सम्पादकीय: रोपाइँ महोत्सवको सन्देश

समाधान संवाददाता २०८० असार १५ गते १२:००

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । असार १५ धमाधम रोपाइँ हुने समय हो । सधैजसो असार १५ मा नेपालमा मनसुन सुरु भइसक्छ । नेपालीको मुख्य खाद्यान्न बाली धान हो । कृषिप्रधान मानिएको नेपाल पछिल्लो समय क्रमशः खाद्यान्नमा समेत परनिर्भर हुँदै गएको छ । बजार छेउछाउका फाँट र बाटो पुगेका समथर भूमिहरु घडेरी भइसकेका छन् । खान झुल्ने फाँटहरुमा महलहरु बनेका छन् ।

Advertisement

धान उत्पादनमा कमी आउन थालेपछि सरकारले २०६१ देखि धान दिवस मनाउन थालेको थियो । सोही वर्षदेखि पोखरामा रोपाइँ महोत्सव सुरु भएको हो । रोपाइँ महोत्सव अफ सिजनमा पर्यटकीय आकर्षण एकातिर बनेको छ भने रोपाइँ गर्न छाडेका युवा पुस्ता र देख्नै नपाएका नयाँ पुस्तालाई नेपाली परम्परागत धान खेती प्रक्रिया हेर्ने माध्यम बनेको छ । यसपालि पोखरा १३ को डुम्रिबोटमा रोपाइँ महोत्सव हुँदै छ । पोखराभित्रै हेमजा र विभिन्न अन्य ठाउँमा पनि असार १५ लाई उत्सवका रुपमा मनाइँदै छ ।


सरकारी तहबाट र कृषि क्षेत्रसँग सम्बन्धित संघ, संस्थाले रोपाईं कार्यक्रमको आयोजना गरी दिवस मनाउने गरेका छन् ।

पोखरामा भने पर्यटकीय आकर्षण बढाउन यो महोत्सव भव्य रुपमा हुँदै आएको छ । सरकारको अगुवाइमा राष्ट्रिय रुपमा धान दिवस मनाउँदा किसानको मनोबल उच्च हुने र उनीहरुको श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्न केही न केही मद्दत पुग्ने आशा गर्न सकिन्छ । धान दिवस तथा रोपाईं महोत्सव मनाउँदै गर्दा देशलाई धानमा आत्मनिर्भर बनाउन आवश्यक योजना तथा कार्यक्रमका बारेमा पनि राष्ट्रिय रुपमा नै बहस गर्नु, व्यावहारिक खालका प्रभावकारी योजना ल्याउनु, किसानलक्षित योजना प्राथमिकतामा राख्ने काममा पनि सरकारको अझै बढी ध्यान जानुपर्छ ।

किसानले असार १५ लाई मानो रोपेर मुरी फलाउने विशेष दिनको रुपमा लिन्छन् । नेपालमा कुल खेतीयोग्य जमिनको १५ लाख ७० हजार हेक्टर धान खेती गर्न सकिने जमिन छ । तर यसको करिब ९ प्रतिशतमा मात्रै धान खेती हुँदै आएको तथ्यांक छ ।

Advertisement

परम्परागत कृषि प्रणाली विस्तारै हराउँदै छ, आधुनिक प्रणालीमा हामी फड्को मार्न सकेका छैनौं । यस्तो अवस्थामा मनाइँने महोत्सवले हामीलाई भावी दिनमा कृषिलाई व्यावसायिक बनाउन आवश्यक तयारीमा लाग्नुपर्ने सन्देश दिन्छ । जमिनको खण्डीकरण, खेतीयोग्य भूमिमा जथाभावी आवादी, सिंचाईंको अभाव, मल, बिउँको अभाव जस्ता पक्षले किसानलाई सकस दिइरहेको छ ।

कृषकलाई प्रोत्साहन, कृषि क्षेत्रलाई सम्मानित बनाउँदै, कृषिलाई आधुनिकीकरण गर्नु जरुरी छ । रोपाइँ महोत्सवले एकातिर नेपालीलाई कृषिलाई व्यावसायिक बनाउनैपर्ने यथार्थ सम्झाउँछ भने विदेशीलाई नेपाली संस्कृति बोध गराउँछ । केही खेलकुदका गतिविधि, सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने यो महोत्सवले हामीलाई कृषि क्षेत्रलाई उत्थान गर्दै पर्यटन र अर्थतन्त्रको विकास गरी आत्मनिर्भर बन्ने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया