सम्पादकीय: भाषाको पिरलो

समाधान संवाददाता २०८० जेठ २९ गते १२:००

नेपाली भाषा प्रयोगमा भइरहेका त्रुटिहरु बग्रेल्ती भेटिन्छन् । भाषामा त्रुटि गर्न कोहीभन्दा कोही कम नभएको प्रतीत हुन्छ । के सञ्चार माध्यम, के लेखक, के साहित्यकार, के शिक्षक, के सरकारी कार्यालय र के व्यवसायी जो पनि भाषामा त्रुटि गरिरहन्छन् ।

Advertisement

त्रुटिनिराकरणका उपायको खोजी पनि पटकपटक हुने गरेको छ । तर समाधान अझै निस्केको छैन । कतिपय सन्दर्भमा त भाषाविदहरुबिच नै विवाद छ । एक किसिमको अहम् पनि भाषाविदहरुमा छ । यसै सन्दर्भमा आइतबार पोखरामा आयोजित गोष्ठीमा निराकरणका उपाय खोजी गरियो ।

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले पोखरा महानगरपालिकाको समेत सहयोगमा आयोजना गरेको गोष्ठीमा मुलुककै वरिष्ठ भाषाविद्देखि सरोकारावाला सबै जुट्नु आफैमा ठूलो उपलब्धि थियो । त्यसमाथि विद्यार्थी, शिक्षक, प्राध्यापक, कलाकार, व्यवसायी र पत्रकारसम्मले धक फुकाएरै भाषामा आफूहरुले बेहोरेका अप्ठेराहरु राखे । समाधानका उपाय खोजी पनि गरे ।


नेपाली भाषालाई उन्नत बनाउनका लागि यसको मानक स्थापित गर्न जरुरी छ । विवादहरुकै कारण मानक स्थापित हुन सकेको छैन । शब्दको अर्थको नअर्थ हुन नदिन मानक चाहिन्छ । त्रुटिहरु हुन नदिन मानक चाहिन्छ । एकरुपताका लागि मानक चाहिन्छ । लेखाइमा स्तर कायम गर्न मानक चाहिन्छ । झन् सबैभन्दा महत्वपूर्ण कुरा त सही सञ्चारका लागि मानक भाषा चाहिन्छ । भाषाको काम सञ्चार हो, मानक भाषा हुँदामात्रै सबैतिर एकैनासको अर्थसहित सञ्चार सम्भव हुन्छ । शब्दकोशदेखि विश्वविद्यालयकै पाठ्यपुस्तकमा समेत बग्रेल्ती त्रुटि हुनु एक किसिमले लज्जाको विषय हो । हाम्रो भाषाको इज्जतमा धब्बा लाग्नु हो ।


भाषा जोगाउने दायित्व सरोकारवालाको पनि हुँदै हो, राज्यको झन् धेरै हो । तर हाम्रो राज्यले फिटिक्कै ध्यान पुर्‍याएको छैन ।

Advertisement

एउटा सरोकार पृना नेपाल विभागले राख्यो । उसलाई धन्यवाद । राज्यकै प्रतिनिधिका रुपमा पोखरा महानगरपालिकाले यस्ता सिर्जनशील कर्ममा सघायो । उसलाई पनि धन्यवाद । आखिर विकास भनेको भौतिक विकासमात्रै होइन । भाषाको विकास त झन् ठूलो विकास हो । संस्कृति र कलाको विकास साँचो समृद्धि हो । कला र संस्कृति जोगाउनचाहिँ पहिला भाषा नै जोगाउनुपर्छ । पहिचान उचो बनाउन पनि भाषा नै जोगिनुपर्छ । यो पिरलोको गाम्भीर्य सबैले बुझिदिए जाती हुन्थ्यो । तर एउटा अभियानचाहिँ पक्कै नेपाली भाषाका त्रुटि सच्च्याउन र मानक स्थापनाका लागि जरुरी छ ।

तपाईको प्रतिक्रिया