दमौलीमा कविता प्रतियोगिता

समाधान संवाददाता २०८० जेठ २८ गते १२:२०

पोखरा ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम भएका छन् । सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय र झापाका केशव भट्टराई तृतीय बने ।

Advertisement


रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना ठहरिए । प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५५ हजार, ४० हजार २५ हजार नगद प्रदान गरिनेछ । सान्त्वना हुनेलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिइन् ।


साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो । कविता प्रतियोगितामा देशभरबाट २ सय ३७ कविता प्राप्त भएका थिए । दुई वर्षअगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।


सोही कार्यक्रममा गण्डकी वाङ्मय पुरस्कार २०७९ वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित १ लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो ।

Advertisement

पुरस्कारको राशि १० हजार छ ।


कार्यक्रमकै अवसरमा कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ । उक्त स्मारिका शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले सार्वजनिक गरे ।

तपाईको प्रतिक्रिया