प्रदेशमा १० करोडको विपद् कोष: मुख्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति, सुरक्षाको प्रत्याभुति गराउने र विपद् जोखिम न्यूनीकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् व्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ,’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हाम्रो साधन, स्रोतले भ्याएसम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’
विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०÷१० लाख नघट्ने गरी विपद् कोषमा रकम पठाएको जानकारी दिए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भीर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई विपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमबार पोखरामा आयोजित प्रदेश शान्ति, सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा उनले यस्तो बताएका हुन् । ‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्,’ सुरक्षा समितिका सदस्यलाई उनले भने । भौगोलिक विकटताका कारण शान्ति, सुरक्षा कायम गर्न र बिपद् जोखिम न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले सुनाए ।
सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भइरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
शान्ति, सुरक्षाको अनुभूति हुने गरी नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तव्य भएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा लगायत पर्यटकीय सहरहरुमा रात्रिकालीन व्यवसायलाई सहज रुपमा सञ्चालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घन्टा खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाव दिए । ‘शान्ति, सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेस्टुरेन्ट बन्द गराउने होइन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘व्यवसायीले चाहन्छन् भने पर्यटकीय ठाउँका होटल, रेस्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति, सुरक्षा हाम्रो दायित्व हो ।’
गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति, सुरक्षाको अवस्था, चुनौती, विपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए ।
गोष्ठीमा भएको छलफल र आएका सुझावलाई केन्द्रित गरी प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया