अपराध न्यूनीकरणमा सामाजिक दायित्व

अपराध एउटा सामाजिक चरित्र हो । अपराधबाट कुनै पनि समाज मुक्त छैन, चाहे त्यो समाज अति विकसित होस वा अविकसित नै किन नहोस् । अपराध समाजभित्रै हुने हुँदा यसलाई समाजकै केही व्यक्ति तथा अन्य अवयवहरुले मलजल गरिरहेको हुन्छन् । त्यसमा पनि विभिन्न विकृति विसंगति लगायत समाजमा भित्रिएको छाडापन, अस्थिर राजनीति आदिका कारण समाज अशिष्ट, अभद्र र मर्यादाविहीन बन्दै गइरहेको परिप्रेक्षमा अपराध र अपराधिक गतिविधि बढ्नु स्वाभाविक हुन सक्छ । यसैको सेरोफेरोमा दैनिकजसोका घटनाहरुलाई हेर्दा समाजका हरेक व्यक्ति, व्यवसाय, संघसंस्था नै अपराधको कुनै न कुनै तहको संलग्नताका साथसाथै सिकार पनि भइरहेका छन् ।
वृद्ध नागरिक, महिला तथा बालबालिकादेखि व्यापार व्यवसाय लगायत विभिन्न पेशामा संलग्न व्यक्तिहरु पीडित बनेका उदाहरण धेरै छन् । जहाँ अपराधको उठान नै सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र राजनीतिक आवरणभित्रबाट हुने गरेका छन् ।
यौनजन्य हिंसादेखि जघन्य प्रकारका अपराधहरुको शृंखला दैनिक रुपमा समाचार बन्दै आएका छन् । तसर्थ अपराध कुनै एक विषयमा नभई हत्या, हिंसा, बलात्कार, विभेददेखि भ्रष्टचारसम्मका घटनाहरुले हाम्रो समाज र हामी कुन धरातलमा उभिएका छौँ भन्नेबारेमा द्विविधा राख्नु परेन । यस्ता घटनाका पीडितहरुको गुनासो, न्याय जस्ता आधारभूत पक्षहरुका विषयमा भइरहेका निर्णयहरु कति सार्थक बने र पीडितले न्याय पाउने कुरामा कति कामयावी भए भन्ने विषयले नै अपराध घट्ने र बढ्ने कुरालाई निर्धारण गर्छ ।
कालोलाई कालो र सेतोलाई सेतो नै हो भन्न नसक्ने दृष्टिकोणका बिचमा न्याय अन्यायमा परेको छ
यी र यस्ता गम्भीर प्रश्नहरुका बिच कानुन कार्यान्वयन गर्ने निकायमा रहेको नेपाल प्रहरी सदैव अपराध न्यूनीकरण, नियन्त्रण, निरुपण र पीडितको न्यायका निम्ति अहोरात्र खटिरहेको छ । प्रहरीले आफ्नो सम्बन्ध र समन्वयलाई समाज केन्द्रित पनि गरेको छ । यति हुदाहुँदै पनि समाजको विद्यमान संरचना विभिन्न खेमा र राजनीतिक चक्रमा विभक्त हुँदा समाजमा रहने व्यक्ति समेत त्यसैको घेराभित्र बाधिन बाध्य छन् ।
कालोलाई कालो र सेतोलाई सेतो नै हो भन्न नसक्ने दृष्टिकोणका बिचमा न्याय अन्यायमा परेको छ । कुनै व्यक्तिले कानुनको बर्खिलाप गरिरहँदा, आफ्नो हुँदा सही र अर्को हुँदा गलत व्याख्या तथा वकालत गर्नु नै आजको मुख्य समस्या हो । हामीले बुझेको, देखेको समाज त औँचोपैँचो, मर्दाको मलामी, ज्यूँदाको जन्ती, आपद विपदमा मुठिदान गरी छिमेकीको सहयोग र सद्भावमा देखिन्थ्यो । आज त समाज नै अमूक–अमूक किसिमको प्रवृत्ति, वाद, सिन्डिकेड, भ्रष्टाचार आदिको सिकार भइरहेको तथ्यहरुले देखाउँछ ।
यस्तो किन भयो भन्ने विषयमा करनी र कथनी एउटा हुन सक्छ तर यथार्थमा को र कसबाट अनि कहाँबाट भए भन्ने निक्र्याेल गर्ने बेला आएको छ । अपराधकै कारण समाजको गतिमा अवरोध मात्रै होइन कि वितृष्णा र घृणाको चाङ थुप्रिएको छ र विश्वास मरेको छ । अविश्वासको खाडलमा सुस्ताउँदै गरेको समाजको धिमा गति सही बाटो चुम्न कठिन भएकोले नै पंक्तिकार लेख्न बाध्य भएको छ ।
आज दैनिक रुपमा सुनिने समाचारहरु सबै प्रायोजित हुन सक्दैनन् र हँुदैनन पनि । सात वर्षको बालिका बलात्कार, शिक्षकबाट विद्यार्थीमाथि यौन दुव्र्यवहार, हजुरबुबाले नातिनी, बाबुले छोरीको बलात्कार, गाउँकी चेली बेचिइन्, आश्रमका गुरू यौन दुव्र्यवहारमा, छोराले आमाको हत्या, श्रीमतीबाट श्रीमानको हत्या, नक्कली विवाह गरी लोग्नेको हत्या, इन्स्युरेन्समा ठगी, वैदेशिक रोजगारको नाममा करोडौको ठगी आशंकामा मानिस पक्राउ, नक्कली सामाजिक ब्यक्तिहरु भ्रष्टचारमा, बिसौं वर्षदेखि बजेट, कुलोबाट खेतमा पानी आउँदैन, बिना सडकमा पक्की पुल, बाटो छैन, सुधारकेन्द्र बेग्रेल्ती खुले, युवाहरु लागू औषध दुव्र्यसनमा, गरिबीका कारण एकै घरका ४ जनाद्वारा आत्महत्या जस्ता घटनाहरुको फेहरिस्त लामो र कहालीलाग्दो छ ।
तर त्यसको निरुपण, निदान, समाधान र निरुत्साहनमा हामी समाजमा बस्नेहरु कति सक्रिय हुन सक्यौ ? प्रश्न गम्भीर छ । यी यावत घटनामा कोही न कोही व्यक्ति पीडित छ तर पीडितलाई उस्को पीडासँग एकाकार भई सहयोग गर्ने ब्यक्ति भन्दा उसको पीडामा अझ नुनखुर्सानी दल्ने हाम्रो सामाजिक संस्कारले सकारात्मक भन्दा नकारात्मक बन्नेतर्फ धकेलिरहेको पाइन्छ । राजा जनक, सीता, भृकुटी, वृद्ध, वेदव्यासको जन्मस्थानदेखि प्रवर हिमवत खण्ड नेपालको पवित्र भूमि यति धेरै अपराधको चंगुलमा किन पुग्यो, विश्लेषण जरुरी छ ।
अपराध र अपराधिक गतिविधि नियन्त्रण गर्ने क्रममा भोगिएका बिषयबस्तुहरु धेरै बाँकी छन् । विनाकारण र कुनै अमूक समूहको स्वार्थ सिद्धिका निमित्त अस्पतालमा रहेको लास बोकी सडकमा प्रर्दशन गर्दै गरेको भिडबाट खाएका ढुंगा र बोतलका चोटमा मल्हमपट्टी लगाउन नभ्याउँदै तिनै ब्यक्ति प्रहरी कार्यालयमा सर मेरो घरमा चोरी भयो भन्दै आउँदा पनि विवेक र व्यवहारमा आवेग र कुण्ठा नवोक्ने प्रहरी समाज भित्रकै एउटा सामाजिक र न्यायिक संयन्त्र हो भन्न सकिएन भने समाजको प्रगति हुन सक्दैन ।
समाजमा घटने यावत घटनाको निष्पक्ष र तथ्यपरक अनुसन्धान गर्नु प्रहरीको दायित्व र कर्तव्य हो । सत्य निरुपण गर्ने काम समाजमा बस्ने हरेक नागरिकसँगसँगै राज्यको दानापानी खाएको राष्ट्रसेवक प्रहरीको पनि हो । गुनासो कहाँनेर हो भने समाजले प्रगति खोजेको छ, विकास व्यवहार र संस्कारमा उन्नति खोजेको छ भने हामी अपराधलाई किन काखी च्याप्ने, तेरो मेरो किन भन्ने ? अपराध त अपराध नै हो, प्रवृत्ति हो, संस्कार पनि हुनसक्छ ।
हामीले संस्कार बदल्न सकेनौ, व्यवहारमा परिवर्तन ल्याउन सकेनांै, आचरण सुधार गर्न सकेनौं, विचारमा शून्यता आयो, नैतिकता हराउँदै गयो । यी कुराहरुलाई समाजले गहन ढंगले सोची परिवर्तन गराउनेतर्फ लाग्दा अपराध र आपराधिक गतिविधिमा कमी हुन सक्छ । मै लाऊँ मै खाऊँ भन्ने एकलकाँटे सोचले समाजको चरित्रलाई समेत भ्रष्टीकरण गर्छ । समाजकै सदस्यहरु बिच एकले अर्काप्रति गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा ईष्याभाव, उब्जने कुत्सित मनोभावनाले अपराधलाई संकेत गर्छ ।
तसर्थ यस्ता प्रवृत्ति, संस्कार, रीतिरिवाज, भावनालाई परिवर्तन गर्दै सम्मुन्नत समाज निर्माण गर्नेतर्फ लाग्दा सबैको हित र कल्याण हुन्छ । अबको समाजलाई सही दिशामा हिँडाउन नेतृत्व नै सजग र निष्पक्ष हुनु पर्छ । जुनसुकै क्षेत्रको नेतृत्व होस त्यो नेतृत्व सही र गलतको मूल्यांकनको कसीमा हुने हुँदा ऊ जनमुखी र जनउत्तरदायी हुनु जरुरी छ । नेतृत्वको भूमिकाले समाजको भावना सोच र आकंक्षामा परिवर्तन ल्याउन मद्दत गर्छ । गलत मानसिकता, सोच र व्यवहारले सुरक्षा चुनौतीलाई थप जटिल बनाउँछ ।
विवाद, संकीर्णता र क्षणिक स्वार्थबाट प्रेरित सोच जहिले पनि नकारात्मक काम प्रति प्रेरित हुन्छ, त्यसैले न्यायको तराजुले देखाउने तल माथिको तथ्य आदिम सत्य हो । यही सत्यमा टेकेर न्याय सम्पादन हुन्छ भन्नेमा समाज विश्वस्त हुनु पर्दछ र समाजले पनि त्यही पदचिन्हलाई लिन सक्यो भने अपराधका घटनाहरुमा कमी हुन आउदछ । ‘ॐ सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाःसर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत्’ अस्तु ।
प्रहरी उपरीक्षक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत छन्
तपाईको प्रतिक्रिया