घरपझोङ गाउँपालिकाको बजेट ३० करोड

सुन्दरकुमार थकाली २०८० असार ८ गते ११:१५

जोमसोम ।
‘समावेशी रुपान्तरण, प्रकृति संरक्षण र संस्कृति, कृषि, पर्यटन, पूर्वाधार घरपझोङ गाउँपालिकाको समृद्धि’ भन्न् नारासहित मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ करोड ९६ लाखको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा बसेको १२ औं गाउँसभामा उपाध्यक्ष जमुना थकालीले पालिकाको आगामी आर्थिक वर्ष अनुमानित बजेट प्रस्तुत गरिन् । घरपझोङले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १८ करोड ४३ लाख १८ हजार र पुँजीगत विकास खर्चतर्फ ११ करोड ५३ लाख ४१ हजार बजेट विनियोजन गरेको हो ।

संघीय सरकारको अनुदान २७ करोड १० लाख, प्रदेशको अनुदान १ करोड ९६ लाख र गाउँपालिकाको आन्तरिक स्रोतबाट ९० लाख १० हजार जुट्ने अनुमान छ । संघीयतर्फको कुल बजेट अन्तर्गत राजस्व बाँडफाँडतर्फ ४ करोड २९ लाख, वित्तीय समानिकरण अनुदान ७ करोड ४ लाख, सशर्त अनुदान १५ करोड ६१ लाख र विशेष समपुरक अनुदान १६ लाख रहेको उपाध्यक्ष जमुना थकालीले बताइन् ।

आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकासमा समान ६९ लाख ७५ हजार बजेट


प्रदेश अनुदानतर्फ राजस्व बाँडफाँड १ करोड ९४ लाख, वित्तीय समानिकरण ६६ लाख ८६ हजार र सशर्त अनुदान ४० लाख छ । गाउँपालिकाले सशर्त अनुदान, चालु तथा प्रशासनिक खर्च र गाउँपालिकाबाट सञ्चालित योजनाबाहेक आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकासमा समान ६९ लाख ७५ हजार बजेट विनियोजन गरेको हो ।

Advertisement


वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४१ लाख ८४ हजार र संस्थागत विकासतर्फ २७ लाख ९० हजार बजेट छुट्याएको उपाध्यक्ष थकालीले उल्लेख गरिन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि केही नयाँ कार्यक्रमसमेत ल्याएको छ ।

उपाध्यक्ष थकालीका अनुसार यस पटक पालिकाले स्थानीय जनतासँग साझेदारी कार्यक्रम ल्याउने भएको हो ।


यसका लागि पालिकाले १० लाख बजेट विनियोजन गरेको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि युवा स्वरोजगार कार्यक्रमसमेत ल्याउने भएको छ । यसका लागि पालिकाले २५ लाख बजेट विनियोजन गरेको छ । फोहोर मैला व्यवस्थापनमा २० लाख छुट्याइएको छ ।

घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा मार्फा छैरो जोड्ने बेलिब्रिज निर्माण, कैसाङ सिंचाइ आयोजना सम्पन्न गर्न, ठिनी खोल्सी नियन्त्रण र गापाको प्रशासनिक भवनमा गेट लगायतका पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया