अन्तरदोहोरी साँझ दोहोरी प्रतियोगिता हुने

पोखरा ।
पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले दोहोरी पुन सञ्चालनमा आउन लागेको जानकारी गराएको छ ।
असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुने सञ्चालक वीरेन्द्र केसीले बताए । दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको उनले बताए ।
दोहोरी प्रतियोगितामा सहभागी हुन १ हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा १ गायक र १ गायिकाको नाम सिफारिस गरी पठाउनुपर्ने नियम रहेको प्रतियोगिताका संयोजक सुमन खड्काले जानकारी गराए ।
कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ । दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने उनले बताए ।
प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगदसहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई समेत ५ हजारको पुरस्कारको व्यवस्था छ ।
विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ, रवि कार्की र अस्मिता डल्लाकोटीसहित नियमित कलाकारको प्रस्तुति रहनेछ । प्रतियोगिता अवधिभर दिउँसोसमेत रेस्टुरेन्ट खुला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन । सो समयमा रेस्टुरेन्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया