बदल्नैपर्ने चश्मा

दिनेश बस्नेत २०८० जेठ ३० गते १२:१५

बुबाको आत्माको शान्तिका लागि आज यो लेख लेख्न बाध्य छु । तर लेख कसरी अघि बढाऊँ र कहाँ गएर टुंगिएला भन्नेमा म दुविधामा छु । खैर, बुबाले पञ्चायती धरातलमा टेकेर राजनीति गर्नु भयो । आफ्नो जीवन समाजकै लागि राजनीति गरेर नै गुजार्नु भयो । अहिलेका कांग्रेस, कम्यूनिष्ट र अन्य वादी कार्यकर्ताले जसरी, अर्थात् अधिकांश पञ्चले जसरी बुवाले लुटपाटमा विश्वास गर्नु भएन । बरु आफ्नै पुर्खाैली जायजेथा सक्नुभयो । बुवा राजनीतिमा हालको मूल्यांकनमा २५ करोड जति अचल सम्पत्ति बेच्नु भयो होला ।

Advertisement


आजकल हामी (बहिनी, आमा र म) कहिलेकाही कुरा गर्छाै–हाम्रो बुवाले राजनीति नगरिकन सानो जागिर खाको भए, हाम्रो त्यत्रो जग्गा बच्थ्यो होला है ।’ आमा भन्नुहुन्छ, ‘आफ्नो भोगभागका कुरा हुन्, अब फुत्केको माछो ठूलो देखेर केही काम छैन । नातिहरुले केही गर्लान् नि ।’


वास्तवमै, बुवाले इमान र निष्ठाको राजनीति गर्नु भयो । गैह्रबाटो नअपनाई जीवनयापन गर्नु भयो । राष्ट्रको मात्र होइन, व्यक्तिको पनि दुई पैसा लालचा राखेको थाह पाइनँ । मैले भन्नु भन्दा बुवालाई पहिले देखि बुझेका उहाँका दौतरीले पनि उहाँको बानी बेहोराको त्यस्तै त्यस्तै बयान गर्छन्, त्यस्तै त्यस्तै भावको गुनगान गाउँछन् ।


मैले एउटा घटनामा थाहा पाएको बुवालाई मैले यतिसम्म इमान्दार पाए कि जुन घटना आज मेरो लागि एउटा आदर्श, एउटा चेतना र एउटा संस्कार बनेको छ । त्यो कस्तो घटना भने हाम्रो सानो पाटननिर घर थियो । वि.सं. २०४३ सालमा एउटा घटना घट्यो । हाम्रो घरमा चोरी भयो । भकारो साह्रेझैं भान्छा कोठाका सबै भाडाकुँडा हराए । एकाबिहानै आमा उठेर डाको छोडेर रुदै भन्नुभयो, ‘चिम्टा र ढुंग्री मात्र बाँकी राखेछन् । असती मुर्दारहरुले सबै चोेरेर लगेछन् । खोला पारीका चोर त हुँदै होइनन्, जानेबुझेकै चोर हुन् ।’ बुवाले सम्झाउँदै भन्नुभयो, ‘रोएर केही फाइदा छैन । नरो, कस्ले चोरेको रहिच, पत्ता लाग्ला क्यारे नि । ’

गाडीमा सयर गर्ने नवधनाढ्य कम्युनिस्टहरु सर्वहारा, तरकारी बेचेर जीविका चलाउने हाम्रो परिवार पञ्चायत पृष्ठभूमि भएकै कारण सामान्त ? समाजको ऐना पूर्वाग्रही छ

Advertisement


यद्यपि गाउँले, आफन्तको सल्लाह बमोजिम बुवाले चौकीमा निवेदन दिनु भयो । प्रहरी खोज तलास गर्दै थियो । संयोगवश, महेन्द्रपुलको भाडा पसलमा हाम्री ठूलीआमा दूध बेच्न जाँदा चोरी भएको गाग्री देख्नु भएछ । हतार हतार आउँदा एउटा चप्पल भलाम खोलाले बगाएछ । एउटा चप्पल के लाउनु, अर्काे चप्पल पनि त्यही फालेर घरमा आउनु भएछ र बुवालाई भाडा पसलमा गाग्री देखिएको कुरा भन्नुभएछ ।


तब बुवा दुई, चार जना आफन्त लिएर बुवा चौकीमा जानु भयो । भाँडा पसलेलाई चौकीमा बोलावट भयो । ‘चोरेको सामान किन्ने पनि चोरीको दायरामा पर्छन् । अर्थात् मतियारमा पर्छन् । तर पोखराका रैथाने व्यापारी तिनको प्रहरी प्रशासनमा राम्रै पहुँच र हिमचिम रहेछ । उनलाई कारबाही भएन । जो चोरेर खान्छ, उसको डकार र हुँकार ठूलो हुन्छ भने झै उसले बुवालाई नराम्ररी थर्कायो । एक त गाउँको मान्छे । अर्काे दाजुभाइका आधारमा बलमद्दत नभएको एक्लो मान्छे । यद्यपि बुवा न त कायलनामा हुनु भयो, न त स्वाभिमान झुकाउनु भयो ।


त्यति बेला जिविस सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ सरासर तत्कालीन अञ्चलाधीश नगेन्द्रकुमार चौधरी कहाँ गएर आफ्नो गुनासो पोख्नु भयो । त्यसपछि तुरुन्त रोकिएको कारबाही अगाडि बढ्यो, ती नेवारथरका भाँडा पसले चौकीमा थुनिए । अनि मिल्ने प्रस्ताव आयो । थुनामुक्त हुनलाई अर्थात् मिल्नलाई लेखनाथको जग्गा दिन सक्ने, जति पैसामा मिल्ने शर्त राखे पनि दिन तयार भए । ताकि तिनीहरु जेलसजाय मुक्त हुनमात्र चाहन्थे, जस्तो सुकै सम्झौता गरेर भए पनि ।


तर बुवाले भने कुनै छुच्याई र धुत्याई गर्नु भएन । एउटा लिस्ट दिँदै भन्नु भयो, ‘मेरा यति भाँडा चोरी भएका हुन्, मलाई तपाईको पसलबाट यिनै यिनै भाडा दिए पनि दिनोस्, या त साविकको मूल्य बराबरको रकम दिए पनि दिनोस् ।’ ती पसले खुसी हुँदै तत्काल जोडजाड गरेर ४ हजार ५ सय दिए । मेलमिलाप भयो, अनि ती व्यापारी जेल मुक्त भए ।


त्यो बेला बुवाले आफ्नो इमान, धर्म छाडेका भए सो चोरिएको भाँडाकुडाभन्दा १० औं गुना रकम लिन सक्नु हुन्थ्यो । तर बुबाले चाहिँ चाेरीको भन्दा एक पैसो बढी लिनु भएन, निस्वार्थ भाव र इमान्दारिता अनुरुप आफ्नो आचरण, साख कायम राख्नु भयो ।

बुवा अरुजस्तो पञ्च भएको भए के गर्नु हुन्थ्यो ? सायद अहिलेका कांग्रेस कम्युनिस्ट नेता भएका भए पनि त्यसो गर्नु हुन्थ्यो । तर विडम्बना ! दरिद्र मानसिकताको उपज । कलुषित भावनाको उपज । मैले बुझ्ने बेलादेखि गाँउघरतिर केहीले बुवालाई शोषक सामन्त भनिरहे । बाचुञ्जेल भनिरहे, त्यसो भन्नेमा प्रायशः कम्युनिस्ठ थिए ।


आज बुवा बितेको ३ वर्ष भयो । अझ बुवालाई सामन्त भन्न छाडेको छैनन । बूढापाकाले मान्छे मर्नुलाई बही बुझाउनु भन्छन् ।

मरेपछि नि नछाड्ने बुवाले के त्यस्तो उपरचट्ट गल्ती गर्नु भएको रहेछ ? मरेपछि पनि मिनाहा नहुने के खाइदिएको रहेछन् यो समाजको ? अनि के कस्तो दुश्मनी रहेछ हाम्रा बुवासँग यिनको ? होइन गाँठे साहै्र खेदे ।


के पञ्च भएकै कारणले हाम्रा बुवा सामन्त भएका हुन त ! त्यस्तै अनुभूति हिजो दोहोरियो । जति बेला बाटोमा जग्गासम्बन्धी सानो विवाद हुँदा एक जना कार्की थरका व्यक्तिले बडो आश्चर्यजनक र खेदजनक तवरले भने, ‘तेरा बा का के कुरा गर्नु, ती सामन्तका ।’


म आक्रोशमा आए । सायदै उठ्ने रिस बेस्मारी उठ्यो । त्यति बेला मैले पञ्च, भलाद्मी मानेर लगेका मेरा कम्युनिस्ट आफन्तले भने, ‘तिम्लाई भनेका होइनन्, बालाई भनेको कुरामा त्यति आवेशमा आउनु पर्दैन ।’ ममाथि झन् अर्काे प्रहार भयो । दुवै जनालाई भुक्याउन मन लाग्यो । चिथोर्न, कोपर्न मन लाग्यो । रिस मत्थर भएपछि लाग्यो, ‘यी फुपाजु कहिले हाम्रा भएनन् । बुबाभित्रको सत्य र इमान्दारी कहिल्यै देखेनन् । केवल आफूभित्र कम्युनिस्ट र बुबाभित्र पञ्च, त्यसपछि राप्रपामात्र देखे । लगभग अर्बपति तर सर्वहाराका नेता उहाँ, हामी तरकारी बेचेर गुजारा टार्दै गरेकालाई सामन्त भन्ने ? अनि त्यो खाले बुझाई राख्दा, अनि बुवाको मान, प्रतिष्ठामा आँच आउँदा र एउटा छोराले प्रतिकार गर्दा त्यस्तो खाले अभिव्यक्ति दिनु आफैंमा हास्यास्पद हो ।


खै, कसरी मन समालूँ ? मलाई अझसम्म त्यसैले (सामन्त शब्दले) गाजेको छ । चिथोरेको छ । पटक पटक मानसपटलमा आउँछ कसरी हाम्रो बुवा सामन्त भए ? हाम्रा बुवा घण्टौको सडक बाटो हिडेर कहिले जिप्रका, कहिले जिविस र कहिले पार्टी अफिस पुग्नु हुन्थ्यो । बुवाका अधिकांश साथी आफ्नै गाडीमा गुड्थे, गुड्छन् । त्यतिमात्र होइन, बुवाले कहिल्यै जाडरक्सी खाएको थाहा पाइनँ । अनि चुरोट, खैनी, सूर्ती, अनि रेन्टुरेन्टमा बसेर पकुरचक्की लाएको पनि मैले कहिल्यै देखिनँ ।


बुवा सबै इष्टमित्र, गाउँले र आफन्तसँग सहभाव राख्न रुचाउनु हुन्थ्यो । (पार्टी अफिस नजाँदा या कुनै काम नभएको बेला) प्रायशः बारीमा काम गर्नु हुन्थ्यो । तरकारी फलाउनु हुन्थ्यो । आमा तरकारी बेच्नु हुन्थ्यो । अझै बेच्नु हुन्छ । आमा भन्नुहुन्छ, ‘पैसा रुखमा फल्दैन । माटोमा फल्छ ।’ नढाटी भन्दा तरकारी व्यवसायबाट घर चलेको छ । अहिले कान्छो छोरा न्युजिल्यान्ड गएपछि व्यवहार चलाउन अलि सजिलो भएको छ । अझ यसो भनौ, नून पानी खान अलि सजिलो भएको छ ।


अचम्म लाग्छ, आज हामी सामन्तको परिवार रे । त्यो पनि कस्ले अनुमोदन गर्ने भने जो हाम्री आमाको डोकाको तरकारी किनेर खाने नवधनाढ्य कम्युनिस्टहरु छन्, तिनले । यो कस्तो भाष्य हो । सामन्ती शब्द कस्ताका लागि सुहाउँछ ? के पञ्चायत इतर राजनीति गरेकै कारणले, राप्रपा भएकै कारणले कोही सामन्त हुन्छ ? माटोमा माट्टिएर तरकारी बेचेर जीविकोपार्जन गर्नेको परिवार कसरी सामन्ती हुन सक्छ ?


सोच्दा सोच्दै यस्तो लाग्छ, यदि हाम्रो बुवा झापामा जन्मेको भए बुवाको टाउको काटिन्थ्यो होला । जसरी बुटन चौधरी, कर्णबहादुर गौतम, धनबहादुर बस्नेत, धर्मप्रसाद ढकाल आदिको काटियो । अनि आज जसरी हामी सामन्तको परिवार नै कहलिन्थ्यौ होला । पञ्चायत पृष्ठभूमिको राजतीतिमा लागेकै कारण सबैलाई सामन्ती देख्ने चस्मा बदल्नैपर्छ ।

तपाईको प्रतिक्रिया