गण्डकी प्रदेश सभाको नयाँ नियमावली

विधेयकहरु सबै संसदीय समितिमा जाने

समाधान संवाददाता २०८० असार २३ गते १२:३४

रिखिराम जिसी

Advertisement

पोखरा
गण्डकी प्रदेश सभाका सबै संसदीय समितिलाई विधेयकमाथिको छलफलमा सक्रिय बनाउन विधायन समिति खारेज भएको छ । प्रदेश सभाको नियमावलीले सबै समितिमा विधेयकको छलफलको व्यवस्था गरेको हो । उक्त नियमावली शुक्रबार प्रदेश सभाबाट पारित भएको छ ।


नियम १५३ मा विषयगत समिति ४ वटा यथावत रहे पनि विधायन समिति हटाएको हो । यसअघिको नियमावलीले विधायनसहित ४ समितिकै व्यवस्था गरे पनि विधेयकको छलफलको दायित्व सो समितिलाई मात्रै दिएको थियो । नयाँ नियमावली बनाउन गत फागुन १० गते प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरिएको थियो । गत असार १८ गतेको बैठकमा समितिका सभापति विन्दुकुमार थापाले प्रदेश सभामा प्रस्तुत गरेका थिए । प्रदेश सभामा लामो छलफलपछि शुक्रबार पारित भएको हो ।
खारेज गरिएको विधायन समितिको ठाउँमा सामाजिक विकास तथा कृषि समिति थपिएको छ । अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहनेछन् ।

Advertisement


प्रदेश मामिला तथा कानुन समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, आन्तरिक मामिला, कानुन तथा न्याय, सुशासन, मानव अधिकार, अन्तरप्रदेश एवं स्थानीय तहसँगको अन्तरसम्बन्ध, आमसञ्चारसम्बन्धी विषय र सम्बद्ध विषय तथा निकायसम्बन्धी काम गर्नेछ । सार्वजनिक लेखा समितिले सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायमाथि निगरानी गर्नेछ । सामाजिक विकास तथा कृषि समितिले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सम्बद्ध विषय तथा निकायमाथि निगरानी गर्नेछन् ।


नियमावली विपरीतको गतिविधि गरेको प्रदेश सभा सदस्यलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था नयाँ बनेको नियमावलीले गरेको छ ।
ध्वंसात्मक गतिविधि गरेमा, बल प्रयोग गर्ने सदस्यलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था छ । सांसदले चित्त बुझ्दो जवाफ दिएमा सभामुखले कारबाही फुकुवा गर्न सक्ने व्यवस्था सोही नियमावलीले गरेको छ । यसअघि त्यस्तो गतिविधि गरेको ३ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था थियो ।

Advertisement


गण्डकी प्रदेश सभामा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने पुरानै व्यवस्थाले निरन्तरता पाएको छ । प्रतिनिधिसभामा भएको व्यवस्थालाई पछ्याउँदै नयाँ नियमावलीको परिच्छेद ९ को नियम ५६ मा सो व्यवस्था छ । उपनियम १ मा सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको एक घन्टा छुट्याउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ । सदस्यले आफ्नो ठाउँबाट उठेर मुख्यमन्त्रीलाई प्रश्न गर्नुपर्नेछ ।


सदस्यले आफ्नो ठाउँबाट उठेर मुख्यमन्त्रीलाई प्रश्न गर्नुपर्ने हुन्छ । सदस्यले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्रीले तत्काल दिनुपर्ने व्यवस्था उपनियम ४ मा छ । एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न पाउने छन् । मुख्यमन्त्रीले दिएको जवाफमा चित्त नबुझेमा फेरि एकपटक पूरक प्रश्न सोध्न पाइने व्यवस्था नियमावलीले गरेको छ । मुख्यमन्त्रीलाई प्रश्न गर्न चाहने सदस्यले ३ दिन पहिल्यै संसद सचिवालयलाई जानकारी गराउनु नियमावलीमा उल्लेख गरिएको छ ।
विधेयकमा जनताको प्रतिक्रिया
नयाँ नियमावलीले विधेयकमा जनताको प्रतिक्रिया लिन सकिने व्यवस्था गरेको छ । नियमावलीको नियम १०९ को उपनियम १ को खण्ड ‘ख’ मा जनताको प्रतिक्रिया लिन विधेयकलाई प्रचार गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।
प्रचार कसरी गर्ने भन्ने अधिकारी नियम ११० को उपनियम २ ले सभामुखलाई दिएको छ । संसदमा जनताको प्रतिक्रिया लिने प्रस्ताव पारित भएपछि प्रक्रियामा जानेछ । राय संकलन भएपछि जनताको प्रतिक्रियासहितको विधेयकमाथि छलफल अघि बढाउन मिल्ने व्यवस्था नियमावलीले गरेको छ ।


सांसदको छातीमा नयाँ लोगो


गण्डकी प्रदेश सभाको लोगो परिवर्तन भएको छ । नियमावली २०८० ले गण्डकीको नयाँ लोगोको रंग परिवर्तन गरिएको छ भने डाँफे, गैँडा, मृग, लालीगुराँस, नदी हटाएर लोगो बनाइएको छ । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रंगको प्रयोग धेरै गरिएको छ । नयाँ लोगोमा पहेँलो रंग प्रयोग भएको छ । गैँडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ ।

तपाईको प्रतिक्रिया