पहुँचयुक्त पूर्वाधार बनाउन माग

पोखरा ।
अपांगता भएका व्यक्तिहरुले भौतिक संरचना सबैको पहुँचयुक्त बनाउन माग गरेका छन् । उनीहरुले सबैका लागि पहुँचयुक्त संरचना निर्माण भएमा अपांगता भएका व्यक्तिका लागि समेत सहज हुने दाबी गरे ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपांग भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण बनाउन माग गरे । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ र सार्वजनिक यातायातमा सुविधा सहुलियत विषयक कार्यक्रममा अध्यक्ष शर्माले सरकारी निकायका सार्वजनिक सूचनामा समेत अपांगता भएका व्यक्तिको पहुँच पुग्नपर्ने उल्लेख गरे ।
‘पहुँचयुक्त पूर्वाधार अपांगता भएका व्यक्तिहरुको समग्र विकासको लागि पूर्व शर्त हो,’ उनले भने, ‘तर निर्देशिका, नीति तथा कार्यक्रम कार्यान्वयनको समस्या छ ।’ उनले श्रव्य, दृश्य तथा सांकेतिक भाषा बनेको एउटै भिडियोले सबै प्रकारमा अपांगता भएका व्यक्तिका लागि काम गर्नुपर्ने सुझाव दिए ।
उनले गण्डकी प्रदेश सरकारको अहिलेको बजेटमा अपांगता भएका व्यक्तिका कार्यक्रम धेरै कटौती भएको दाबी गरे ।
विगतका असल कार्यक्रमलाई निरन्तरता दिन नसकेको उल्लेख गर्दै उनले १ सय इन्जिनियर तथा प्राविधिकलाई पहुँचयुक्त पूर्वाधार निर्माणका बारेमा तालिम कार्यक्रम माग गरेको सुनाए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक महाशाखाको सहयोगमा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले अब बन्ने भौतिक संरचनालाई पहुँचयुक्त बनाउन पहल गर्ने आश्वासन दिए । उनले अपांगता भएका व्यक्तिलाई सानोतिनो सहयोग भए परनिर्भर बन्न नसक्ने उल्लेख गरे । सरकार बनेको १ महिनामा बजेट ल्याउनुपर्ने बाध्यताले धेरै विषय छुटेको जानकारी दिदै मन्त्री आलेले सामाजिक क्षेत्रमा गर्नुपर्ने काममा सरकारको ध्यान नपुगेको चर्चा गरे ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले राज्यका सबै नीति तथा संरचनामा अपांगता भएका व्यक्तिको पहुँच पुगे जीवन यापनमा सहज हुने बताइन् । उनले अहिले प्रादेशिक अपांगता नीति तर्जुमा गरिएको जानकारी दिँदै सम्बन्धित ऐन बनाउने तयारीमा रहेको उल्लेख गरिन् ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ को पूर्ण रुपमा कार्यान्वयन नभएको जनाए । उनले सार्वजनिक सवारीमा ५० प्रतिशत छुट कार्यान्वयन नभएको तथा अपांगता भएका व्यक्तिलाई छुट्टाएको सिटमा अरु बस्ने गरेको तथ्य पेश गरे ।
कार्यक्रममा अपांगता भएका व्यक्तिको लागि अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँका महासचिव दामोदर रेग्मीले पहुँचयुक्त भौतिक संरचनाको बारेमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कास्कीका ईन्द्रबहादुर थापा, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसी, नेपाल यातायात मजदूर संघ गण्डकीका अध्यक्ष किरणबाबु पन्त, शुक्ला गण्डकी नगरपालिकाकी इन्जिनियर कामना लम्साल लगायतले बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया