नर्सको मनोबल बढाउन तालिम

समाधान संवाददाता २०८० जेठ २६ गते १५:५४

पोखरा ।
पोखराका नर्सहरुको मनोबल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा बिहीबार पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीले नर्सहरुका समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता विषय सहभागीले उठाएका थिए । अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा चासो नदेखाएको सहभागीको गुनासो छ ।

राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रका समस्या पहिचान गरी अनुगमन र उचित नीति, नियम कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेशाप्रति गलत टिप्पणी आइरहेको र उनीहरुको मनोबल गिर्न नदिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् ।

Advertisement

कार्यक्रमले अहिले नर्सका समस्या थाहा पाउन सहज भएको कार्यक्रमकी सहसंयोजक सरस्वती श्रेष्ठले बताइन् । समस्यामात्र खोजेर नहुने, त्यसको उचित समाधानतर्फ लाग्न उनले सुझाव दिइन् । कार्यक्रममा पोखराका विभिन्न नर्सिङ क्याम्पस र अस्पतालका ५० जनाको सहभागिता थियो । कार्यक्रममा विवेक रानाभाटले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया