ज्येष्ठ नागरिक बोझ होइनन्

समाधान संवाददाता २०८० असार १ गते १२:०१

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पूरा गरेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनेको छ । नेपालमा औषत आयुमा सुधारसँगै मुलुकमा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ । ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिसँगै उनीहरुलाई गरिने दुव्र्यवहार पनि बढ्दो अवस्थामा छ । राष्ट्रिय समावेशी आयोगले गरेको ‘ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानुनी व्यवस्था, त्यसको कार्यान्वयनको अवस्थासम्बन्धी अनुसन्धान प्रतिवेदन २०७८ मा ज्येष्ठ नागरिकहरू अपहेलित हुने क्रम बढेको देखाएको छ ।

Advertisement


ज्येष्ठ नागरिक माथि गरिने दुव्र्यवहार रोक्न सचेतना दिवस मनाइरहँदा सरकारी निकायले ज्येष्ठ नागरिकहरूलाई गरिने अवहेलना अन्त्य गर्न ठोस योजना ल्याउन सकेको छैन । सेवा संरक्षण र अवसर उपलब्ध गराउने क्रममा वैज्ञानिक पद्धतिको सुरुवात गर्न गरिएको छैन । परम्परागत ढंगले दया, माया र सेवाको भावले मात्र सेवा प्रदान गर्ने प्रचलन कायमै छ ।

छोराछोरीलाई जिम्मेवार बनाउनेदेखि सानो छँदा हुर्काईबढाई गरेका आमाबाबुलाई बेवास्ता गर्ने प्रवृत्ति रोक्न र ज्येष्ठ नागरिकको संरक्षण गर्न सबै कर्मचारीले अनिवार्य रुपमा आफ्नो कमाइको १० प्रतिशत रकम ६० वर्ष नाघेका आमाबाबुलाई दिनुपर्ने व्यवस्था घोषणामै सिमित छ ।


नेपालको सामाजिक मूल्य, मान्यता पश्चिमा मुलुकमा जस्तो नभएकाले वृद्धाश्रममात्रै विकल्प हुन सक्दैन, सरकारी नीतिले यो यथार्थलाई पनि हृदयंगम गर्नुपर्छ । छोराछोरी बाटो लागेपछि र साथीहरू छुटेपछि एक्लै पर्ने र ज्येष्ठ नागरिकलाई सहयोगी हात र भावनात्मक साथ दुबैको खाँचो हुन्छ । उनीहरूलाई समकक्षी मानिसहरूसित जमघट र भलाकुसारी गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारले वडा–वडामा मिलन केन्द्र बनाउनु पर्छ । उनीहरूका यस्ता भेटघाट तथा कुराकानी, अनुभव, ज्ञान तथा सीपलाई अभिलेखीकरण गरी पुस्तान्तरण गर्नु उचित हुन्छ ।


सरकारले पालिका, वडामा ज्येष्ठ नागरिकको गुनासो सुन्ने प्रहरी वा प्रशासनिक डेस्क राख्न जरुरी छ । सामाजिक सुरक्षाको मोडलमै पुनर्विचार पनि गर्नुपर्ने खाँचो छ । ९० वर्षभन्दा माथिका र शारीरिक रूपमा अशक्त अरू ज्येष्ठ नागरिकका लागि सरकारले स्याहारसुसारकै व्यवस्था मिलाउनुपर्छ । सरकारी कार्यसूचीमा हरेक ठाउँमा अस्पताल खोल्ने विषय पर्छन्, तर बूढापाकाको शारीरिक तथा मानसिक स्वास्थ्य तथा उपचारका निम्ति देशमा छुट्टै ‘जेरियट्रिक अस्पताल’ छैन । विशेष डाक्टर–नर्सको व्यवस्थासहित यस्तो अस्पताल खोल्न सरकारले ध्यान दिन जरुरी छ । र, तोकिएका स्वास्थ्य संस्थाहरूमा पनि उनीहरूका निम्ति विशेष सहुलियत हुनुपर्छ । सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुटको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नु पर्छ ।

Advertisement


आगामी दिनमा देशमा ज्येष्ठ नागरिकको संख्या झन्झन् बढ्दै जाने अवस्था छ । युवा तथा उत्पादन क्षेत्रमा योगदान गर्ने उमेर समूहको जनसंख्या घट्ने र केही दशकमै आश्रित जनसंख्या बढी हुँदै जानुले सामाजिक सुरक्षाका योजनालाई अझै व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक छ  । त्यसैले आजैदेखि यो उमेर समूहको संरक्षणका लागि यथोचित योजना, कार्यक्रमअघि सार्नुपर्छ । यसका निम्ति यति बेला नीति निर्माणमा संलग्नहरूले ‘भोलिका हामी पनि ज्येष्ठ नागरिक’ भन्ने सम्झनुपर्छ ।

तपाईको प्रतिक्रिया