प्रतीकलाई ‘खुमपार्वती कलासाहित्य पुरस्कार’

दमौली ।
तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि सुरु दुई दिने राष्ट्रिय साहित्य सम्मेलनको दोस्रो दिन शनिबार पोखराका कवि इन्द्र राना ‘प्रतीक’ ‘खुमपार्वती कलासाहित्य पुरस्कार–२०८०’बाट पुरस्कृत भएका छन् । विगत ३ दशकदेखि कविताकर्ममा संलग्न भई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएस्वरुप उनलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष सागर उदासले स्व. पिता खुमप्रसाद र माता पार्वतीका नाममा स्थापना गरेको पुरस्कार पहिलोपटक प्रतीकलाई प्रदान गरिएको हो । सम्मेलनका प्रमुख अतिथि साहित्यकार सरुभक्त र पुरस्कारका संस्थापक उदासकी माता पार्वतीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । हरेक वर्ष साहित्य, कला र संगीतका क्षेत्रमा काम गर्ने प्रतिभालाई सम्मान गरिने उदासले बताएका छन् ।
प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई पहिलो हुँदै ५५ हजार रुपैयाँ प्राप्त गरे
कार्यक्रममा मजदुर कवि प्रतीकको योगदानका विषयमा पत्रकार अमृत भादगाउँलेले चर्चा गरेका थिए । कवि प्रतीकको जीवनसंघर्ष र सृजना प्रेरणादायी भएको उनले बताए । ‘लोककवि अलिमियाँ, शिक्षासेवी जोर्ज जोन, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार सरुभक्तका नाउँले पनि पोखरा चिनिएको छ,’ उनले भने, ‘अब मजदुर कविका नाउँले पनि पोखरा चिनिनेछ ।’
पोखरामा कहिले सेती नदीका बालुवा चालेर, कहिले घरआँगनको रंगरोगन गरेर र कहिले गाउँघरका खेतबारीमा मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएका कवि प्रतीक अचेल पोखराकै विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन् । गत वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रम गरेर उनको योगदानको प्रशंसा गरेको थियो । त्यतिबेलै उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्णसँगै एकल वाचन कार्यक्रम गरिएको थियो ।
सम्मेलनको समापनका अवसरमा कविहरु भूपिन, चीनबहादुर कुमाल, गजलकार प्रदीप रोदनसहित धेरै कविले आआफ्ना कविता सुनाएका थिए । ‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने नारासहित सुरु सम्मेलनको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका थिए । मुलकभरिबाट प्राप्त दुई सय ३७ कविताबाट निर्णायक मण्डलले पुरस्कृत कविता छनोट गरेको हो ।
प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई पहिलो, संखुवासभाका कवि सिजन श्रेष्ठ दोस्रो, झापाका कवि केशव भट्टराई तेस्रो भए । उनीहरुलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो । अन्य ६ जना सान्त्वनास्वरुप जनही १० हजार रुपैयाँसहित सम्मानित भएका छन् । सान्त्वना पुरस्कार पाउनेमा तनहुँका प्रकाश रम्घाली, विराटनगरकी पूजा आराधना, रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, सिन्धुपाल्चोकका सुन्दर शिरीष र गोरखाका भरतबाबु ढकाल छन् ।
प्रतिष्ठानकी महासचिव अन्जु दाहालले रोचक ढंगमा सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा मुलुकका सातै प्रदेशका चर्चित कवि, लेखक तथा पत्रकारको सहभागिता भएको थियो। प्रतिष्ठानले यस अघि वि.सं. २०५३ फागुनमा पहिलो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो । ‘कविता कर्ममा लागेका युवाको उत्साह बढाउन र’, प्रतिष्ठानका अध्यक्ष सागर उदास भन्छन्, ‘साहित्यिक उन्नयन र साहित्यिक पर्यटन प्रवद्र्धन गर्न हामीले साहित्य सम्मेलन आयोजना गरेका हौं । सम्मेलन भव्यतापूर्वक सफल भएको छ ।’
तपाईको प्रतिक्रिया