दक्षिण एसियामै पहिलोपटक ड्रागन बोट रेस फेस्टिभल पोखरामा हुँदै
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा ।
दक्षिण एसियामै पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल पोखरामा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा असार ८ र ९ गते पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुन लागेको हो ।
कार्यक्रममा सहभागिताका लागि चीनको सिजी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर्ड उडानबाट पोखरा आउने तयारी गरेको छ । सिजी नगरसँग पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध समेत छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिताका विजेताका लागि ३० लाख रुपैयाँको पुरस्कार राखिएको छ ।
चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने अनुमति पाएको छ । ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।
चिनियाँ ड्रागन बोटको दौड महोत्सव विश्वका ५० भन्दा बढी देशमा हुने गरेको जानकारी चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ जिनले यस प्रकारको बोट फेस्टिभल ५० भन्दा वा देश तथा क्षेत्रमा आयोजना गर्दै आइरहेको जानकारी दिए । उनकै भनाइमा यस्ता डुंगाको चलनको इतिहास चीनमा २ हजार वर्ष पुरानो हो ।
दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रका सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
रेसका लागि चीनवाटै नेपालको केरुङ नाका हुँदै ८ वटा विशेष खालका बोट अन्य आवश्यक सामग्री पोखरा ल्याइसकिएको छ । चीनबाट आएका प्रशिक्षकले पोखराका प्रतियोगिताका लागि ड्रागन बोटको अभ्यास गराएका छन् । ‘परीक्षण सफल भइसकेको छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भने ।
यो फेस्टिभलमा नेपालका सातवटै प्रदेश र चीनका गरी १२० जना प्रतियोगिहरु सहभागी हुनेछन् । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटकलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर २५का अध्यक्षसमेत रहेका प्रवक्ता मोतीलाल तिमिल्सिनाले पर्यटन प्रवद्र्धनमा ड्रागन बोट रेस फेस्टिभल कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुइटा सेगमेन्टमा ८ वटा बोट दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया