
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकाको आन्तरिक विवाद ज्यूका त्यू छ । थासाङमा एमाले र कांग्रेसका जनप्रतिनिधिबीचको वैमनस्य चुलिँदै गएको हो ।
संघीयतापछिको दोस्रो स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष बितिसक्दासमेत विवाद समाधानको मार्ग देखिएको छैन । स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार अघिल्लो कार्यकालमा भर्ना गरिएका करारका ३२ कर्मचारीलाई राजनीतिक पूर्वाग्रह राखेर हटाएको आरोप कांग्रेस पक्षधर जनप्रनिधिको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने अघिल्लो कार्यकालमा करारमा भर्ना गरिएका कर्मचारी भर्ना एकलौटी, असन्तुलित र अनावश्यक आर्थिक भार पर्ने दाबी गरेका छन् । बजेट विकास योजनामा लगाउन र गाउँपालिकालाई मितव्ययी बनाउन करारका कर्मचारीको म्याद थप नगरेको एमाले पक्षधर जनप्रतिनिधिको तर्क छ ।
थासाङमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गत आर्थिक वर्षको असारमा ठूलो संख्यामा अघिल्लो कार्यकालका करारका कर्मचारी कटौती गरिएको थियो । त्यस बेला संघ, प्रदेश र स्थानीय तहको स्रोतबाट भर्ना गरिएका ३२ करारका कर्मचारीको म्याद थप रोक्का गरिएको थियो ।
नयाँ जनप्रतिनिधि आउनेबित्तिकै म्याद थप नगरी हटाएका कर्मचारीको बिषयलाई लिएर थासाङमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रुष्ट छन् । करारका कर्मचारी हटाइएको एक वर्ष नपुग्दै थासाङले २६ जेठमा करारमा कर्मचारी भर्ना गर्न सूचना प्रकाशन गर्यो । ३२ जेठ मा लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षा लिने सूचना प्रकाशित भएको थियो । सो सूचनामा गाउँपालिका अध्यक्ष प्रदीप गौचनको हस्ताक्षर थियो ।
गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्था र कार्यालयका लागि भनेर १५ कार्यालय सहयोगी, २ एम्बुलेन्स चालक र पालिकाको सवारी चलाउने चालक गरी १७ करारका कर्मचारी भर्ना प्रक्रियाअघि बढाएको थियो ।
करार दरबन्दीमा आवेदन दिएका ५१ जना लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिन तोकिएको दिन जेठ ३२ गते बिहिबार गाउँपालिका कार्यालय पुगे । बिहान १० बजेबाट ३ बजेसम्म समय निर्धारण गरिएको परीक्षा एमालेका कार्यपालिका सदस्य उपस्थित भएप नि कांग्रेसका कार्यपालिका सदस्य पालिकामा नआएपछि तत्कालका लागि स्थगित भन्दै सूचना गरिएको टाँस गरियो ।
परीक्षा दिन पुगेकाहरु परीक्षा नभएपछि आक्रोशित बने । उनीहरुले जनतालाई झुक्याउने काम भएको भन्दै आपत्ति जनाए ।
थासाङमा गाउँपालिकामा एमाले र कांग्रेसका जनप्रतिनिधिबीच टकराव हुँदा गाउँपालिकाका कतिपय विकासका काम र नियमित कार्यसम्पादन प्रभावित बनेका छन् । थासाङमा एमालेबाट अध्यक्षसहित ८ सदस्य कार्यपालिकामा छन् । कांग्रेसबाट उपाध्यक्षसहित ५ वडाध्यक्ष कार्यपालिका सदस्य छन् । मुस्ताङका ४ पालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी गरिरहँदा थासाङ गाउँपालिका भने आन्तरिक विवादमा फसेको हो ।
४ पालिकाले आफ्नै भव्य प्रशासकीय भवन बनाइसकेका छन् भने थासाङले समाजघर भाडामा लिएर कार्यालय चलाएको छ ।
करारमा कर्मचारी भर्ना आह्वान गरिएको सूचना तत्काल कार्यान्वयन हुने अवस्था देखिँदैन । करारका कर्मचारीको नियुक्तिको बिषयमा थासाङका अध्यक्ष प्रदीप गौचनले सहमति खोज्न कर्मचारी नियुक्ति प्रक्रिया तत्काल स्थगन गर्नु परेको बताए ।
‘हामीसँग बहुमत कार्यपालिका सदस्य छन्, निर्णय गर्न कांग्रेस पक्षधर जनप्रतिनिधि नहुँदा पनि सकिन्थ्यो,’ अध्यक्ष गौचनले भने, ‘समन्वय, सहकार्य र मिलेर जाने हाम्रो चाहना हो, सहमति गरेर अघि बढ्नुको अरु विकल्प छैन ।’
उनले करारका कर्मचारी भर्ना गर्ने सहमति यसअघि नै भइसकेको जिकिर गरे । ‘हामीले कार्यपालिकामा लिखित निर्णय गरेनौं, सबै मौखिकमा सहमति भएको हो,’ उनी भन्छन्, ‘पटक पटक वार्ता ग¥यौं, कोही आए, कोही आएनन्, कांग्रेसका उपाध्यक्ष सोमल हिराचनसँग परीक्षाको अघिल्लो दिन अन्तिम सहमति भइसकेको थियो, खै किन हो, उहाँहरु आउनु भएन ।’
अध्यक्ष गौचनले अघिल्लो कार्यकालमा भर्ना गरिएका करारका कर्मचारी एकलौटी ढंगले नियुक्ति गरिएकाले यसलाई सन्तुलित बनाउनमात्र खोजेको तर्क गरे । यता, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नगेन्द्र शेरचनले स्थानीय तह सञ्चालन ऐन २०७४ को नियम विपरीत कर्मचारी भर्ना गर्ने प्रक्रियाअघि बढाइएको आरोप लगाए । वडाध्यक्ष शेरचनले जनप्रतिनिधि आफैंले कर्मचारी भर्ना गर्न खोज्नु नियम र कानुन विपरीत हुने उल्लेख गरे ।
‘कर्मचारी भर्ना गर्ने अधिकार प्रशासकीय अधिकृतको हस्ताक्षर, सहमति र रोहबरमा हुन्छ,’ उनले भने, ‘कर्मचारीलाई प्रभावित पार्न पाइँदैन, कर्मचारीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ ।’
उनले पालिका अध्यक्षले बिना कारण राजनीतिक पूर्वाग्रह लिएर अघिल्लो कार्यकालका करारका कर्मचारीको म्याद नथपी हटाएको उल्लेख गरे । सहमति र सहकार्य खोज्नका लागि अध्यक्षले अघिल्लो कार्यकालमा नियुझ भएका तर बिना कारण हटाइएका कर्मचारीको बिषय र स्थानीय तह सञ्चालन ऐनको मापदण्ड विपरीत नयाँ करारका कर्मचारी भर्ना गर्ने सूचनाबारे स्पष्टिकरण दिनुपर्ने उनको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया