मालिका गाउँपालिकाले घरेलु रक्सी ‘ब्रान्डिङ’ गर्ने
म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सी ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको १३ औं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
अध्यक्ष गर्बुजाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कोदो, जौ, उवा, जंगली फलफूल चुत्रे, ऐसेलु, जानमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
‘किसान चौतारी, जोतौँ खेतबारी’ कार्यक्रम सञ्चालन गरी बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन, कृषि औजार खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजो खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाइ, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन् । गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ ।
खुला बहुसांस्कृतिक र मगर संग्रहालयका रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मिर्गाैला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ । पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूलाई जोड्नका लागि पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गर्ने जनाएको छ ।
सडक, खानेपानी, सिँचाइतर्फ पर्याप्त योजनाहरू सञ्चालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मूल प्रवाहमा ल्याउन आयोजना बैंक तयार गरी सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ । अध्यक्ष गर्बुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिकावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तयार गरिएको दाबी गरे ।
गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गरेको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिकसम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया