
जोमसोम ।
मुलुकमा गणतन्त्र नआउँदासम्म मुस्ताङमा पनि एक राजा थिए । उपल्लो मुस्ताङको लोमन्थाङका राजालाई प्राप्त उपाधि गणतन्त्रपछि खोसियो । उनको निधन भइसकेको छ । त्यसपछि उनका उत्तराधिकारीलाई स्थानीयले भने राजाकै जस्तो सम्मान गर्दै आए । कानुनी मान्यता नभए पनि सांस्कृतिक सम्पदाका रुपमा मानिएको राजसंस्थाका एक सदस्या अर्थात राजाका छोराको विवाहलाई पनि धुमधामका साथ मनाइएको छ ।
२६ औं पुस्ताका राजा झिग्मे पलवर बिष्टको जेठा छोरा राजकुमार धिण्डुप फुन्छोक पलवर बिष्टको बिहेलाई पनि सोमबार सांस्कृतिक उत्सवको रुपमा मनाइएको हो । उपल्लो मुस्ताङका २५ औं राजाको देहान्तपछि उनका उत्तराधिकारीको रुपमा हालका २६ औं पुस्ताका राजा झिग्मे सिङ्गे पलवर बिष्टलाई उपल्लो मुस्ताङीले राजाको रुपमा मान्दै आइरहेका छन् ।
मुस्ताङी सांस्कृतिक राजाका छोरा झिग्मे ढिण्डुप फुन्छोक बिष्टको विवाह उपल्लो मुस्ताङको धार्मिक सांस्कृतिक प्रचलन अनुसार औपचारिक कार्यक्रम सोमबार सकिएको छ । ताप्लेजुङ जिल्ला निवासी सोनाम याङछेन उक्यापसँग बिहे भएको हो ।
खादा र आशीर्वादको कार्यक्रम भने जारी नै छ ।
पछिल्लो समय आधुनिकतासंगै संस्कृति र मौलिकता हराउँदै गइरहेको परिप्रेक्ष्यमा राजाको छोराको सांस्कृतिक विवाह उत्सवले ऐतिहासिक, धार्मिक पहिचानको संरक्षण र प्रवद्र्धन हुने विश्वास रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । संस्कृति हरायो भने पहिचान हराउने उल्लेख गर्दै अध्यक्ष बिष्टले सांस्कृतिक विवाह उत्सवले उपल्लो मुस्ताङको इतिहासलाई जीवन्त तुल्याउन सहयोग पुगेको बताए ।
बिहेको पहिलो दिन मुस्ताङी राजासहित बेहुला पक्षका जन्तीहरु बेहुली लिन उपल्लो मुस्ताङको चराङ पुगेका थिए । त्यहाँबाट उपल्लो मुस्ताङको दुई गाउँपालिकाको सीमाना थुर्रलुङ फाँट ३ भन्दा बढी घोडाका लस्करसहित बेहुलीलाई घोडामा चढाएर लोमान्थाङ ल्याइएको थियो । लोमान्थाङमा आइपुगेको बेहुलीसहितको जन्तीलाई उपल्लो मुस्ताङबासीले सांस्कृतिक भेषवुशाको पहिरचनमा स्थानीय भाषामा गीत गाउँदै आशीर्वाद दिए । सयौंको संख्यामा उर्लिएको विवाहको लर्को अहिलेसम्मकै ऐतिहासिक सांस्कृतिक बिहे भएको स्थानीय बताउँछन् ।
चराङबाट बेहुली लिएर र्फिर्कएको जन्तीको लस्करलाई लोमान्थाङ गाउँ र गुम्बा र माने परिक्रमा गराईएको थियो । त्यसपछि गाउँ परिक्रमा गरेको जन्तीसहितको लस्करलाई छोदे गुम्बाका लामा गुरुहरुले बौद्ध धर्म परम्परा अनुसार स्वागत गरेका थिए ।
मुस्ताङी राजको छोराको बेहुलीलाई सोमबारै ऐतिहासिक मुस्ताङी राजाको दरबारमा भित्र्याइएको थियो । दरबारभित्र प्रवेश गराएकी राजकुमारीले दरबारभित्रका देवताको दर्शन गराइएएको थियो । दरबारभित्र रहेको बुद्धका मूर्तिहरुमा पूजापाठ गरिन् ।
दरबाररको उपल्लो तलामा मुस्ताङी राजाका अति निकट व्यक्तिहरुलाई प्रवेश गराइएको थियो । त्यहाँ लामा गुरुले धार्मिक पूजापाठ गरी विवाहलाई धार्मिक र सांस्कृतिक वैधानिकता प्रदान गरे । दरबारभित्रको बिहे कार्यक्रमको औपचारिक कार्यक्रमपछि राजकुमार राजकुमारीलाई स्थानीय संस्कृति अनुसार बाजागाजासहित राजाको निजी निवासमा पुर्याइएको थियो ।
लोमान्थाङका स्थानीय छेवाङ रिन्जिङ गुरुङले मुस्ताङी राजाको सांंस्कृतिक विवाहले उपल्लो मुस्ताङको मौलिकता र संस्कृति प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने बताए । उनले राजा परिवारको विवाहलाई परम्परागत रुपमा सांस्कृतिक रुपमा लामाहरु र स्थानीय सहभागी भएका थिए ।
उपल्लो मुस्ताङी राजा झिग्मे सिंगे पलवर बिष्टको छोराको बिहेलाई लिएर लोमान्थाङ गाउँपालिकाले सोमबार एक दिन सार्वजनिक विदा दिएको थियो । पालिकाहरुले मुस्ताङी राजा सांस्कृतिक धरोहर रहेको र सांस्कृतिक रुपमा मनाई विवाह उत्सवलाई प्रवर्द्धन र संरक्षण गर्न स्थानीय तहको दायित्व रहेको भन्दै सार्वजनिक विदा दिइएको थियो ।
उपल्लो मुस्ताङबासीको अभिभावकको रुपमा स्थापित मुस्ताङी राजाको इतिहास १५ औं शताब्दीदेखि सुरु भएको हो ।
२०६२/२०६३ सालको आन्दोलनपछि मुस्ताङी राजालाई सांस्कृतिक राजाको रुपमा उपल्लो मुस्ताङका २ पालिकाका बासिन्दाले मान्दै आइरहेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया