सम्पादकीय: अघोषित लोडसेडिङको मार

देशभर विद्युत व्यापार गर्ने एकल अधिकार पाएको नेपाल विद्युत प्राधिकरण भन्छः हालै भारतसँग वंगलादेशमा बिजुली व्यापारका लागि ऐतिहासिक सम्झौता भयो । जलस्रोतको ठूलो सम्भावना रहेको देशले छिमेकमा व्यापारको माध्यम खोज्नु, सम्झौता गर्नु निश्चय नै राम्रो कुरा हो । अहिले हिउँदमा पनि थोरै परिणामा आयात बिजुली किन्नुपर्ने आवश्यकता छ भने वर्खामा ठूलो परिणामा बिजुली बेच्न सकिने परिस्थिति छ ।
नेपालका अधिकांश विद्युत् परियोजना रन द रिभरमा आधारित रहेकाले सुख्खा याममा नदीको पानी कम हुँदै जाँदा विद्युत् उत्पादन त्यही अनुपातमा घट्छ । वर्खामा आउने भारी वर्षात र बाढीले प्रभावित बनाउँछ । हिउँदमा कम हुने बिजुली भारतबाट किन्ने गरिएको छ । अहिले चाहिने जति उत्पादन बिजुली हुँदाहुँदै पनि प्रचण्ड गर्मीका बेला घरीघरी विद्युत् आपूर्ति अवरोध भइरहेको छ । बारम्बार हुने लोडसेडिङले धेरैलाई पिरोल्न थालेको छ ।
यसो हुनुमा विद्युत् आपूर्तिभन्दा वितरण प्रणालीमा कमजोरी देखिन्छ । बिजुली उपभोक्ताको घरघरसम्म पुर्याउने प्रक्रिया नै वितरण प्रणाली हो । विद्युत् भोल्टेजको आकार अनुसार बिजुलीका पोल, तार, ट्रान्सफर्मर हुन आवश्यक छ । अन्यथा आपूर्तिमा व्यवधान हुन्छ । पुरानै बिजुलीका तार, पोल तथा ट्रान्सफर्मर प्रयोग भइरहेका छन् । सहरीकरणका कारण उपभोक्ता बढिरहेका छन् । खपत वृद्धि भएसँगै ट्रान्सफर्मरमा भार बढेको छ । हामीकहाँ विद्यमान ट्रान्सफर्मरले धान्न सक्नेभन्दा बढी विद्युत् तान्न थालियो भने ट्रान्सफर्मर जल्छ । केही ठाउँमा जलेको पनि देखिन्छ । कमजोर पोल, छेउछाउमा रहेका रुखका कारण पनि विद्युतमा अवरोध भइरहेको देखिन्छ । हावाहुरी, ठूलो वर्षातले पनि यसलाई प्रभावित बनाएको देखिन्छ ।
गर्मी महिनामा एसी, पंखा, फ्रिजलगायतका उपकरण प्रयोग हुन्छन् । यस्ता उपकरण विद्यमान ट्रान्सफर्मरले धान्न सक्दैन, तारले त्यति मात्रामा विद्युत् लोड सहन सक्दैन । अनेक कारणले वितरण प्रणालीमा गडबडी हुन्छ, त्यसैलाई हामी अघोषित लोडसेडिङ भनिरहेका छौं । यसलाई रोक्नु हामी सबैको दायित्व हो । बिजुलीको पैसा तिर्दैमा हाम्रो दायित्व सकिँदैन । पोलहरु ढल्न लागेका भए खबर गर्ने, चुहावट भए जानकारी दिने दायित्व पनि हाम्रै हो ।
बिजुलीको व्यापरा गर्ने विद्युत् प्राधिकरणले उपभोक्ताको हित र निरन्तर सेवा दिन लाग्नुपर्छ । प्राधिकरण घाटा हुँदा, उत्पादन थोरै हुँदा उपभोक्ताले लामो समयको लोडसेडिङ पनि सहेका थिए । अहिले सीमापारि व्यापार गर्ने तर देशमै लोडसेडिङ हुने अवस्था राम्रो होइन । नयाँ, उपकरणको व्यवस्था, पोलहरुको उचित व्यवस्थापन, ट्रान्सफर्मरको जोहो, माग बढे अनुसार आपूर्तिको व्यवस्थामा प्राधिकारणले ध्यान दिनैपर्छ ।
तपाईको प्रतिक्रिया