‘आन्तरिक कारणले अर्थतन्त्र संकटमा’

पोखरा ।
जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद् कास्कीले बुधबार नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र अवसर विषयक अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्पराज कँडेलले बिग्रदो अर्थतन्त्रको सुधारका लागि नेपाल सरकारको ध्यान नपुगेको बताए । उनले नेपालको आन्तरिक कारणले अर्थतन्त्र ओरालो लागेको दाबी गरे ।
‘नेपालको अर्थतन्त्रमा सुधार नहुनु सरकारको अकर्मण्यता हो । अर्थतन्त्र सुधारमा सरकारको ध्यान पुगेको छैन,’ उनले भने, ‘बाह्य कारण भए छिमेकी देशलाई असर पर्ने थियो । हाम्रो आन्तरिक कारणले अर्थतन्त्र ओरलो लागेको छ ।’ उनले भारत, बंगालदेश तथा भूटानको आर्थिक वृद्धिदर बढ्दो भएको जानकारी दिए ।
नेपालको अर्थतन्त्र सारै नबिग्रेको उल्लेख गर्दै उनले सरकारले अर्थतन्त्रको गरिमालाई नबुझेर सुधारका लागि प्राथमिकता नदिएको दाबी गरे । उनले कोभिड १९ को प्रकोपअघि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेकोमा कोभिड १९ को प्रभावको अवधिमा ५ दशमलव ३ प्रतिशत कायम रहेको औंल्याए । उनले अहिले नेपालको आर्थिक वृद्धिदर २ दशमलब १६ प्रतिशत रहेको बताए ।
उनले देशको चालु खर्च बढेको तथा पुँजीगत खर्च न्यून भएकोमा चिन्ता जनाए । समग्र राज्य संयन्त्र कमजोर तथा विकास, निर्माणको गति रोकिएको दाबी गर्दै उनले देशमा के कति परियोजना सञ्चालन भएको बारेमा मन्त्रालयहरु बेखबर भएको टिप्पणी गरे । उनले सञ्चालित परियोजनालाई धान्न सक्ने अवस्था नभएको उल्लेख गरे ।
अहिलेको अर्थतन्त्र मुल रुपमा विप्रेषणमा आधारित भएको जानकारी दिँदै उनले विप्रेषणले गरिबी हटाउन त्यसको योगदान गरेको बताए । उनले उत्पादन उद्योगहरु खुम्चिएर कुल ग्राह्स्थ उत्पादनमा ५ प्रतिशत योगदानमा सीमित भएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राष्ट्रवादसँग जोडिएको अर्थतन्त्रलाई सवल बनाइनुपर्ने बताए ।
उनले धेरै मुलुकले आर्थिक राष्ट्रवादलाई प्राथमिकता दिएको उल्लेख गरे । अहिलेसम्मको एजेन्डा आर्थिक नभएर राजनीतिक भएको जानकारी दिदै उनले अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने तर्क गरे ।
उनले राजनीतिक स्थिरता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई राष्ट्रिय अनुकूल बनाउन नसकेको बताए । उनले सीमित स्वार्थ समूहले आर्थिक नीतिमा प्रभाव पारेको तथा करको दर हेरफेर गर्न दबाब दिएको दाबी गरे ।
पृथ्वीनारायण क्याम्पसका सहप्राडा लेखनाथ भट्टराईले गत वर्षभन्दा घटेको भएता पनि नेपालको आर्थिक वृद्धिदर संकटासन्न अवस्थामा नभएको बताए । नेपालको अर्थतन्त्र अझै पनि संकटग्रस्त नभएको दाबी गर्दै उनले २०/२१ अर्ब ऋण भएता पनि नेपालको अवस्था श्रीलंका तथा पाकिस्तानको जस्तो नहुने जानकारी दिए ।
मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा भेषराज अधिकारीले जननेता मदन भण्डारीले औद्योगीकरणबिना देशको प्रगति सम्भव नहुने तथा राष्ट्रिय पुँजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव नभएको बताएको स्मरण गराए । उनले सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव उल्लेख गरे ।
भण्डारी विदेशी पुँजी र प्रविधिको प्रयोगको पक्षमा रहेको जानकारी दिँदै उनले क्रान्तिको पक्षमा रहेका पुँजीपतिलाई क्षतिपूर्ति दिएर जग्गा राष्ट्रियकरण गर्ने पक्षमा रहेको बताए । कार्यक्रममा बुद्धिजीवी परिषद् कास्की अध्यक्ष विश्व अधिकारी र सचिव नगेन्द्र भण्डारीले नेपालको अर्थतन्त्रका बारेमा बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया