गण्डकीमा १८ प्रतिशत रोपाइँ

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार १५ गते १६:५६

गण्डकी ।
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२, स्याङजामा १२ र म्याग्दीमा १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ खेतीयोग्य जमिनमध्ये यस वर्ष ९७ हजार आठ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ । गत वर्ष एक लाख चार हजार छ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो ।

Advertisement

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएका बताए । उनका अनुसार गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्र धानका प्रमुख पकेट क्षेत्र हुन् ।

गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । केही दिनयता मनसुन सक्रिय भएसँगै किसान रोपाइँको चटारोमा रहेका भन्दै अधिकांश क्षेत्रको रोपाइँ असारभित्रै सकिने प्रमुख रेग्मीले बताए ।

Advertisement

उनका अनुसार बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ । “अहिले दैनिकजसो वर्षात् भइरहेकाले अब रोपाइँ सहज हुन्छ, बिउ लाउने बेला भने मौसम सुख्खा भएपछि किसानलाई केही मर्का प¥यो”, निर्देशनालयका प्रमुख रेग्मीले भने ।

निर्देशनालयको तथ्यांक अनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उनको भनाइ थियो । जग्गा बाँझिनेक्रम पनि बढ्दै गएको निर्देशनालयका प्र्रमुख रेग्मीले बताए । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको उनले बताए ।

समयमा नै मल, बीउ नपाउँदा धान खेतीमा असर परिरहेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, किरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सँधै चुनौती व्यहोर्दै आएका छन् । गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ७४ प्रतिशतले कमी आएको थियो ।

गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिकटन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिकटन छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको निर्देशनालयका कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया