छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधि

समाधान संवाददाता २०८० असार ५ गते ११:४३

पोखरा ।
पोखरामा भएको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सकिएको छ । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि विजयी भए ।

Advertisement


पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउन्डेसन र किडासाको सहयोगमा कार्यक्रम भएको हो । पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।


पहिला ब्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रनमात्रै बनाउन सक्यो । जनप्रियका प्रतीक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल गर्‍यो । त्रिभुवनका करण यादवले २५ रन हाने ।


छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्‍यो । पहिला ब्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङले १५ रन जोडे ।


जितका लागि ८० रनको लक्ष्यसहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल गर्‍यो ।

Advertisement

बाराहीका कमला बुढाले १३ र सफलता भुजेलले ५ रन बनाए ।


प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव बेस्ट ब्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेस्ट बलर भए । छात्रातर्फ सिद्धका रचना चौधरी बेस्ट ब्याटर तथा सिद्धकै सुसिला तामाङ बेस्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडलसहित प्रमाण पत्र पाए ।


नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधि सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवर लगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।

तपाईको प्रतिक्रिया