जेठ ७ गते पक्राउ गरेको छ । अहिले उनलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले प्रभातमाथि अनुसन्धान भइरहेको बताए ।

‘म्याग्दीबाट पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


प्रभातविरुद्ध जातीय आधारमै मुद्दा लगाइएको भनेर आवाज उठ्न थालेका छन् । प्रभात कथित तल्लो जात र युवती कथित उपल्लो जातकी हुन् । प्रभात कथित तल्लो जातकै भएको कारण युवतीको परिवारले स्वीकार नगरेर उनीमाथि मुद्दा लगाएको भन्दै विरोध भइरहेको छ ।


प्रभातलाई न्याय दिनुपर्ने भन्दै प्रतिनिधि सभादेखि गण्डकी प्रदेश सभा सदस्यले आवाज उठाइरहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा समेत एमाले सांसद गोविन्दबहादुर नेपालीले प्रभातलाई न्यायका लागि आवाज उठाए ।

पहिलोपटक प्रतिनिधि सभामा एक सांसदले घटनाको सत्यतथ्य छानबिन गरी प्रभातलाई न्याय दिन माग गरेकी थिइन् । उनले प्रेम सम्बन्धमा रहेका प्रभातलाई जातकै कारणले युवकविरुद्ध झुठा मुद्दा दर्ता गराएको घटनाप्रति खेद प्रकट गर्दै तत्काल सत्यतथ्य छानबिन गरी युवालाई रिहा गर्न गृह मन्त्रालयलाई ध्यानाकर्षण गराइन् ।


गण्डकी प्रदेश सभा सदस्य नन्दकला दमाई नेपालीले प्रभातविरुद्ध जातीय विभेद भएको भन्दै न्याय दिन सरकारलाई आग्रह गरेकी छन् । गण्डकी प्रदेश सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै नेपालीले प्रेम सम्बन्धलाई जातसँग जोडिएको भन्दै युवतीको परिवारले विभेद गरेको बताइन् ।


‘२ वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको र २ महिनादेखिसँगै बस्दै आएको अवस्थामा जुन युवतीको घर परिवारसँगको कुराकानीमा ललाइफकाई गरी घरमै आऊ हामी बिहे गरिदिन्छौं भनेर युवतीको घरपरिवारले बोलाएपछि उनीहरु घर नआइपुग्दै बैदान चौकीमा पुर्‍याइयो । त्यहाँ मिलापत्र गराइयो र परिवारको जिम्मा लगाइयो ।

अहिले उनीविरुद्ध ३ वटा मुद्दा परेको छ,’ उनले भनिन्, ‘नेपालको संविधानको जातीय विभेदविरुद्धको व्यवस्था र मौलिक हकसम्बन्धी व्यवस्था लागु गरी दोषीलाई कारबाही होस्, निर्दाेषलाई रिहाई गरियोस् ।’ यसअघि दमयन्ती रुचाल, गोविन्दबहादुर नेपाली, दिलमाया पौबीले पनि प्रदेश सभामा प्रभातलाई जातीय विभेद गरेको भन्दै न्याय दिन माग गरे ।


प्रेम सम्बन्धमा थिएन, जबरजस्ती भारत लगेको होः जाहेरवाला ४३,४०
परिवारको जिम्मा लगाएपछि पनि प्रभातले टर्चर दिएपछि उजुरी दिन बाध्य भएको युवती ४३, ४० बताएकी छिन् । ‘प्रहरी कार्यालयबाट परिवारको जिम्मा लगाएपछि पनि धेरै टर्चर दिन थाल्यो । कहिले फोटो सार्वजनिक गरिदिन्छु भन्ने, कहिले भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्की दिएपछि बाध्य भएर उजुरी दिएकी हुँ,’ उनले पोखराकै टेलिभिजन कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा भनेकी थिइन् ।


प्रभातसँग २ वर्षअघिदेखि चिनजान भएपछि कुनै समय पनि प्रेम सम्बन्धमा नरहेको जाहेरवाला युवतीको भनाइ छ । ‘ऊ (प्रभात) मिल्ने साथी थियो, उसँग कहिले पनि प्रेम सम्बन्ध थिएन, मेरो बारेमा नराम्रो कुराहरु गर्दै हिँडेपछि मैले उसँग भेटेकी थिएँ,’ उनले भनेकी छन्, ‘मेरो घर नजिकै आएपछि मलाई डर लाग्यो र म उसँग बाइकमा बसेर गएँ । बाटोमा चिया खान दिएको थियो, त्यसपछि केही थाहा भएन ।’


भारत जाँदासमेत आफूले केही थाहा नपाएको उनी बताउँछिन् । ‘भारत गएर पनि धेरै रोएँ, प्रभातको माइजुलाई सबै कुरा पनि सुनाएँ, उस (प्रभात) ले मेरो आइडीबाट मेरो घरमा कुरा गरेको रहेछ । अनि घरसँग कुरा भयो जाम् भनेपछि हामी नेपाल फर्किएका हौं,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया