मणिपालमा प्रहरीको अध्ययन भ्रमण

पोखरा ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्ट्राटेजिक कमान्ड एन्ड मेनेजमेन्ट (एससिएम) कार्यशाला अन्तर्गत प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको टोलीले पोखरा मणिपाल शिक्षण अस्पतालमा अध्ययन भ्रमण गरेका छन् ।
बिहीबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालको कार्यपद्धति, व्यवस्थापन, आगामी योजना र चुनौतीहरुबारे प्रहरीको उच्चस्तरीय टोलीले जानकारी लिएको हो । एससिएम अन्तर्गत प्रतिष्ठानले गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उत्कृष्ट सेवा र व्यवस्थापन रहेको संस्थाहरुमध्ये पोखराको मणिपाल शिक्षण अस्पताल छनोट गरेको थियो ।
मणिपालका निर्देशक डा. अभिषेक मास्केले उपस्थितहरुलाई स्वागत गर्दै एक्सपोजर भिजिट अन्तर्गत मणिपाल छनोट गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले श्रव्यदृश्य मार्फत अस्पतालको परिचयका अतिरिक्त रणनीतिक तथा नीतिगत योजना र त्यसको कार्यान्वयन, पोखरा मणिपाल शिक्षण अस्पतालबाट उपलब्ध हुने सेवाहरुको किसिम तथा विशेषज्ञहरु, सेवाग्राहीहरुको व्यवस्थापन तथा गुनासोहरुको व्यवस्थापनबारे जानकारी गराए ।
उनले संगठनात्मक, विकासका चुनौतीहरु, सामाजिक, राजनीतिक, प्रशासनिक तहको व्यवस्थापन, वित्तीय तथा वातावरणीय पक्षको व्यवस्थापन, स्थानीय सरकार तथा अन्य सम्बन्धित पक्षहरुसँग कसरी समन्वय र सद्भाव कायम गर्ने भन्ने विषयबारे समेत स्पष्ट पारे ।
कार्यक्रममा ६ जना प्रहरी नायब महानिरीक्षक र १० जना प्रहरी वरिष्ठ उपरीक्षहरु सहभागी थिए । कोर्स कोर्डिनेटर प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले स्ट्राटेजिक कोचिङ सेसनको प्रशिक्षण दिएकोमा अस्पतालका सिइओ अनिल ओडुविललाई कृतज्ञता व्यक्त गरे । अस्पताल सञ्चालक समितिका निर्देशक नारायणप्रसाद पौडेलले देशको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासहित धन्यवाद व्यक्त गरे ।
प्रतिष्ठानका तर्फबाट कोर्सका ओर्डिनेटर प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीको नेतृत्वमा २० जना सहभागी थिए । प्रहरी नायब महानिरीक्षक केसीले अस्पतालमा भौतिक रुपमै उपस्थित भएर अन्तत्र्रिmया गर्न पाउँदा नीतिगतसँगै व्यावहारिक ज्ञान हासिल गरेको उल्लेख गर्दै भ्रमण फलदायी भएको प्रतिक्रिया जनाए । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले मणिपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै अस्पताललाई मायाको चिनो प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया