सम्पादकीय: राइड सेयरिङ दर्ता र नियमन गर

समाधान संवाददाता २०८० असार ५ गते १२:००

राइड सेयरिङ सेवा नेपालमा भित्रिएको छोटो समयमै लोकप्रिय बनेको छ । नेपालमा सर्वप्रथम टुटलले २०७३ देखि सेवा सुरु गरेको थियो । टुटलपछि नेपालमा करिब एक दर्जन राइड सेयरिङ सेवा दिने एप्लिकेसन आएका छन् । राजधानी काठमाडौं सहित पोखरामा पनि राइड सेयरिङ लोकप्रिय बन्दै छ । गण्डकी सरकारले राइड सेयरिङलाई दर्ता गर्ने भएको छ ।

Advertisement

सरकारले राइड सेयरिङ कम्पनी खोल्न चाहिने शर्त, पुँजीसहित अन्य व्यवस्थासमेत बजेटमा प्रस्ताव गरेको छ । विश्वका थुप्रै मुलुकमा उबरले राइड सेयरिङमा अत्यधिक ख्याति कमाएको छ । पोखरामै राइड सेयरिङ एप इनड्राइभले दिन प्रतिदिन लोकप्रियता आर्जन गरिरहेको छ ।

गण्डकी सरकारले राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने तयारी गरेपछि ट्याक्सी व्यवसायी भने विरोधमा छन् । निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङ सेवा दिने मान्यता नदिन ट्याक्सी व्यवसायीले माग गरेका छन् । यो सेवा चल्दा ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजीरोटी खोसिने तर्क गरेका छन् ।


गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमा राइड सेयरिङलाई मान्यता दिने उल्लेख छ । यो सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि यातायात मन्त्रालयले बनाउनेछ । संघमा पनि यसलाई मान्यता दिने गरी कार्यविधि बन्दै छ । अहिलेसम्म राइड सेयरिङहरु कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि सार्वजनिक यातायात सेवा दिने कानुनी मान्यता पाएका छैनन् ।

कानुनी मान्यता नपाउँदा बेला बेलामा यो सेवामा सरकारले कडाइसमेत गर्दै आएको थियो, ट्याक्सी व्यवसायीले यो सेवा दिनेहरुमाथि भौतिक आक्रमणसमेत गरेका घटना छन् । राइड सेयरिङमा एप्सको सहारामा जहाँबाट पनि अर्डर गर्न सकिन्छ ।

Advertisement

यो भाडा ट्याक्सीको भन्दा निकै सस्तो पर्छ । यसमा आबद्ध भएर अस्थायी सेवा दिन चाहनेको संख्या बढेकोबढ्यै छ । कुनै मोटरसाइकल भएको विद्यार्थीले फुर्सदको समयमा् सेवा दिएर दैनिक तेल या खाजा खर्च सजिलै कमाउन सक्छ । विज्ञान तथा प्रविधि प्रयोगले हिजो अस्तित्वमै नभएका नयाँ सेवा र उद्यम थपिँदै छन् । तिनलाई व्यवस्थित गर्न कानुनमा समयानुकूल परिवर्तन जरुरी छ । पोखराको सार्वजनिक यातायात भरपर्दाे छैन ।

सहरका मुख्यमा भागबाहेक भित्री बाटोमा विरलै सार्वजनिक गाडी पाइन्छन् । बिहान, बेलुका ती क्षेत्रमा गाडी पाइँदैन भने हुन्छ, मुख्य बजारमा पनि बिहान र बेलुका गाडी कम चल्छन् । सार्वजनिक सवारी प्रभावकारी नहुँदा निजी सवारी किन्नैपर्ने वाध्यतामा रहेकाहरुलाई यो सेवाले राहत दिनेछ । यस्तै पोखरा घुम्न आउनेहरुलाई पनि यो सेवा उपयोगी देखिएको छ । विश्वमै लोकप्रिय बन्दै गएको राइड सेयरिङ रोक्न सम्भव छैन, रोक्नु हुँदैन । यसलाई दर्ता गरी कानुनी दायरमा ल्याएर बिमा, सुरक्षा, तालिम, जनचेतना र व्यावसायिक बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया