
जोमसोम ।
महिला सशक्तीकरण तथा बाँच्नका लागि संघर्षको कथा समेट्दै ५ भाषामा वृतचित्र बन्ने भएको छ । नेपालका स्थापित फिल्मकर्मी प्रमोद लामिछानेको सोल अफ नेपाल फिल्मले ‘आवाजः महिला सशक्तीकरण र बाँच्नका लागि संघष’ अर्थात् (द अनसाइलेन्स्ड्ः वुमेन्स् इम्पावरमेन्ट एन्ड द ब्याटल फर सभाइबल) नामक वृतचित्र निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा रहेका ४ जना महिलाको जीवन भोगाई र संघर्षमय कथालाई मुख्य विषयवस्तु बनाएर वेन फिल्म्को ब्यानरमा बन्ने वृतचित्र छायांकन भइरहेको छ । यसमा हलिउडकर्मी मिलेना श्वागर र अनामिका अर्यालको सहलगानी रहनेछ भने वृतचित्रको निर्देशन/निर्मातामा प्रमोद लामिछाने र टोसिट घताने छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रदर्शन गर्ने उद्देश्यसहित शून्य क्षमताबाट माथि उठेर घर, परिवार, व्यवसाय र समाजमा स्थापित ४ महिलाको कथा पर्दामा ल्याउन लागिएृको हो । यो वृत्तचित्र ५ वटा भाषामा बन्ने निर्माता प्रमोद लामिछानेले जानकारी दिए ।
प्रमोद लामिछाने नेतृत्वको समूहले ४ महिलाको संघर्ष र सफलताको कथामा ५ भाषामा वृत्तचित्र बनाउँदै छ
वृतचित्र नेपाली, अंग्रेजी, जापानीज, कोरियन, थाइ र स्पेनीस भाषामा बन्नेछ । फरक फरक विधाका फरक फरक क्षेत्रमा महिला सशक्तीकरण तथा बाँच्नका लागि संघर्ष गरिरहेकाको कथा वृतचित्रमा समेटिनेछ । वृतचित्रको लागत १ करोड हाराहारीमा हुने अनुमान छ ।
वृतचित्रमा महिलाले के गर्न सक्छन्, महिलालाई अनेक दुःख र चुनौती छन्, घरपरिवार पाल्नेदेखि समाज र राष्ट्रका लागि उनीहरुको योगदान समेटिने छन् । यसले विश्वभरका महिलालाई ऊर्जावान् बन्न सन्देश प्रवाह गर्ने निर्माता लामिछानेले दाबी गरे ।
चलचित्र क्षेत्र, वैदेशिक रोजगार, श्रम संघर्ष र विभिन्न महिला आरोह अवरोधका कथालाई वृतचित्रमा समेट्ने प्रयास गरिएको छ ।
पुरातनवादी युगदेखि अहिलेको युगमा महिलाले भोगेका समस्या, सास्तीसँगै अहिले महिलाले पाएको सफलता, शिक्षा, प्रगति र समाजमा रुपान्तरित महिलाको कथालाई पर्दामा देखाउने निर्माताको तयारी छ । कलिउडदेखि हलिउड र बलिउडसम्म वृत्तचित पुर्याउने योजना निर्माता लामिछाने सुनाए । वृतचित्रमा काठमाडौं उपत्यका बाहिरका महिलाको कथालाई समेटिनेछ ।
यसमा हिमाली जिल्लाका एक सफल महिला उद्यमीको कथा समावेश हुने भएको छ । यसका लागि निर्माता लामिछानेसहितको टोलीले जेठ २२ देखि २७ गतेसम्म ५ दिन बसेर छायांकन सकेको हो । वृतचित्रमा सुकुनको उद्योग, गाउँपालिका कार्यालय, जनप्रतिनिधिसँग अन्तरक्रिया र सुकुनसंगको संवाद छायांकन भइसकेका छन् ।
मुस्ताङकी स्थापित महिला सुकुन रसाइलीको मुस्ताङको घरपझोङ २ मार्फामा मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्र उद्योग छ । उनी उद्योगमामात्र होइन, विभिन्न महिला सशक्तीकरणका लागि संघ, संस्थामा नेतृत्वदायी भूमिकामा छिन् । आर्थिक अवस्थाका कारण विदेशिएका श्रीमान्लाई स्वदेश फर्काएर उद्योग, व्यवसाय सञ्चालन गर्दे आएकी सुकुनको जीवन हिमाली उपआयोजनाको अनुदानले फेरिएको हो ।
इच्छाशक्ति, स्पष्ट वत्ता र महिलाको उत्थानमा समर्पित सुकुनको बाल्यकाल, विद्यार्थी काल, वैवाहिक सम्वन्धपछिको जीवन, होटल र व्यवसायमा भोग्दै आएका दुःखकष्ट,चुनौती र अवसरलाई वृतचित्रमा समेट्ने प्रयास गरिएको छ ।
होटल र उद्योगका माध्यमबाट स्थानीय उत्पादनको बजार प्रर्वद्धन, बजारीकरण र पर्यटन प्रर्वद्धनमा योगदान गर्दै आएकी रसाइली दर्जनौ राष्ट्रिय र स्थानीय पुरस्कारबाट सम्मानीत भइसकेकी छन् । झन्डै डेढ घण्टाको वृतचित्रमा सुकुनको कथा करिब २५ मिनेटको रहने निर्माता कम्पनीले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया