मुख्यमन्त्री सम्मेलन आज: प्रधानमन्त्री पनि सहभागी हुने

समाधान संवाददाता २०८० असार १५ गते १०:४५

पोखरा ।
सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गण्डकी प्रदेशको पोखरामा शुक्रबारदेखि हुने भएको छ । प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न असार १५ र १६ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

Advertisement


‘ऐन, कानुन प्रदेशलाई पर्याप्त छैन, केन्द्रले चलाइराखेको छ, सबै कुरा । ऐन, कानुनमा प्रदेशको अधिकारमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो,’ तिवारीले भनिन् । मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आउने प्रवक्ता तिवारीले बताइन् । यसअघि यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यति बेला सम्मेलन स्थगित गरिएको थियो ।


अघिल्लो पटक अन्तिम समयमा सम्मेलन स्थगित गरिएको थियो, यसपालि पनि स्थगित त हुँदैन भन्ने प्रश्नमा सरकारका प्रवक्ता तिवारी भन्छिन्, ‘प्रधानमन्त्रीज्यूले नै समय दिन्छु, सम्मेलन गर्नुस् भन्नुभएको छ, यसपालि स्थगित हुँदैन ।’


प्रदेशका अधिकार प्रयोग गर्न कहाँनेर समस्या हो, कहाँनेर कानुनी बाध्यता छ र संघको व्यवहार तथा अड्चन कहाँनेर छ भनेर मिहीन ढंगले सम्मेलनमा छलफल हुने उनले जनाइन् । सम्मेलनले प्रदेशले खेपिरहेका विषयमा छलफल गरेर पोखरा घोषणापत्र जारी गर्ने तयारी छ ।


मुख्यमन्त्रीहरूको सम्मेलन दोस्रो पटक हुन लागेको हो । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको नेतृत्वमा पहिलो पटक २०७५ भदौ २१ र २२ गते सम्मेलन भएको थियो । त्यो सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरेको थियो ।

Advertisement

मुख्यमन्त्री भेला डाकेर सार्वजनिक रुपमा प्रशंसित मुख्यमन्त्री गुरुङ आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भने आँखी भएका थिए । संघीय ऐनको अभावमा प्रदेश लोक सेवा आयोग ऐन, प्रदेश निजामती सेवा ऐन लगायत ऐन निर्माण हुन नसकेको पहिलो सम्मेलनले निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया