चलचित्र पत्रकार संघ कास्कीले हाइकिङ गर्दै मनायो स्थापना दिवस

समाधान संवाददाता २०८० असार २४ गते ११:३३

पोखरा ।
चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । पोखराको ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन् ।

संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाए । तत्कालीन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उनको थियो । बिट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको उनले बताए । चलचित्र पत्रकारितालाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई उनले औंल्याएका छन् ।

निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजोभन्दा आज बढ्दै गएको बताए । चलचित्रका विषयवस्तुको क्षेत्र समेत फराकिलो हुँदै गएको उनले सुनाए । पोखराको पर्यटनलाई चलचित्र पत्रकारिता माध्यम पनि बढवा दिन सकिने अभिव्यक्ति उनको थियो ।

Advertisement

गिरीले संघले चलचित्र पत्रकारहरुलाई संरक्षण र प्रवद्र्धन गर्न विशेष कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उल्लेख गरे ।

अझै पनि काठमाडौं बाहिरका सहरलाई मोफसल भन्ने गरिएको र यसलाई चिर्ने गरी काम गर्नुपर्ने अभिभारा हाम्रो काँधमा रहेको भनाई उनको छ ।

Advertisement

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले अग्रजले स्थापना गरेको संघको शाख जोगाउने गरी वर्तमान कार्यसमितिले काम गरिरहेको जनाए । उनले विगतमा भएका कामहरुलाई निरन्तरता दिंदै थप रचनात्मक एवं प्रभावकारी कार्यक्रम संघले गर्ने बताए । पोखरामा चलचित्र पत्रकारितालाई अझ क्रियाशील बनाउन संघ प्रतिबद्ध रहेको धारणा उनको छ ।

तपाईको प्रतिक्रिया