लुम्बिनी सरकारले सम्पर्क समाजसँग सहकार्य गर्ने

समाधान संवाददाता २०८० असार १७ गते १७:१४

पोखरा ।
पर्यटन प्रर्वद्धनका लागि लुम्बिनी प्रदेश सरकारले पोखरामा रहेका लुम्बिनीका सम्पर्क समाजसँग सहकार्य गर्ने भएको छ ।

अन्तर प्रदेश मुख्यमन्त्रीको बैठक मा भाग लिन पोखरा आएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सवालमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग समेत छलफल गरेको जानकारी दिए ।


पोखराको न्युरोडमा रहेको पाल्पा हाउस प्रालिले शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले गर्नुपर्ने पर्यटन प्रर्वद्धनको काम पोखरामा रहेका पाल्पाली समाज लगायतका सम्पर्क समाजले गरेको बताए । उनले लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको लागि सहयोगीको काम गर्न आग्रहसमेत गरे ।

Advertisement


‘लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनको लागि ५० प्रतिशत (आधा काम)तपाईहरुले गर्नु भएको छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘आगामी दिनमा गर्ने कार्यक्रमको खाका कोर्नुस् । प्रदेश सरकार बाँकी आधा कामका लागि सहकार्य गर्न तयार छ ।’ पर्यटन प्रवद्र्धनको लागि आगामी दिनमा गर्ने कार्ययोजना बनाउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार सँगै हिड्न तयार रहेको उल्लेख गरे ।


पाल्पाली समाज पोखराको पहलमा लुम्बिनी र गण्डकीको पर्यटन प्रर्वद्धनको लागि डिजिटल बोर्ड राखेको उल्लेख गर्दै उनले पाल्पा हाउसमा लुम्बिनीमा उत्पादित सामग्री बजारीकरणको सम्बन्धमा रामपुर नगरपालिकासँग छलफल भएको बताए । उनले दोस्रो भेटघाट पोखरा या पाल्पामा बसेर थप योजना बनाउने उल्लेख गरे ।

Advertisement


पोखरा आएका पाल्पालीले गरेका सकारात्मक कामको बारेमा जान्ने र सुन्ने मौका मिलेको चर्चा गर्दै उनले आगामी दिनमा एक साथ हिड्ने प्रतिवद्धता गरे । उनले पोखरा लुम्बिनी, स्वर्गद्धारी र बर्दियालाई समेत जोडेर पर्यटकीय गतिविधि गर्न आग्रह गरे ।


पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले प्रेमको प्रतिक रानीमहलको झल्को दिने गरी बनाइएको पाल्पाली कोशेली घर लुम्बिनी र गण्डकी प्रदेशको प्रेमको प्रतीकका रुपमा अगाडि बढाउने जानकारी दिए । उनले लुम्बिनी र गण्डकीको पर्यटकीय गतिविधिलाई श्रव्य, दृश्य रुपमा देखाउन पोखराको लेकसाइडमा डिजिटल बोर्ड राखेको बताए । उनले लुम्बिनी प्रदेशको राजधानी दाङ, भगवान गौतम बुद्धको जन्मस्थल समेत पर्यटन प्रर्वद्धनको लागि कार्यक्रम गर्ने उल्लेख गरे ।


कार्यक्रममा पाल्पा कोलोनी प्रालिका अध्यक्ष रेशमराज थापा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ लगायतले बोलेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा लुम्बिनी प्रदेश सरकारका निमित्त प्रमुख सचिव सुमन घिमिरे, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशी लगायतको सहभागिता रहेको पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।


पाल्पाली समाज पोखरा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पाल्पा हाउस प्रालि र पाल्पाली कोलोनी प्रालिका पदाधिकारी तथा सदस्यले प्रतिनिधि मण्डलसँग लुम्बिनी र गण्डकीको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया