हीरामोती उत्खनन् गर्ने लुटेरालाई जस्तो व्यवहार भयोः क्रसर व्यवसायी

पोखरा ।
मापदण्ड पालना गर्ने हो भने नेपालभित्र कतै पनि क्रसर उद्योग खोल्नै नसकिने व्यवसायीले बताएका छन् । गण्डकी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले मापदण्ड अव्यावहारिक भएको बताए ।
‘राजमार्ग, मठमन्दिर, नदीनाला, वनजंगल र बस्तीभन्दा धेरै टाढामात्रै क्रसर उद्योग खोल्ने भनिएको छ,’ उनले भने, ‘त्यस्तो ठाउँ कहाँ छ नेपालमा ? आकाशमा त खोल्ने होइन होला ।’ वातावरण विभागले सरोकारवालाहरुसँग बुधबार पोखरामा राखेको अन्तक्र्रियामा अरु क्रसर व्यवसायीले आफ्ना पीडाहरु ओकलेका थिए ।
भीमादका जनप्रतिनिधिसमेत रहेका क्रसर व्यवसायी श्यामसुन्दर जोशीले राष्ट्रिय परियोजनाका नाममा भने सरकारी आयोजनाले नदीनालाभित्रै बकेट हालेर काम गरिरहेको सुनाए । ‘कोत्रेदेखि आँबुखैरेनीसम्म हेर्दै जानोस्, नदीमै बकेट हालेको देखिन्छ, पुलको नजिकै,’ उनले भने, ‘तर हामीलाई भने हीरामोती उत्खनन् गर्ने लुटेराजस्तो व्यवहार भइरहेको छ ।’
जोशीले व्यवसायीहरु अहिले ठूलो मारमा परिरहेको सुनाए । ‘कि त आत्मदाह गर्नप¥यो, के गर्ने जग्गा बेच्यौं, बिक्दैन, बैंकले ताकेता गरिरहन्छ,’ उनले भने ।
अध्यक्ष त्रिपाठीले पनि नयाँ सिडिओ, नयाँ एसपी वा सरकारी कार्यालयका नयाँ हाकिम आउने बित्तिकै आफूहरुलाई बोलाउने र तर्साउने गरिएको सुनाए । उनले पनि राष्ट्रिय परियोजना र निजी क्षेत्रका व्यवसायीमाथि विभेद भइरहेको बताए । उनले सरकारी निकायको अनुगमन फितलो रहेको र बदमासी गर्नेले गरिरहेको र असल मनसायले काम गर्नेहरुलाई सधैं अप्ठेरो परिरहेको सुनाए । ‘कास्कीमै रासायनिक मल प्रशोधन उद्योग खोलेको भनेर क्रसर चलाइएको छ, तर कसले हेर्ने हो ?’ उनले सोधे ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले कृषिका फर्मदेखि उद्योगधन्दा खाली ठाउँमा खोल्दासमेत पछि बस्ती विस्तार भई त्यही बस्तीबाट दुख पाइने गरेको सुनाए । ‘पहिला खाली ठाउँमै फर्म खोलिन्छ, उद्योग खोलिन्छ, पछि त्यही उद्योगका कारण बस्ती विस्तार हुन्छ,’ उनले भने, ‘अति त्यही उद्योगले प्रदूषण ग¥यो भनेर गुनासो आउँछ ।’
होटल व्यवसायीहरुले समेत वातावरणका नियम कानुन अव्यावहारिक भएको सुनाए । होटल संघ गण्डकी अध्यक्ष हरि शर्मा गैरेले वातावरण मूल्यांकन सम्बन्धी मापदण्डको जानकारी दर्ता गर्ने बेलामै दिनुपर्ने खाँचो औंल्याए । ‘हामीले कुनकुन आतंक पचाउने हो ? महामारीको आतंक भयो, वित्तीय संस्थाको आतंक छ, फेरि वातावरणको आतंक ?’ उनले भने ।
हान पोखराका उपाध्यक्ष गणेश पहारीले पनि २५ देखि ५० बेड क्षमताका होटलका लागि पनि वातावरण प्रभाव अध्ययन अव्यावहारिक भएको सुनाए । ‘परिवारले चलाइरहेका होटल छन्,’ उनले भने, ‘कतिथरी कुराको गर्ने हो ?’ वातावरण प्रभाव मूल्यांकनका लागि पोखरामै कन्सलटेन्टसमेत अभाव रहेको उनको भनाइ थियो ।
वातावरण विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरणको मुद्दा विश्वव्यापी भएको हुँदा यसलाई साझा मुद्दाका रुपमा लिनुपर्ने बताए । ‘सरकार, व्यवसायी सबै मिलेर वातावरणका मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने, ‘मापदण्ड सुधार गर्दा अझै अगाडि बढ्ने गरी सुधार गर्नुपर्छ, पछाडि फर्कनु हुँदैन ।’
कार्यक्रममा विभागका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, उद्योग सविच कुमन सिंह गुरुङ, वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्ट, वन निर्देशक रामकाजी श्रेष्ठ, वातावरण विभागका सिडिके शंकरप्रसाद पौडेल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनील शाही, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, विभागका समीक्षा वस्ती र रविन शाक्य लगायतले बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया