शिक्षक आन्दोलनको ऐतिहासकिता

दुःखका साथ भन्नै पर्छ सहर बजारका केही मावि प्रधानाध्यापकहरु शिक्षक संगठन र आन्दोलनप्रति अत्यन्त पूर्वाग्रही थिए
कास्की जिल्ला लगायत नौ जिल्लाका शिक्षक प्रतिनिधि हेटौंडाको भुटनदेवी माविको प्रांगणमा भेला भई संगठित रुपमा शिक्षक आन्दोलन प्रारम्भ भएको यथार्थ शिक्षक संगठनका ऐतिहासिक दस्तावेजमा लिपिबद्ध छ । सोही भेलामा भुटनदेवी माविकै प्रअ बद्रीप्रसाद खतिवडाको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी आन्दोलनलाई राष्ट्रव्यापी विस्तार गर्ने उद्देश्यसहित विधान मस्र्यौदासमेत तयार गरिएको थियो । यस्को पृष्ठभूमिमा पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई (जो तुलनात्मक रुपमा प्रजातन्त्रवादी थिए) फाँसी दिएको विरोधमा काठमाडौंमा विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको थियो ।
आन्दोलन एकातिर पाकिस्तानी दूतावासमा विरोधपत्र दिने क्रममा विद्यार्थी जुलुसमा व्यापक रुपमा प्रहरी दमन गरिएको कारण थियो । अर्कोतिर अझ मुख्यरुपमा पञ्चायती निरंकुशताका विरद्ध लक्षित थियो । स्मरणमा रहोस् कि त्यतिबेला राजनीतिक दलहरु प्रतिबन्धित थिए र शिक्षक विद्यार्थीको आन्दोलन अग्रपंक्तिमा देखिन्थ्यो । शिक्षकहरुले आन्दोलन कस्तो हिसाबले उठाउने भन्ने छलफल गर्दै गर्दा विद्यार्थी आन्दोलनले शिक्षक आन्दोलनको वातावरण निर्माण गरिदिएको थियो ।
समग्र आन्दोलनको परिणाम स्वरुप निर्दलीय पञ्चायती व्यवस्था जनमत संग्रहमा धकेलिन बाध्य भएको थियो । यो २०३६/२०३७ साल तिरको कुरा हो । मूलतः शिक्षकहरु पीडित थिए । आन्दोलनको वाटो खोजिरहेका थिए । कारण के भने २०२८ सालभन्दा अगाडि शिक्षकहरु जनताद्वारा नियुक्त जनताले चन्दा उठाएर विद्यालय चलाउँथे । जनता र शिक्षकबीचको सम्बन्ध निकै सुमधुर थियो । जनता र शिक्षकबीचको सम्बन्ध भत्काउने र पञ्चायती निरंकुशताविरुद्धको जनमत ध्वंस गर्ने बदनियतपूर्ण मनसायले २०२८ सालमा नयाँ शिक्षा पद्धतिको योजनाका नाममा सरकारले अमेरिकी सहयोगमा उसकै सडेगलेको शिक्षा नीति आयात गरेको थियो ।
सो शिक्षा नियमावलीमा शिक्षकहरु सरकारी बने र उनीहरुलाई पनि अन्य क्षेत्रका कर्मचारी सरह सम्पूर्ण सुविधा उपलब्ध गराउने भन्ने आकर्षक नारा उल्लेखित थिए । तर ७/८ वर्षसम्म पनि उल्लेखित सुविधाहरु लागु गरिएन बरु शिक्षकहरुलाई राजनीतिक गतिविधिमा कडा प्रतिबन्ध लगाइयो । त्यतिमात्र होइन, निहुँ खोजीखोजी शिक्षकहरुलाई कारबाही गर्न थालियो । यस्तो उकुसमुकुस वातावरणबाट उन्मुक्ति हुन र आफ्ना अधिकार प्राप्त गर्न शिक्षकहरु संगठित र आन्दोलित हुनु अनिवार्य हुँदै गयो ।
दुःखका साथ भन्नै पर्छ सहर बजारका केही मावि प्रधानाध्यापकहरु शिक्षक संगठन र आन्दोलनप्रति अत्यन्त पूर्वाग्रही थिए
परिणाम स्वरुप ७५ जिल्लामा शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा संगठित हँदै गए र केन्द्रीय संगठनले आन्दोलनको आह्वान गर्नासाथ राष्ट्रव्यापी रुपमा आन्दोलन उठ्न थाल्यो । स्मरण गर्नैपर्ने कुरा के भने २०३६, २०३७, २०३८ र २०४१ सालमा शिक्षक आन्दोलनहरु उत्कर्षमा पुगे र ती आन्दोलनहरु राष्ट्रव्यापी रुपमा फैलिए । तीमध्ये २०३८ र २०४१ सालका आन्दोलनहरु बढी पेचिला एवं जटिल थिए । दुखका साथ भन्नुपर्छ २०३८ सालको आन्दोलन अत्यन्त कठोर एवं निर्मम थियो ।
यो आन्दोलन १०४ दिनसम्म चलेको थियो । यसमा सरकारी दमन चरमै थियो । धरपकड, गिरफ्तारी, जेलनेल र हत्यासम्मका वारदातहरु भएका भएका थिए । सरकार आन्दोलनलाई दमनै गरेर सिध्याउने सोचमा भएपनि आन्दोलन रोकिएन । तर पनि अत्यन्त न्यून उपलब्धिमा सम्झौता गर्न संगठन बाध्य थियो किनभने शिक्षकहरु थाकिसकेका थिए र जागिरको सवाल पनि थियो ।
गिरफ्तार शिक्षकहरुको विनासर्त रिहा र सामान्य महँगी भत्तामा आन्दोलन स्थगन गरियो । सम्झौता भएकाले आन्दोलन अवधिको तलबसम्म दिन सरकार तयार भयो । पेन्सन, प्रमोसन, उपदान, ग्रेड, एवं स्थायित्वका अतिरिक्त तलब वृद्धिका निमित्तपनि आन्दोलन गर्नैपर्ने बाध्यता यथावतै रह्यो । केवल शिक्षकको नियुक्ति सरकारले गर्नेबाहेक अन्यकामबाट सरकार पछाडि हट्दै गयो । यही स्थितिलाई मध्यनजर गरी शिक्षक संगठनले २०४१ सालमा एउटा बृहत आन्दोलनको तर्जुमा नगरी सुखै भएन । तसर्थ २०४१ साल चैतमा शिक्षक संगठनले काठमाडौं जाऔं अभियानका साथ आन्दोलननको उद्घोष ग¥यो । त्यो बेला माधव पौडेल जिल्लाा अध्यक्ष र म सचिव थिएँ । हामीले कास्की जिल्लामाा आन्दोलनको तयारी गर्दै रहँदा धरपकड र गिरफ्तारी सुरु भइसकेको थियो ।
कतिपय शिक्षकहरु जिल्लामै गिरफ्तार भए । म प्रहरीको हातबाट फुत्केर तीन चारवटा बस फेर्दै केही साथीहरुका साथमा काठमाडौं पुगेको थिएँ । देशभर धरपकड र गिरफ्तारी हुँदाहुँदै पनि हजारौ शिक्षकहरु काठमाडौं पुगेका थिए । काठमाडौंमा १० दिनसम्म प्लेकार्डसहित प्रदर्शन गर्नुका साथै सिंहदरबार परिसरभित्र घण्टी बजाउने जस्ता सरप्राइजिङ कार्यक्रम समेत सम्पन्न गर्दै गर्दा सयांै शिक्षकहरु गिरफ्तार भइसकेका थिए । तर पनि आन्दोलनले काठमाडांै जुरुक्क उठेको थियो ।
यतिगरेपछि मात्र सरकार संगठनको नेतृत्वसँग वार्ता एवं छलफलका साथै सम्झौता गर्न बाध्य भयो । सम्झौतामा निजामती क्षेत्रका कर्मचारीको तलब बढ्दा शिक्षकको तलब पनि स्वतः वृद्धि गर्ने, पेन्सन, उपदान, प्रमोसन, ग्रेडवृद्धि तथा स्थायी नियुक्ति प्रदान गर्ने जस्ता आर्थिक मागहरु पूरा गर्न सरकार तयार भएपनि संगठनलाई वैधानिकता दिन अझ तयार भएन । तर संगठनको विधान स्वीकृतिका निमित्त गृहमा पठाउने भन्नेसम्म सम्झौतामा उल्लेख भयो । ती सुविधाहरु आज पर्यन्त साथीहरुले उपभोग गरिरहनुभएकोमा म अत्यन्त गौरवान्वित छु ।
कास्की जिल्लामा आन्दोलन उठाउन अत्यन्त कठिन थियो । यो कुरा याद गरौं कि वाराही माविका प्रअ दुर्गादत्त गौतमको नेतृत्वमा प्रगतिशील समूह र राष्ट्रिय माविका प्रअ श्याम पन्तको नेतृत्वमा प्रजातान्त्रकि समूहका वीच २०३७ सालमा जिल्ला समितिको निर्वाचनमा प्रतिस्पर्धा भयो । प्रगतिशील समूह जसमा म पनि सदस्यको प्रतिस्पर्धामा थिएँ । त्यो समूहले निर्वाचन जितेको थियो । त्यसपछि प्रजातान्त्रिक समूह जसले निर्वाचनमा पराजय बेहोर्यो ।
त्यो समूह आन्दोलनप्रति कहिल्यै सकारात्मक भएन । यो पंक्तिकार २०३७ सालमा जिल्ला सदस्य निर्वाचित भएपछि सचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भई काम गर्दा थुप्रै तितामिठा अनुभव र कठिनाई वेहोर्दै आएको कुरा पुराना एवं समकालीन शिक्षकहरुमा स्मरण रहेकै हुनुपर्छ भन्ने लाग्छ । पञ्चायती निरंकुशताको दमनका बाबजुद आन्दोलनको नेतृत्व गर्नु चानचुने काम छँदै थिएन ।
त्यसो हुँदाहुँदै पनि आन्दोलनको विभिन्न प्रक्रिया अपनाइने गरिन्थ्यो । लालटिन जुलुस, प्लेकार्ड जुलुस, विरोध सभा, धर्ना घेराउ, लगायत कार्यक्रममा तीव्र दमन हुन्थ्यो । लाठी चार्ज एवं गिरफ्तारीका क्रममा कतिका टाउका फुटे, कतिका हात खुट्टा भाँचिए, कतिपयका घडी, सिक्री हराए । त्यस्को लेखाजोखा हुँदैन्थ्यो । राष्ट्रिय मावि बगर, विन्दवासिनी मावि वरपाटन, वाराही मावि मालेपाटन, कन्या मावि नदीपुर लगायत विद्यालय प्रांगण आन्दोलन अर्थात जुलुस उठान गर्ने वा कार्यक्रम सञ्चालन गर्ने थलोका रुपमा प्रयोग गरिन्थ्यो । यसलाई हामीले ठूलै सहयोग मान्थ्यौं ।
दुःखका साथ भन्नै पर्छ सहर बजारका केही मावि प्रधानाध्यापकहरु शिक्षक संगठन र आन्दोलनप्रति अत्यन्त पूर्वाग्रही थिए ।
उनीहरु संगठनमा लागेका आफै सरहका शिक्षकलाई पनि हेप्ने, होच्याउने र उपेक्षा गर्ने गर्दथे । निर्वाचनमा पराजय बेहोर्न परेको पूर्वाग्रह उनीहरुका दिमागवाट कहिल्यै हटेन । उनीहरु आन्दोलनमा सरिक भएनन्मात्र होइनन् प्रहरी प्रशासनमा सिकायत गर्न पनि पछि पर्दैनथे । उनीहरु हामी १३ सयका शिक्षकलाई तीन सयकाले खटनपटन गर्ने भनेर संगठनको नेतृत्वलाई दुत्कार्थे ।
