पुरुष ह्यान्डबल उपाधि कास्कीलाई

पोखरा ।
गण्डकी प्रदेश स्तरीय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा कास्कीले स्याङ्जालाई १४ का विरुद्ध २८ को फराकिलो गोल अन्तरले पन्छाउँदै उपाधि जितेको हो ।
कास्कीको जितमा चन्द्र केसीले १० गोलको योगदान दिए भने स्याङ्जाका पवन छन्त्यालले डबल ह्याट्रिक गरे । प्रतियोगितामा विजेता बनेको कास्कीले उपाधिसहित २५ हजार र उपविजेता स्याङ्जाले नगद १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाएका छन् ।
लिगकम नमआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि कास्कीका चन्द्र केसीले जिते ।
उनले २२ गोल गरेका थिए । प्रतियोगिता संयोजक पुष्पा श्रेष्ठले उत्कृष्ट खेलाडी स्याङ्जाका पवन छन्त्याल घोषित भएकोे जनाइन् ।
उत्कृष्ट गोलरक्षकको उपाधि स्याङ्जाकै सविन गुरुङले पाए । उनीहरुलाई जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, अग्रज ह्यान्डबल खेलाडी राम गुरुङ, शिक्षासेवी रत्नमान गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको व्यवस्थापनमा शुक्रबारदेखि पोखरामा भएको प्रतियोगितामा ५ टिम सहभागी थिए । कास्की जिल्ला ह्यान्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टेकबहादुर गुरुङले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया