गीता सबैको साझा ग्रन्थ

दुर्गा न्यौपाने २०८० असार ६ गते १२:१९

गीताले मान्छेलाई उद्धार गर्ने कुरामा पूरा विश्वस्त भएपछि गीता अध्ययन प्रतिष्ठान नेपालले एक दिन कास्की कारागार प्रमुख भिमराज कोईरालालाई भेट्यो । कास्की कारागारमा ७ सय २३ जना कैदी, यो सानो संख्या होइन । यसैबाट थाहा पाउन सकिन्छ, समाजका गतिविधि । लाग्यो, उनीहरुको जेल बसाई सार्थक बनाउन र समयको उपयोग गराई जीवन र जगतका बारेमा जानकारी गराउन पाए बाँकी जीवन सुधार हुन सक्छ । गीताको ज्ञानले परिवर्तन हुन्छ । गीता कुनै धर्म सम्प्रदायको ग्रन्थ पनि त होइन । यो त मानवीय उद्धारको लागि निर्मित जीवन दर्शन हो ।

Advertisement


आग्रह अस्वीकृत हुँदैन भन्ने विश्वास थियो । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य लगायत वडा परिवारले उत्साहजनक रुपमा सहयोगको हात बढाउनुभयो । तर जेलरलाई भेट्न जाँदा उहाँको धारणा सोचे जस्तो पाईएन । अझै आशा मरेको थिएन ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेज्यूको अनुमतिको आश बाँकी नै थियो । जेलरले सिडिओको अनुमतिको आग्रह गर्नुभयो । लिने प्रयास ग¥यौँ । तर उहाँबाट पनि पाइएन । उहाँले भन्नुभयो, संविधानको धर्म निरपेक्षताले रोक्यो हामीलाई ।

व्यक्तिगत रुपमा म पाठक हुँ तर यहाँबाट अनुमति दिन सक्दिनँ, बरु पुस्तकालयमा गीता राखिदिन सक्नुहुुन्छ ।’ हामी निराश भएर फक्र्यौँ । बन्दी गृहका बन्दी, कैदीलाई गीता सुनाउने योजना सकियो । राज्यले गीता चिनेन । महिमा बुझेन । कार्यक्रम गर्न नपाएको भन्दा बढी दुःखी राज्यको नीतिले बनायो ।

भौतिक विकासले सुख दिए पनि खुुसी दिनै सक्दैन । मान्छेसँग अथाह कुण्ठा भरिएको छ ।

Advertisement


हाम्रै गण्डकी प्रदेशकै व्यासमा जन्मिएका वेद व्यासले १८ पुराण लेखे । पुराणमात्रै लेखेनन्, श्रीमद्भगवद् गीता पनि लेखे । त्यो गरिमालाई हामीले महत्व दिन सकिएको छैन । हाम्रो देशको माटो पनि कति पवित्र छ, वर्णन गरेरै सकिँदैन । माटोकै चन्दन लगाए पनि पवित्र बन्न सकिन्छ । यही कुरा हाम्रा शाषक, प्रशासकले बुझेनन् ।


कुरुक्षेत्रमा धर्मयुद्धको पृष्ठभूमिमा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको दिव्य उपदेश हो, गीता । अर्को शब्दमा भगवानले गाएको गीत हो, गीता । कौरव र पाण्डव बीचको धर्म युद्धमा महाभारतको भीष्मपर्वको अंग हो । गीतामा योगका २ किसिमका परिभाषा पाइन्छ । एक निवृत्ति मार्गको दृष्टिकोणबाट जसमा समत्वं योग उच्यते भनिएको छ अर्थात् गुणहरुको वैषम्यमा साम्यभाव राख्नु नै योग हो । सांख्यको स्थिति यही हो । अर्को परिभाषामा, योगः कर्मसु कौशलम् अर्थात् कर्ममा लागिरहे पनि यस्तो उपायबाट कर्म गर्नु कि त्यो बन्धनको कारण नबनोस् र कर्म गर्नेहरु आफूलाई आशक्तिमा नराखून् । यही विधिको नाम बुद्धियोग हो । यही नै गीताको योग सार हो ।


पाश्चात्य जगतको विश्व साहित्यमा कुनै पनि ग्रन्थ गीता जत्ति उद्धरित छैन । गीताको ज्ञान अथाह सागर हो । मानव जीवनको प्रकाश पुञ्ज अथवा दर्शन हो । शोक र करुणाबाट निवृत्त हुने सम्यक मार्ग हो । यो एउटा ऐतिहासिक साहित्यिक साक्ष्यका साथै समाज शास्त्र र विज्ञान पनि हो । यसमा यो लोक र परलोक दुबैको बारेमा चेतना जगाउने आध्यात्मिकता छ ।


आजको दुनियाँमा धर्मभन्दा बढी मानव जीवनप्रतिको दृष्टिकोण फेरिदै छ । दक्षिण एसियाका देशहरुमा मात्रै होइन, विश्वका विकसित देशमा पनि गीताको महिमा बढ्दै गएको छ । विश्वका २१ वटा क्रिस्चियन र मुस्लिम मुलुकमा गीतालाई विद्यालय र महाविद्यालयका पाठ्यक्रमा राखिएको छ । कही यो प्रार्थना गर्दा नै गीताका श्लोक गाउने गरिन्छ । यसमा न धर्मको विभेद, छ न त जातको । न यसमा कुनै लिंग विशेषको भेदभाव छ न कुनै वर्ग वा सम्प्रदाय विशेषको ।


त्यसैले यो दिन प्रतिदिन भौतिक युगका युवाका लागि अमृत बाणीभन्दा कम छैन । समाजमा बढ्दो निराशा, क्रोध, स्वार्थ, अकर्मण्यता, अल्छी, अस्वस्थ प्रतिस्पर्धाको यो समयमा गीता नै सबैको शक्ति हो । गीतामा धर्म शब्दको प्रयोग आत्म स्वभाव एवं जीव स्वभावका लागि प्रयोग भएको छ । यसैलाई नै धर्म र अधर्म भनेर बुझ्न सकिन्छ ।


श्रीमद्भगवद्गीता मानवताकोसंविधान हो । गीता यस्तो धर्मको सार हो, जसलाई वैदिक धर्म भनिन्छ । जसमा प्राणी मात्रको लागि आनन्दमय र शान्तिपूर्ण जीवनको दर्शन छ । यो विवेकरुपी वृक्षको अपूर्व बगैँचा हो । सुखको कलम हो । सिद्धान्त रत्नको भण्डार हो । नव रसरुपी अमृतले भरिएको समुद्र हो । सबै विद्याको मूल भूमि हो । आध्यात्मिक सत्यको सुन्दर पुष्प गुच्छा हो ।

यो एउटा आचरण शास्त्र पनि हो ।


संसारका ठूला ठूला व्यक्तित्वले गीताको साधनाबाट उचाई छोएका छन् । जस्तैः महान वैज्ञानिक अल्बर्ट आइन्स्टिन भन्नुहुन्थ्यो, ‘गीता पढेर मलाई थाहा भयो कि यो दुनियाँको निर्माण कसरी भयो ।’ त्यस्तै, महात्मा गान्धी भन्नुहुन्थ्यो, ‘जब मलाई केही समस्या पथ्र्याे तब म गीताको पाना पल्टाउँथेँ र जुन पेज पल्टिए पनि समाधान भेट्थेँ । गीता एउटा धर्म ग्रन्थको पुस्तक नभएर एक जीवन शैली हो, जुन हरेक उमेरका व्यक्तिहरुको लागि बेग्लै संदेश र हरेक सभ्यताको लागि बेग्लै अर्थ बुझाउँछ । त्यसैले गीतालाई एउटा कुनै धर्म वा सम्प्रदायको भनेर बुझ्नु मूर्खता सिवाय केही हुँदैन ।


हरेक युगमा मान्छेको अगाडि कुरुक्षेत्र जस्तै परिस्थिति आइरहन्छन् । त्यसका लागि डटेर सामना गर्नु र जीवनसँग हार नखानु नै हरेकको धर्म हो । सत्यको मार्गमा हिँडेर धर्म युद्ध लड्नु सामान्य कुरा हुँदै होइन । मानव मात्रको लागि कसरी घर, परिवार, समाज, देश र विदेशमा आफ्नो धर्म युद्धमा विजयी हुने भन्ने मार्गदर्शन यसैबाट प्राप्त हुन्छ । साथै, यहाँ हरेक जीव अर्जुन हो ।

उसलाई जीवन युद्ध लड्न सजिलो छैन । जीवन युद्धमा विजय हाँसिल गर्न र कर्म प्रतिफलको सिद्धान्त बुझ्नका लागि गीता अध्ययन गर्न जरुरी छ ।


भौतिकताको विकास जुन गतिमा बढेको छ, ठीक त्यही गतिमा मान्छेका चिन्ता, द्वेष, क्लेष, विषाद, कलह जस्ता मानवीय समस्या दिनदिनै बढ्दै छन् । जुनसुकै अवस्था र ठाउँको मान्छे पनि सुखी छैन । खुसी र आनन्द मृगतृष्णा जस्तै भएको छ । सुखी हुनु भनेको खुसी हुनु कदापि हैन । हरेक मान्छे खुसीको खोजीमा छ । आनन्द पाउन दगुरेको छ । ती दगुराईमा कैयौँ दुर्घटना भएका छन् । अनि मान्छे उठ्नै नसक्ने गरी भासिएको देखिन्छ । दलदलमा फँस्छ । उच्च महोत्वाकांक्षी बनेर जीवन र मृत्यूको दोसाँधमा पुग्छ । पैसाको चरम लोभमा फँसेर विभिन्न अपराध गर्छ ।


भौतिक सुख प्राप्तिका लागि झुट, असत्य, घाँटी रेट्ने प्रतिस्पर्धा बढेकै छन् । अन्यायलाई प्रश्रय, न्यायको दमन जस्ता कुकृत्य यत्रतत्र सर्वत्र छन् । पापाचार, भ्रष्टाचार, दुराचार जस्ता क्रियाकलाप जुन मानवताका लागि निषिद्ध गरिएका छन् । त्यस्तै कार्य गर्छ मान्छे । यस्ता प्रवृत्ति बढ्नुमा ज्ञानको कमी हो । भौतिक विकासले मान्छे खुसी हुने भए मानसिक रोगी बढ्ने थिएनन् । तर त्यसो भएको छैन । कोही मान्छे कसैसँग सन्तुष्ट छैनन् । खुसी छैनन् । राजनीतिले सिकाएको अधिकार मात्रै बुझ्छन् सबै, कर्तव्य बिर्सदैँछन् ।


देशका सार्वजनिक पद धारण गर्ने विभिन्न ओहदाका व्यक्तित्वलाई गीता ज्ञान हुन जरुरी छ । गीता ज्ञानको विस्तार विश्वभरि फैलिरहेको अवस्थामा हाम्रोमा नै गौण छ । बत्तिमुनि अँध्यारो छ । क्रिस्चियन र मुस्लिम मुलुकका विद्यालयमा गीता पढाइन्छ तर हाम्रा प्रशासक, नीति निर्माताहरु मौन छन् । समाजलाई सभ्य र मान्छेलाई अनुशासनको पाठ सिकाउने एकमात्र ग्रन्थ गीता हो ।

यो कुनै धर्म र सम्प्रदायसँग सम्बन्धित नभएकोले सबै वर्ग र समुदायका मान्छेले यसको अध्ययन गर्न मिल्छ । त्यो भन्दा पहिला सार्वजनिक पद धारण गरेका व्यक्तिले यसको अध्ययनलाई अनिवार्य बनाउनै पर्दछ । लोकसेवाको पाठ्यक्रममा समेत यसलाई समावेश गरिनुपर्ने देखिएको छ । विभिन्न तहमा यसको छलफल र बहस हुनुपर्दछ । अनि मात्र मान्छेले कर्तव्य सिक्छ । होइन भने मान्छेले घर बढारेको फोहर अर्काको अगाडि फालिरहन्छ । ठूलाले सानालाई थिचिरहन्छ । सीमा मिचिरहन्छ । आफू हाँस्नका लागि अरुलाई रुवाइरहन्छ ।

नातावाद, आफ्नो अर्काको विकराल अवस्था अझै बढ्दै जानेछ । गृह कलहका साथै समाजमा बिग्रह आउनेछ । शिक्षा, भौतिक विकासका लागि मात्रै हुनु हुँदैन । यसले त विवेक र मानवताको पनि विकास गर्नुपर्छ । भौतिक विकासले सुख दिए पनि खुुसी दिनै सक्दैन । मान्छेसँग अथाह कुण्ठा भरिएको छ । कुण्ठासँगै उत्पन्न विचारले कसैको भलो हुँदैन । यही प्रवृत्ति समाजमा छरपष्ट छ । यसको निराकरण गीताले मात्र गर्छ । मानव सभ्यताको एकमात्र मानव ग्रन्थ गीता हो । यसको अध्ययन हरेक उमेरको मान्छेले गर्न जरुरी छ । चाहे बच्चा हुन् वा वृद्ध । परिणामत समाजमा शान्ति, सुव्यवस्था कायम गर्नमा सघाउँछ ।

मान्छेका अथाह चिन्ता र विषाद कम गराउँछ । समाज आध्यात्मिक बन्छ । यो उत्प्रेरणाको एउटा महत्वपूर्ण साधन हो । त्यसैले पनि भन्न सकिन्छ, यो कुनै धर्म शास्त्र नभई एउटा मानव शास्त्र हो । सबै धर्मको आधार र साझा ग्रन्थ हो । जसले यो अध्ययन गरेको छैन, त्यसले मात्र यसलाई हिन्दूको ठान्छ । योभन्दा मूर्खता अर्को केही हुनै सक्दैन । अमेरिका, बेलायत, जर्मनी जस्ता देशले पनि गीताको अवलम्बन गरिसकेका छन् । यद्यपि, हाम्रोमा अझै कुण्ठित र साँघुरो सोच बनिरहनु नेपालकै दुर्भाग्य हो ।

तपाईको प्रतिक्रिया