सडकबाट छुट्छन् बस

कास्की ।
पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि ४ दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि २ सय ५ रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ ।
पर्यटकीय सहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् । पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् । सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताए ।
उनी भन्छन्, ‘लामो दूरीका गाडीसमेत सडकबाटै छुटाउँदा पृथ्वीचोकबाट चाइना पुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बस बसपार्कबाटै छुट्नुपर्दछ । यसमा सरोकारवालाको ध्यान पुगोस् ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछुटेको तर्क गरे । उनले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस भएको सुनाए । यात्रु तान्नका लागि बसहरू सडकमै पार्किङ गर्ने गरिएको उनको जिकिर छ । पाठकले भने, ‘यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बस बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका गरेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।’
यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको तर्क गरे । उनले पोखरा बसको ‘क्यु’ बसपार्क केन्द्रित नभइकन भ्याली केन्द्रित भएको जनाए । उनी भन्छन्, ‘बसपार्क व्यवस्थित भयो भने बल्लमात्र बस बसपार्कबाट छुट्छन् ।’
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको जानकारी दिए । उनले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दबाब दिनु आवश्यक भएको बताए । महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकामा अध्यक्ष मर्सानीले दुःखेसो पोखे ।
उनी भन्छन्, ‘वडाको बजेटले बसपार्क बनाउन सकिँदैन । महानगर, प्रदेश सरकार र संघीय सरकारलाई दबाब दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परे पनि अब पछि हट्नु हुँदैन ।’
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसके पनि अब राज्यलाई दबाब दिनुपर्ने बताए । ‘अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनालाई सभ्य र सुरक्षित पोखराको महसुुस गराउनुपर्दछ,’ उनी भन्छन् ।
तपाईको प्रतिक्रिया