वडाध्यक्षले कुटे उपभोक्ता समिति अध्यक्ष

पोखरा ।
मोटर बाटो ढिलो बनाएको भन्दै माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्षले उपभोक्ता समिति अध्यक्षलाई कुटपिट गरेका छन् ।
माछापुच्छ्रे वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीलाई कुटेका हुन् ।
भण्डारी वडा नम्बर ८ कै खोराको मुख उपल्लो इदी खोला माछापुच्छ्रे सडक उपभोक्ता समिति अध्यक्ष हुन् । कांग्रेसका कार्यकर्तालाई काममा लगाउन अध्यक्ष गुरुङले दिएको दबाब भण्डारीले नमानेपछि योजना ढिलो भएको बहानामा आइतबार दिउँसो कुटेको स्रोत बताउँछ । अध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपभोक्ता समिति अध्यक्ष भण्डारी नेकपा (एमाले) कार्यकर्ता हुन् ।
भण्डारीले वडा प्रहरी कार्यालय बगरमा जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको समाधानलाई बताए । प्रहरीले पहिले मेडिकल रिपोर्ट हेर्ने र आवश्यक छलफल गरेपछिमात्र जाहेरी दर्ता गर्ने बताएको भण्डारीले सुनाए ।
कांग्रेसबाट निर्वाचित माछापुच्छ्रे ८ का अध्यक्ष राम गुरुङले उपभोक्ता समिति अध्यक्ष एमाले कार्यकताए अमृत भण्डारीलाई कुटेका छन्
‘निर्माणाधीन बाटोको काम ढिलो भएको भन्दै वडाध्यक्ष गुरुङले दिउँसै बीच सडकमै कुटपिट गरे,’ उनले भने, ‘बर्खायाम छ, ठेकेदारले बाटो बनाइरहेको छ । तर वडाध्यक्ष गुरुङले बाटो किन ढिलो बनाएको भन्दै मलाई कुटे ।’ भण्डारीले स्थानीय बासिन्दाको आग्रहमा आफू उपभोक्ता समितिको अध्यक्ष बनेर बाटो बनाउन सघाएको सुनाए ।
अध्यक्ष भण्डारीले वडाध्यक्ष गुरुङले अझै कुटपिट गर्ने धम्की दिएकाले जिउज्यानको सुरक्षा र दोषीमाथि कारवाही माग गर्दै जाहेरी दिन प्रहरीकहाँ गएकोमा सुनुवाई नभएको गुनासो गरे । उनले शान्ति, सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत निवेदन दिएका छन् ।
पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजार बजेटमा सो सडकको काम भइरहेको छ । वडाध्यक्ष गुरुङबाट भएको कुटपिटको घटना यो पहिलो होइन । गुरुङले २०७९ फागुन १२ गते सोही वडामा कार्यरत सब इन्जिनियर लक्ष्मण जिसीलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटेका थिए । त्यस बेला आगामी दिनमा घटना नदोहोर्याउने शर्तमा मिलापत्र भएको थियो ।
कांग्रेस माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्षसमेत रहेका गुरुङले २०७७ भदौमा गाउँपालिकाको कार्यालय तोडफोड गरेका थिए । उनको नेतृत्वमा डेलिगेसन जाँदा चित्त नबुझेपछि कार्यालय तोडफोड गरेको माछापुच्छ्रे गाउँपालिकाका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङ सुनाउँछन् । कार्यालय तोडफोडबाट भएको नोक्सानीको क्षतिपूर्ति तिर्ने र आइन्दा त्यस्तो नगर्ने शर्तमा मिलापत्र भएको थियो ।
यता, एमाले माछापुच्छ्रे गाउँपालिका कमिटीले कार्यकर्ता भण्डारीलाई वडाध्यक्ष गुरुङले कुटेको विरोधमा प्रर्दशन गर्न लागेको छ । कमिटी अध्यक्ष विक्रम गुरुङले घटनाको निश्पक्ष छानबिन तथा दोषीलाई कारवाहीको माग राख्दै मंगलबार वडा नम्बर ८ को लुमरे स्थित कार्यालयमा विरोध कार्यक्रम हुने जानकारी दिए । उनले प्रहरीले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाही नभएसम्म दबाबका कार्यक्रम निरन्तर हुने सुनाए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया