विवाहः उहिले र अहिले

विवाह मानव जीवनमा महिल र पुरुषबीच जीवनभरी एकैसाथ जीउने, रहने र आफ्ना उत्तराधिकारी उत्पादन गरेर आफ्ना भविष्यका उत्तराधिकारीलाई तयार पर्ने गरी स्त्री र पुरुषको बीचमा एकापसमा छनोट गर्ने निर्णय हो । जीवनसाथी हुने निर्णय भएपछि गरिने उत्सवलाई विवाह उत्सव भनिन्छ । अर्को शब्दमा स्त्री र पुरुष दुबैका बीचमा सम्बन्ध जुटाउने कार्य नै विवाह हो ।
कौटिल्य अर्थशास्त्रमा बिहेलाई यसरी चित्रण गरिएको छ, ‘संसारका सबै व्यवहारको आरम्भ विवाहपछि हुन्छ । कुनै कन्यालाई सन्तान उत्पतिका लागि विधिवत रुपमा ग्रहण गर्नुलाई विवाह भनिन्छ ।’
कौटिल्यको अर्थशास्त्रमा ८ प्रकारका विवाह हुने भनिएको छ । ती हुन्ः ब्रह्म, प्रजापात्य, आर्ष, देव, गन्धर्व, आसुर, राक्षस र पैचाश्य । पहिला ४ प्रकारका ब्रह्म, प्रजापत्य, आर्ष र देव विवाहलाई उच्च मानिन्छ भने पछिल्ला गन्र्धव, आसुर, राक्षस र पैचासी विवाहलाई नीच मानिन्छ । गन्र्धब विवाहलाई पनि पौराणिक कालमा राम्रो मानिदैनथ्यो वा राम्रो मानिन्न ।
तर आधुनिक युगमा गन्धर्ब विवाहलाई राम्रो मान्न थालिएको छ । जहाँ केटाकेटी आफैं राजी खुसी भएर जीवनभरी सँगै जिउने र रहने अठोट गरिन्छ । आसुर, राक्षसी र पैचासीलाई अधम विवाह मानिन्छ ।
बिहे मानव जीवनको वा सृष्टिको अनिवार्य वा अपरिहार्य कार्य हो भनिरहँदा विवाहमा महिला परुषबीचको सम्बन्ध अनिवार्य हुन्छ । अर्काे शब्दमा भन्दा यो महिला र पुरुषबीचको सम्बन्ध प्राकृतिक नियम नै हो । प्ररम्भिक काल वा जंगली अवस्थामा विहे उत्सवका रुपमा गर्ने प्रचलन खासै थिएन । सन्तान उत्पादन गर्न महिला र पुरुषबीच सम्पर्क हुन्थ्यो । मानिसको सभ्यता विकसित अवस्थासम्म आईपुग्दा बिभिन्न युग र समयमा विवाहका तरिका र पद्धतिमा फरक पर्दै आएको छ ।
विवाहले मानिसको वर्तमानमात्र नभएर भविष्यको बाटोसमेत खोजी गर्ने अवसर उपलब्ध गराउँछ
आरम्भमा महिला पुरुषको सम्बन्ध सन्तान उत्पादन गर्ने हेतुले मात्र हुन्थ्यो । जसमा शिशुले आमाबाहेक बाबु चिन्ने अवस्था थिएन । त्यो बेलमा न विवाह विधि थियो, न अन्य जीवन पद्धति । पछि मानव जातिको विकासका क्रममा सन्तान उत्पादन गर्न मात्र विहेको अरु अर्थ पनि मानिसले पहिल्यायो । सभ्यताको उदयका साथमा विवाह उत्सव पनि फेरिँदै आएको छ ।
विभिन्न समुदायमा विवाह पद्धति भिन्नभिन्नै छ । बालकले बावु पहिचान गर्ने अवस्था हुँदा मानिस कृषि युगमा प्रवेश गरिसकेको थियो । कृषिले व्यवशायको रुप लिएर नयाँ सभ्यता सुरु भइसकेको थियो । सभ्यताको विकाससँगै निजी सम्पति राख्न पाउने या सृजना हुने अवस्थामा मात्र समूहबाट एकल परिवारमा महिला र पुरुष बस्ने चदन सुरु हुन आयो । तबमात्र समाजमा बिहेले नयाँ रुप लिन पुग्यो । कृषि युगभन्दा पहिले मानिसको जीवन घुमन्ते थियो र बसाइ सामूहिक । आहारका लागि शिकार फेला पार्नु मानिसको मुख्य उद्देश्य हुन्थो ।
शिकारको खोजीमा बिभिन्न स्थानमा भौतारिने हुँदा बसोबास स्थायी थिएन । जब मानिस घुमन्ते युगबाट कृषि युगमा प्रवेश गरे, स्थायी बसोबास आरम्भ भयो । कृषि पेशा अपनाएपछि मानिसले कृषि उत्पादन र घर पालुवा जनावर राख्न थाले । महिलाले घरको कामकाज, केटाकेटी र घरपालुवा जनाव।को हेरचाह गर्ने चलन सुरु भयो । केटाकेटीले बाबु चिन्ने अवस्था बन्यो, पुरुषले निजी श्रीमती राख्ने र श्रीमतीले पनि निजी श्रीमानसहितको पहिचान हुन सक्ने अवस्थामा समाज आइपुग्यो । त्यही बेलाबाट श्रीमान र श्रीमतीसँगै रहने भएपछि विवाहको पद्धतिमा विकास भएर यो उत्सवमा परिणत भएको बुझिन्छ ।
पशुपालन युगमा मानिस समूह समूहमा बस्ने र सिकार खेलेर जीवन निर्वाह गर्ने गर्थे । त्यो बेला मानिसका समूहबीच बेला बेलामा मुठभेड भइरहन्थ्यो । आक्रमणमा विजेता समूहले पराजित समूहका सदस्यलाई समातेर पुरुषलाई मारिदिने र महिलालाई श्रीमती बनाउने चलन रहेको इतिहास भेटिन्छ । कृषि युगमा विजेताले पराजित समूहका पुरुषलाई दास बनाउने र कृषि काम गराउनका लागि श्रमिक बनाएर कृषि काममा लगाउन लागे । श्रमिक आवश्यक परेकाले अघिको जसरी मार्ने कुरा छाडे र दास बनाए । अर्को यस्तो अवस्था पनि आउन सक्यो कि २ समूहबीच झगडा नगरी सम्झौता गर्ने । एकापसमा युवा महिला र युवा पुरुष बीचमा सामूहिक विवाह गर्ने । फ्रेडिक एन्जेलले परिवार र निजी सम्पति भन्ने पुस्तकमा यस्तो उल्लेख गरेका छन ।
यो पुस्तकमा फरक समूहबीच एक समूहका युवती अर्को समूहका युवाबीच सामूहिक हुने उल्लेख छ । एउटा समूहले अर्काे समूहलाई महिला वा पुरुष दिएर साटो गरे जस्तो विहे हुन्थ्यो । यो प्रथा अमेरिकी लेखक र्मोगनले न्युर्याेकको आदिवासमा धर्मपुत्रको रुपमा लामो समय बसेर अध्ययनबाट पत्ता लगाएका थिए । त्यो अवस्थामा पनि बालबालिकाले बाबु चिन्ने अवस्था थिएन । सामूहिक बिहेबाट सन्तान त उत्पादन हुन्थे, बाबु र खासमा श्रीमती श्रीमान यिनै हुन् भन्ने स्थिति थिएन ।
समाज विकास हुँदै जाँदा निजी सम्पति र वर्ग विकास भएपछि मात्र निजी श्रीमती प्रथा सुरु भयो । त्यो अवस्थामा बिहे कस्ता महिला वा पुरुषसँग बिहे गर्ने, कति फरक कुटुम्बका बीचमा गर्ने भन्ने यकीन भएको थिएन । हिन्दू समाजमा पनि ऋग्वैदिक कालमा दाजुबहिनी, बाबुछोरीको बीचमा बिहे भएका अनेक उदाहरण पाइन्छन् । सतपथ ब्रह्मणको १।४। ७ मा त्यस युगमा छोरीमाथि आँखा लगाएर सम्भोग गरेकको बिषय छ । केही समयपछि यो चलन वा प्रथालाई निषेधःमात्र नभएर अपराध तहमा पुर्याइयो । (ऋग्वेद १।१७०।२—५) ।
ऋग्वेदको दशौं मण्डलको १०।१०।१—२० ऋचासम्म दाजुबहिनी (यम र यामी) बीच विहे गर्न लामो संवाद गरेका दाजुले नमानेको प्रसंग पनि छ । यी भनाइ केवल सांकेतिक हुन् । प्रारम्भमा बिहे एकै परिबार बीचमा पनि बन्देज भएको देखिँदैन । झन् कुटुम्बमा त त्यस्तो बन्देज देखिने कुरै भएन । यही कालमा ऋग्वेदको मण्डल ७।३३।३ मा भनिएको छ कि एक रात गुफामा मित्र र बरुण ऋषिको बास हुन गयो । साथमा उर्वशी पनि थिइन् । रात्रिमा दुवैबाट उर्वशीलाई ऋतुदान हुँदा गर्भ रह्यो । त्यो गर्भ कस्को हो भन्न नसकिएरपछि जन्मेको बालकको नाम पनि मेत्रबरुण रहन गयो ।
उनको अर्काे नाम अगत्स्य वा अगस्ती पनि हो । ऋषि वशिष्ठ पनि यस्तै आमाबाट जन्मेका हुन् । यो आजभन्दा झण्डै ४ हजार ५ सय वर्षअघि हाम्रो समाजको चित्रण हो । सोही समय आसपासमा प्राचीन मिश्री सभ्यतामा पनि नारीको मान, प्रतिष्ठा थियो ।
आमामा सम्पतिको अधिकार हुन्थ्यो । आमाको सम्पतिको अंश अधिकार छोरालाई नभई छोरीलाई हुन्थो । कुल र रग्त शुद्धता सुरक्षाका लागि त्यो समाजमा आफ्नी बहिनीसँग विवाह गरिने गरिन्थो । जसलाई सिस्टर म्यारिज भन्ने चलन थियो । यो समय पनि लगलग ४ हजार वर्ष अघिको थियो । यस कार्यले नारीको पवित्रता र श्रेष्ठता सिद्ध हुन्थो । सिन्धी सभ्यतामा पनि समाज मातृसत्तात्मक थियो र महिला नै घरका मुली हुन्थे । महिला शंगारसहित अन्य क्षेत्रमा पनि अगाडि आएका थिए ।
मोर्गनले न्युयोर्कमा रहेका अविकसित जातिका मानिसको धर्मपुत्र भएर लामो समय त्यही जनसमुदायमा बिताएका थिए ।
त्यहाँको जातिको विवाह प्रथाको उनले गहन अध्ययन गरेका थिए । त्यही समाजमा केही युवाले एक युवती समूहि रुपमा लाने, सामूहिक रुपमा समभोग गर्ने र अन्त्यमा युवतीलाई लाने केटामध्ये युवतीले रोजेकासँग बिहे गर्ने चलन थियो । त्यो विवाहमा अरु युवाका लागि पनि मान्य हुन्थो ।
अस्ट्रेलियाको नेग्रो जातिले उत्तरतिरका पाहुना आउँदा ती पाहुनाकहाँ श्रीमती स्वागतमा पठाउने चलन थियो । त्यो चलन दक्षिण भरातका ड्रमिमण जतिमा पनि रहेको बुझिन्छ । ऋग्वेदमा पनि यस्ता प्रथा ऋषिहरुले आफूकहाँ अएका पाहुनालाई स्वागतको निमित श्रीमती पठाउने गरेको उल्लेख छ । महाभारतमा पनि सर शैयाबाट भीष्मले युधुष्ठिरलाई उपदेशका बेलामा पाहुनाको स्वागतका लागि पनि श्रीमती पठाउने चलन भएको बताएका शान्ति पर्वमा उल्लेख छ ।
विवाहबारे हालसम्म पनि नेपालका बिभिन्न जातिको कुटुम्बी प्रथा के कसरी कायम हुने गरेको र क कसको बीचमा बिबाह हुन्छ भन्ने बिषयमा सामान्य जानकारी गराउनु उचित हुन्छ । दलित, जनजाति र ठकुरीहरुमा मामाकी छोरीसँग फुपूका छोराको विवाह गर्ने चलन छ । तर जनजातिमा र ठकुरीहरुमा मामा र फुपूका दुबैतर्फ छोराछोरीबीच विहे गर्ने चलन छ । दलित समुदायमा फुपूकी छोरी विहे गर्ने चलन छैन ।
लिम्बु समुदायमा आमाकी बहिनी वा सानिमासँग बिहे गर्ने चलन छ । जंगबहादुुरको पालामा बनेको मुलुकी ऐनबाट विधवा भाउजू, बुहारी देवर, जेठाजुले बिहे गर्ने चलन प्रतिबन्ध गरिए पनि त्यो भन्दा पहिलेदेखि नै परम्परागत रुपमा नै दाजु वा भाइको मृत्यु भएमा विधवा भाउजू वा बुहारी दाजुभाइबाट श्रीमती बनाउने चलन थियो । त्यो मुलुकी ऐन लागू भएपछि क्षेत्री, बाहुनमा मात्र विधवा विहे बन्द भयो । अन्य जातिमा त्यो प्रथा अझै पनि छ ।
मिश्री सभ्यताका बेलमा आफ्ना दाजुभाइसँग बिबाह गर्ने चलन र अहिले पनि मुसलमान समुदायमा एउटै आमाबाट जन्मेका भए पनि आमाको दूध एउटाले खायो, अर्कोले खाएन भने त्यस्ता दाजुबहिनी वा दिदीभाइको बीचमा बिहे भइरहेको छ । यसरी अध्ययन गर्दा मानिसको विकास सँगसँगै यो प्रचलनमा परिवर्तन भएको देखिएको छ । तर पनि विवाह कोसँग, कसरी गर्ने भन्ने बिषय बिभिन्न समुदायमा फरक चलन चलिआएको देखिन्छ ।
हामीले वैदिक र पुराण कालका घटना हेर्दा बहु पति विहे पनि देखिएको छ । अहिलेसम्म पनि हाम्रो देशको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, भोटे लगायतको परिवारमा जति दाजुभाइ भए पनि एउटै माहिलालाई विहे गरेर सबै भाइकी साझा श्रीमती बनाउने चलन अहिले पनि छ । महाभारत कालमा पनि ५ भाइकी एउटी श्रीमती भएको देखिन्छ । त्यस बेलमा नियाग विधिबाट एउटै महिलाले बिभिन्न इच्छाइएका व्यक्तिसँग ऋतुदान लिने चलन पनि थियो ।
अर्को प्रचलन दाजु वा भाइको मृत्युपछि देवर वा जेठाजुसँग विवाह गर्ने प्राचीन कालबाट नै चल्दै आएको देखिन्छ । जब रामबाट बाली मारिए, बालीकी श्रीमती ताराको भाइ सुग्रिभसँग विहे भएको थियो । अर्को उदाहरण रामणलाई पनि रामले मारेपछि रामणकी श्रीमती मन्दोधरीको रामणका भाइ विभीषणसँग विवाह भएको रामायणमा उल्लेख छ । यो चलनलाई राणा प्रधानमन्त्री जंगबहादुरले मुलुकी ऐनमार्फत हटाएका थिए ।
विहेलाई आजको युगमा निकै महत्वका साथ लिइन्छ । यो मानवका लागि जीवनभरकै महत्वको बिषय हो । विवाहले मानिसको वर्तमानमात्र नभएर भविष्यको बाटोसमेत खोजी गर्ने अवसर उपलब्ध गराउँछ । सारमा भन्दा मानिसको जंगली युगदेखि कृषि युगसम्म आईपुग्दा सन्तानले आमामात्र चिन्दथे । खासमा छोराछोरीले बाबु चिन्ने अवस्था थिएन । कृषि युगमा लामो समयसम्म समूहमै रहने अवस्था रयो ।
कृषि युगको विकास भएको केही समयको अन्तरालमा वर्गको उत्पति र निजी सम्पति राख्न पाउने अवस्था आयो । वर्ग र निजी सम्पतिको जन्मले निजी श्रीमती राख्न थालियो । त्यसपछि विहे सन्तान उत्पादनमात्र नभएर परिवारमा श्रीमान श्रीमती हुने र सन्तान उत्पादन गरेर आफू संसारबाट विस्थापित हुँदा आफ्ना उतराधिकारहरु स्थापित गर्ने कार्य सुरु भएर आजसम्म निरन्तर चल्दै आएको छ ।
तपाईको प्रतिक्रिया