सम्पादकीय: नियमित उडान निश्चित गर

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पोखरेलीको ४ दशक अघिदेखिको सपना हो । विमानस्थल बनाउने अवधारणा तयार भएदेखि जग्गा अधिग्रहण गरी काम थाल्न ४० वर्षको समय अवधि लाग्यो । सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि विमानस्थल व्यवसायिक हिसाबले सञ्चालन गर्यो । विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ६ महिना कुर्नु पर्यो ।
आन्तरिक उडानमामात्र सिमित विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान विमानस्थलमा अवतरण गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडानसमेत हो ।
देशबाहिर उडान आरम्भ नभएपछि पोखराका पयर्टन व्यवसायीले अन्तर्राष्ट्रिय उडान थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसको लागि सरकारले कूटनीतिक पहल थाल्नु पर्छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा यो एजेण्डा प्राथमिकतामा पर्न सकेन । यस्तै परिवेशमा मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि हवाई कम्पनीहरूले अनुमति पाउनु पर्छ । निजी हवाई कम्पनी बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने घोषणा गरेपनि अनुमति पाउन सकेको छैन । जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि चासो देखाएपनि कार्यान्वयन हुन सकेको छैन ।
नेपाल सरकारले हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको लागि अनुमति दिनु पर्छ । पोखराबाट भारत र चीनको शहरसँग हवाई सम्पर्क कायम गर्नको लागि सरकारले कुटनीतिक पहल गरी रुट अनुमति लिनु पर्छ । अझैपनि त्यस्तो काम हुन सकेको छैन । विमान सञ्चालनको लामो समय अवधिसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा राज्यका निकायमा दबाबमा छन् ।
यस्तो अवस्थामा ढिलै भएपनि चार्टन उडान भएको छ । चार्टर उडानले नियमित उडानको लागि बल पुगेको छ । नियमितताको लागि ढोका खोल्ने काम गरेको छ । जसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । केहि सिमित स्वार्थ समूहले असुक्षित भनेर टिका टिप्पणी भईरहेको अवस्थामा अब पोखराबाट व्यवसायिक उडान सम्भव भएको देखाएको छ ।सफल चार्टर उडानले अब नियमित हुने आसा पलाएको छ ।
पहिलो चार्टर विमान उडानपछि आगामी दिनमा नियमित गर्नेतर्फ सरकारी निकाय तथा सरोकारवाला लाग्नु पर्छ । पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान सफल अवतरण भएपछि त्यसलाई नियमित गर्न रुट अनुमति लिन राज्यका निकायले ध्यान दिनु पर्छ ।
अन्तर्राष्ट्रिय उडानले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने छ । नेपालको तेस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भएमा पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धनका अलवा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने छ ।
तपाईको प्रतिक्रिया