तिव्रेकोट सामुदायिक वनमा डिभिजन वन कार्यालय कास्कीकाे वृक्षाराेपण

समाधान संवाददाता २०८० असार १५ गते १९:०५

पाेखरा, १५ असार

डिभिजन वन कार्यालय कास्कीले वृक्षाराेपण गरेकाे छ । राष्ट्रिय वृक्षारोपण दिवसकाे अवसरमा ‘सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने नाराका साथ वन कार्यालयले पोखरा २५ हेमजा, मेलवोट स्थित तिव्रेकोट सामुदायिक वनमा अम्वा, रुखकटहर, एभोकाडाे, जामुन, लप्सी लगायतका २४०० वटा विरुवा राेपेकाे हाे । 

डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँकाे लगानीमा सामुदायिक वनभित्र फलफूल विरुवा रोपण कार्यक्रम अन्तर्गत सो वनको खण्ड नम्वर १ को करिव ८ हेक्टर वनक्षेत्रमा विहिवार फलफूलका विरुवा राेपिएकाे हाे ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले वनको वहुआयामिक प्रयोग गरी उद्यमसँग जोड्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । 

वन मन्त्रालयका सचिव विशाल घिमिरेले राष्ट्रिय वृक्षराेपण दिवसकाे महत्व र यसकाे उपाधेयताबारे प्रकाश पारे । गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले तिव्रेकाेट सामुदायिक वन कास्की जिल्लाकाे उदाहरणीय सामुदायिक वन भएकाे उल्लेख गर्दै राष्ट्रिय स्तरकाे गणेशमान सिंह वन संरक्षण पुरस्कार प्राप्त गर्न सफल भएकाे स्मरण गरे ।

Advertisement

कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले वृक्षाराेपणले बाँदर लगायत वन्यजन्तुहरुले वनक्षेत्र भित्र आहारा प्राप्त गर्ने र मानव वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तिव्रेकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विशालजंग कुँवरको अध्यक्षता भएको कार्यक्रममा उक्त वनका सचिव कृष्णबहादुर कुँवरले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया