पालिका पुरूष भलिबल प्रतियोगितामा अन्नपूर्ण च्याम्पियन

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ्रे गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता माछापुच्छ«ेले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो ।
महानगरको टिमले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन र कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । अन्नपूर्णकै मन्दीप परियार उत्कृष्ट सेटर र आकाश धमाल उत्कृष्ट ब्लकर बनेको महानगर भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए ।
माछापुच्छ«ेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर र पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर बने । अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले नगद ५/५ हजार रूपैयाँसहित प्रमाणपत्र पुरस्कार दिइएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका २–२ र माछापुच्छ्रे गाउँपालिकाको १ गरी ९ टिम सहभागी थिए ।
तपाईको प्रतिक्रिया