कस्तो घृणात्मक अभिव्यक्ति दिन्थे जुन सुन्न र सहन निकै कठिन । सम्मान गर्नै पर्छ—प्रारम्भ कालदेखि सेवारत रहँदासम्म दुर्गादत्त गौतम, दामोेदर रेग्मी, मोदनाथ रेग्मी, दामोदर शर्मा, चन्द्रप्रसाद खनाल, माधव प्रसाद पौडेल, क्षेत्रबहादुर कुँवर, नन्ददप्रसाद अधिकारी, वामदेव ढुंगाना, मुरारी बराल, लगायत शिक्षकहरुको योगदानबाट संगठन र आन्दोलन जीवित रहनसकेको थियो । उनीहरुसँग यो पंक्तिकारले लामोसमय सहकार्य गरेको अनुभवले सम्झनाका साथ स्मरण गरेको हो ।
यसको अर्थ अन्य शिक्षकहरूलाई अपमान गरेको होईन वरु संगठनको आव्हानमा प्रत्येक कार्यक्रममा सहभागी भई जेल नेल गिरफ्तारी समेत दिने सम्पूर्ण शिक्षक शिक्षिकाहरुको योगदानबाटै आज शिक्षकहरुले प्राप्त गरेका एवं उपभोग गर्दै आएका उपलब्धिहरु हुन् । यस्मा दुईमत छँदै छैन । आज शिक्षक समुदायबाट प्राप्त गरेका उपलब्धि कसैवाट प्राप्त बक्सिस होइनन्, बरु आन्दोलनकारी शिक्षकहरुकै रगत, पसिना, त्याग र वलिदानबाट प्राप्त प्रतिफल हुन् ।
एउटा अर्को प्रसंग पनि जोड्न उपयुक्त होला भन्ने लाग्छ । काठमाडौं जाँऔं अभियान पश्चात पनि संगठनको वैधानिकताको सवाल उठाएर संगठनले आन्दोलनको निरन्तरता दियो । यो २०४२ साल तिरको कुरा हो । कार्यक्रम शिक्षा शाखा घेराउ गर्ने आन्दोलन थियो । हामी आन्दोलनकारी शिक्षकहरु जम्मा भइयो । शिक्षा शाखाको गेटमै प्रहरी तैनाथ थिए । हामीभित्र पस्न खोज्दा ठूलै झडप भयो । अन्धाधुन्ध लाठीचार्जबाट थुप्रै शिक्षकहरु घाइते भए । केही बेर प्रहरी र शिक्षकबीच हानाहान भएकै हो । हामी फर्कियौं । केही दिनपछि हामी नेतृत्व पंक्तिका शिक्षक र केही अन्य सहभागी शिक्षकहरुका नाममा शिक्षा शाखा तोडफोड अभियोगमा सार्वजनिक अपराध मुद्दाको पुर्जी आयो ।
दस दिनभित्र हामीले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बयान दिई ७ सय २५ रुपैयाँ धरौटी राखी मुद्दा लडियो । माधव पौडेलले धरौटी नराखी २÷४ दिन जेल जानुभयो । सिडिओले पटके कहर ग¥यो । हामीले पुनरावेदनमा उजुर गर्यौं । यो मुद्दामा अधिवक्ता तिलक पराजुली र भूपनिधि पन्तले निशुल्क लेख्ने र बहस गर्नुभयो । उहाँहरु सम्झनाका पात्र हुनुहुन्छ । मुद्दा लड्नेहरुमा माधव पौडेल, कोमलनाथ बाल, दामोदर रेग्मी, मोदनाथ रेग्मी, दामोदर शर्मा, दीपक पौडेल लगायत १३ जना थियौं ।
उहाँहरु सबैलाई यथोचित सम्मान गर्नु संगठनका उत्तराधिकारीहरुको कर्तव्य हो भन्ने ठान्छु । अहिले शिक्षकहरु विभिन्न कित्तामा विभाजित छन् । तागत पनि कमजोर छ भन्ने लाग्छ । अहिले यत्तिमात्र ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया